त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउने केही महिना अघिसम्म पढ्ने, लेख्ने, पढाउने गरेर दिन बिताउँथे। अहिले यी कुनै काम गर्न उनी सक्दैनन्।
आफ्नो शरीरभर लागेको चोट सहँदै दिनभर निवासमै हुन्छन्।
‘टाउको दुख्छ, कसरी पढ्ने? किताब पल्टाउन सकेको छैन,’ त्रिविको गोदाम घरनजिकैको १५ नम्बर क्वाटरमा बस्दै आएका चलाउनेले बिहीबार बिहान सेतोपाटीसँग भने।
आफ्नो अभिष्ट पूरा गर्न राजनीतिको नाम लिने समूह त्रिविमा सक्रिय छ। त्यहीमध्येको एक समूहले चलाउनेमाथि असोज २० गते हमला गरेको थियो।
त्यो आक्रमणका कारण चलाउनेले अहिले वैसाखीको सहारा लिनुपरेको छ। वैसाखी टेक्दै मुश्किलले भित्र-बाहिर गर्न सक्छन्। भाँचिएको दाहिने तिघ्रामा तीन वटा स्टिल राखिएको छ। कोल्टो फर्केर सुत्न सक्दैनन्।
चोटमा खत बस्दै गए पनि उनलाई छ महिना आराम गर्न डाक्टरले सुझाएका छन्। राम्ररी टेक्न उनलाई छ महिना लाग्छ। रातमा निद्रा छैन। झस्किरहन्छन्। चिच्याउँछन्।
‘झ्यालबाट तीन-चार जना आएर कुटेको सपना देख्छु,’ उनी भन्छन्, ‘ऐठन हुन्छ।’
अचेल उनको दैनिकी यस्तै-यस्तै भएको छ।
असोज २० गते अगाडि उनी बिहान सबेरै उठ्थे। मर्निङ वाक जान्थे। शारीरिक अभ्यास गर्थे। क्वाटर आएर पढ्थे। अनि विश्वविद्यालय जान्थे। कक्षा लिन्थे।
साँझ पनि त्रिवि गेटसम्म झर्ने, उकालो लाग्ने र क्वाटर पुगेर पढ्ने बानी थियो।
ती दिनमा फर्किन अब चलाउनेलाई कम्तीमा आधा वर्ष लाग्ने भएको छ। शरीर थिलथिलो छ। प्राध्यापन बन्द छ, लेखपढ पनि छैन।
‘म अहिले पनि वैसाखी टेकिरहेको छु तर मलाई सांघातिक हमला गर्नेहरू छुटिसकेका छन्,’ चलाउनेले दुखेसो गरे, ‘यस्तो परिस्थितिमा कसरी रात-दिन काटिरहेको छु होला? शब्दमा कसरी भनूँ?’
चलाउनेलाई हमला गर्न परिचालित पाँच जनालाई काठमाडौं जिल्ला अदालतले साधारण धरौटीमा छोडेको छ। रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझा जनही २० देखि ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। चलाउनेमाथि हमला गराउने योजनाकार भनिएका नेविसंघ त्रिवि समिति अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावल अहिलेसम्म ‘फरार’ छन्।
‘राजनीतिले विचार र तर्कमार्फत् गुण-दोषलाई पनि तर्कैले चिर्छ। वैचारिक-राजनीतिक दर्शन आक्रमण र हिंसा पक्कै हैन,’ चलाउनेले भने, ‘त्यसकारण आचार्य र रावल भाइ राजनीतिक प्राणी हुन् भन्न मिल्दैन, उनीहरू अपराधी नै हुन्। बलियो राजनीतिक संरक्षणमा छन् भन्ने सुनेको छु।’
प्रहरीले चलाउनेमाथि आक्रमण गर्ने यी सातविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा बुझाएको थियो। वकिलले मुद्दा दायर गरेपछि पाँच जना करिब एक महिना प्रहरी हिरासतमा बसे।
चलाउनेलाई भने लागेको थियो- ज्यान मार्ने कसुरमा मुद्दा चलेका अभियुक्त कम्तीमा दुई-चार महिना थुनिएलान्।
‘म काममा फर्किन पाएको छैन, मेरो शरीरको घाउ ठीक भएको छैन। मलाई मार्न खोज्नेहरू भने छुटेको खबर सुन्दा कसरी चैनले बस्न सक्छु? उनीहरूले फेरि हमला गर्लान् कि भनी डर लाग्छ। मुख्य व्यक्ति समातिएकै छैनन्,’ चलाउनेले दु:ख बिसाए।
उनी अदालतको यो प्रारम्भिक आदेशमा सन्तुष्ट छैनन्। उच्च र सर्वोच्च अदालतले मुद्दा हेर्न बाँकी नै छ। प्रारम्भिक न्यायको चरणमै असन्तुष्टि जनाउनुपर्ने कारणबारे चलाउने भन्छन्, ‘कानुनले ठूला र साना छुट्याउने, राजनीतिको खोल ओढेका अपराधीलाई यसरी छाड्दै जाने हो भने भोलि कुनै पनि प्राज्ञिक क्षेत्र सुरक्षित हुने छैन।’
असोज २० गते चलाउने क्वार्टरबाट साढे ९ बजे निस्केका थिए। त्रिवि क्रिकेट मैदानमुन्तिर नेपाल बैंकको एटिएमबाट पैसा झिकेर फर्किँदै थिए। सडकबाट क्रिकेट मैदान छिचोल्न नपाउँदै उनीमाथि आक्रमण भयो।
