विवेकशील नेपाली दलले साझा पार्टीसँग एकीकरण गर्ने विषयमा कार्यकर्ताको इच्छा बुझ्न मतदान गरेको छ।
आज राति १२ बजेसम्म विवेकशीलका कार्यकर्तालाई मतदान गर्न समय दिइएको छ।
विवेकशीलले बुधबारदेखि मतदान खुला गरेको थियो।
स्वदेशमा रहेका नेता/कार्यकर्ताले एसएमएसबाट र विदेशमा रहेकाहरूले इमेलमार्फत् मतदान गरिरहेका छन्।
विवेकशील नेपाली दलका एक केन्द्रीय नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार हिजो र आज मतसंग्रह गरिएको छ।
‘साझासँग एकीकरण गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘दुई तिहाइ मतले पारित गरेमा मात्रै पार्टी एकीकरण हुन्छ, नभए हुँदैन।’
मतदान प्रक्रियामा करिब सात सय जना सहभागी हुँदैछन्।
‘साधारण सदस्य हुनेले मतदान गर्न पाउँदैन। पार्टी सदस्य नवीकरण भइरहेको र पार्टी सदस्यता लिएको महिनादिन कटेकाहरू मतदाता हुन पाउँछन्,’ ती नेताले भने।
मतपरिणाम शनिबार बेलुकीसम्म आइसक्ने विवेकशील पार्टी स्रोतको भनाइ छ।
एकीकरणका सम्बन्धमा भन्ने प्रश्नमा एकीकरणको पक्षमा हुनेले हुन्छ भन्ने र नहुनेले हुँदैन भन्न सक्छन्, त्यसैलाई विवेकशीलले मतसंग्रह भनेको छ।
लामो समयको गृहकार्यपछि विवेकशील र साझा पार्टी कात्तिक पहिलो साता नजिकिएका हुन्।
उनीहरूले अब पार्टी एकता गर्ने र छ महिनाभित्र विशेष अधिवेशन गरेर जाने पनि सहमति गरेका थिए।
पार्टी एकीकरण गर्नेबारे शीर्ष नेता वा केन्द्रीय समिति बैठकबाट पारित हुने गरे पनि तल्लो तहका कार्यकर्ताको चाहना बुझ्ने प्रयास यसअघि नेपालका दलहरूले अभ्यास गरेका थिएनन्।
विवेकशीलले कार्यकर्ताको इच्छा, चाहना बुझ्न मतदानको अभ्यास गरेको हो।
कार्यकर्ताकै चाहनाअनुसार पार्टीले एकीकरणमा जाने वा नजाने भन्ने निर्णय गर्ने भएकोले मतदान गरिएको विवेकशीलका ती नेता बताउँछन्।
विवेकशीलमा मिलन पाण्डे संयोजक छन्।
गत वर्ष असोजमा भएको अधिवेशनले शिव थापालाई पराजित गर्दै संयोजकमा पाण्डे निर्वाचित भएका थिए।
विवेकशीलको कार्यसमिति ९९ सदस्यीय हो।
केही वर्ष पहिले यी दुई दल एकै थिए।
फुटेर दुई दल भएका उनीहरू पुन: एकीकरणको गृहकार्य गर्दैछन्।
एकीकरणका लागि विवेकशीलबाट निर्देश सिलवाल र साझाबाट समीक्षा बाँस्कोटा नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेर गृहकार्य गरेका उनीहरूले छिटै एक हुने बताएका थिए।
उनीहरूले तयार पारेको प्रतिवेदनमाथि दुबै दलका संयोजकलगायतले छलफल गरिसकेका छन्।
विवेकशील र साझाबीच २०७४ साउन ११ गते एकीकरण गरे पनि त्यो लामो समय टिक्न सकेन।
उज्ज्वल थापा नेतृत्व समूह बाहिरिएपछि विवेकशील नेपाली दल गठन भएको थियो।
यसअघि दल विभाजन हुनुले वैकल्पिक राजनीतिकै लागि दु:खद पक्ष भएको समीक्षा गरेका उनीहरूले अब मिलेर अगाडि जाने बताइरहेका छन्।