‘म उकालो लाग्दै थिएँ, अगाडिबाट बाँसको भाटो उज्याएर एक जना आयो र टाउकोमा हिर्काइहाल्यो,’ चलाउने भन्छन्, ‘पछाडिबाट अरू तीन जनाले घेरे।’
पिपिई र एप्रोन लगाएका उनीहरूले टाउको, हात, छाती, भुँडी, खुट्टामा नराम्ररी हिर्काउन थाले। हिर्काउने क्रममा चलाउनेले हात जोडे- मलाई नपिट्नुस् भाइहरू, मैले केही गल्ती गरेँ भने माफी दिनुस्।
तर, आक्रमणकारीले छाडेनन्। चलाउनेको दाहिने तिघ्रामा बेस्सरी भाटा बर्साए। उनी घिस्रिन मात्र सक्ने भए। पिट्ने क्रम जारी थियो।
‘उनीहरूको मुक्कैले मेरो प्राण जान सक्थ्यो। तर बाँस र भाटाले हान्दा छिट्टै मर्छ भनेर होला,’ चलाउनेले भने।
पिटाइ खाँदाखाँदै चलाउने क्रिकेट मैदानतिर पल्टिन पुगे। कताबाट हो आक्रमण गर्ने समूहको छेउमा एउटी महिला पुगिन् र हारगुहार गर्न थालिन्। महिलाको आवाज सुनेर अरू तीन-चार वटा मोटरसाइकल आएर रोकिए।
आक्रमणकारीहरू आफूहरू आएकै मोटरसाइकलमै भागे।
चलाउनेका अनुसार आफूमाथि आक्रमणको योजना त्रिवि समाजशास्त्र विभागमा ताला खुलेपछि भएको हो। यो ताला खोल्ने नेतृत्व गरेका प्राध्यापकमध्ये चलाउने पनि थिए।
‘मैले नै फोडेको त होइन, १८-२० जना प्राध्यापकबीचमा म पनि पुगेको थिएँ,’ उनले भने।
त्रिवि उपकुलपतिमा जब डा. धर्मकान्त बाँस्कोटा नियुक्त भए, अघिल्ला उपकुलपति तीर्थ खनियाँले गरेका निर्णय फेरबदल भए।
खनियाँले अस्थायी रूपमा अर्थशास्त्र, भाषा विज्ञान, समाजशास्त्र र जनसंख्या विभागमा आफूनिकट प्राध्यापक नियुक्त गरेको र ‘बरियता’ मिचेको आरोप थियो।
यही कारण लामो समय ताला लाग्यो। यसबीच दुई पक्षबीच वार्ता र छलफल नभएको हैन। सहमति हुन नसकेपछि त्रिवि अदालत गयो। अदालतले प्रशासनको रोहवरमा खोल्न आदेश दिएपछि विभागमा ५२ दिनपछि ताला खुल्यो।
यो ताला खोल्ने प्राध्यापकको समूहमा चलाउने थिए। यसैकारण, आफूमाथि आक्रमण भएको उनी बताउँछन्।
‘के विश्वविद्यालय खुलोस्, सञ्चालन होस्, पढाइ होस् भन्ने पक्षको समर्थन गर्दा मार्नुपर्छ भन्ने हो र?,’ चलाउनेको प्रश्न छ।
उनका अनुसार आफू बस्ने क्वाटरमा आक्रमणकारीले निगरानी बढाएका थिए। कति बेला निस्किन्छन्, फर्किन्छन् भन्ने सुइँको पाएपछि आक्रमणको चाँजो बनाए।
‘धन्न म अघिल्लो दिन बेलुका निस्किनँ। नत्र बेलुकै आक्रमण गर्ने योजना रहेछ,’ चलाउनेले भने, ‘साँझ आक्रमण भएको भए मलाई कसैले बचाउन पनि नपाउने रहेछ।’
चलाउनेका अनुसार ती महिला ‘प्रकट’ भएकी थिइन्, जो चिच्याउँदा अन्य मानिस भेला भए र थप आक्रमणबाट जोगाए।
‘ती महिला नआएको भए म मारिने रहेछु,’ उनी भन्छन्।
मरणासन्न भएका चलाउनेलाई मेडिसिटी अस्पताल पुर्याइयो। त्यहाँ दुई साताको उपचारपछि क्वार्टर फर्किए।
दुई छोराछोरी र श्रीमतीसाथ बस्दै आएका उनी यो घटनापछि थलै परेका छन्।
‘म साधारण कुना कन्दराबाट आएको भुइँमान्छे हुँ, मलाई मारेर विश्वविद्यालयमा के खेती गरिन्थ्यो? मलाई आक्रमण गरेर के फाइदा भयो?,’ उनी प्रश्न गर्छन्।
उनको घर अछाम जिल्लाको तुर्माखाना गाउँपालिका-७ हो। त्रिविमा स्नातकोत्तर सकेपछि एक दसकयता यहीँ स्थायी प्राध्यापकको जागिर पाए।
‘मैले बाहिर निजी कलेज पढाएको छैन, जे सक्छु यहीँ गर्छु भन्ने लागेको थियो,’ उनले भने।
यो घटनापछि उनको जीवनमा उतारचढाव आएको छ। पहिलो, आफू कहिले ठीक भएर प्राध्यापनमा फर्किउँला भन्ने छ।
दोस्रो, आक्रमणकारीलाई कारबाही नभए डराइडराइ रहनुपर्छ भन्ने चिन्ता छ।
उनी अहिले दुखाइ र चिन्ताले ग्रसित छन्। गाउँबाट आफन्त र साथीभाइले प्राध्यापन त्यागेर फर्किन सुझाइरहेका छन्।
‘अराजकता र आततायीहरूको बीचमा प्राध्यापन गर्नुभन्दा गाउँमै शिक्षासेवी बन्न सुझाइरहेका छन्,’ चलाउनेले भने, ‘के गर्दा ठीक हुन्छ, सोच्दैछु।’