सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी नफुट्ने दाबी गरेका छन्।
आइतबार नेकपाको प्रदेश कार्यालय धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले कुनै व्यक्तिले फुट्यो भन्दै पार्टी नफुट्ने बताए।
नेकपा कमजोर आधारमा बनेको पार्टी नभएको दाबी गर्दै उनले पार्टी विभाजन हुन सैद्धान्तिक विषय, महत्वपूर्ण राष्ट्रिय विषय नै नभएको बताए।
‘पार्टी विभाजन गर्न चाहनेले सहमति गरेर पत्रमा हस्ताक्षरसहित प्रक्रियामा गएको हुनपर्यो,’ उनले भने।
प्रधानमन्त्रीले पार्टी फुटाउन खोजेको शंका गर्ने आधार नभएको उनको तर्क छ।
‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली स्वयं अध्यक्ष हुनुहुन्छ, उहाँले फुटाउनु हुन्छ कि भन्ने शंका गर्ने हो भने उहाँले त्योभन्दा ठूलो पद के पाउनु हुन्छ, केको लागि फुटाउनु हुन्छ?’ उनले प्रश्न गरे।
अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि पार्टी फुटाउन खोजेको भन्ने शंका पनि निराधार भएको उनको तर्क छ।
‘राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा गणना हुने विशाल पार्टीको अध्यक्ष भएका बेला प्रचण्डले पार्टी फुटाएर के प्राप्त गर्नुहुन्छ? भोलि प्रधानमन्त्री हुन परे, चुनाव जितेर राज्य चलाउनु पर्यो भने देशव्यापी रूपमा समर्थन नपाए त्यहाँ पुगिँदैन,’ उनले भने।
अहिले पार्टीका अरू नेता कोही मुख्यमन्त्री, कोही मन्त्री त सांसद भएका बेला पार्टी फुटाएर कसलाई के प्राप्त हुन्छ भन्दै प्रश्न गरे।
उनले स्थायी कमिटीको निर्णयअनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अरू नेताहरू अगाडि बढेको भए पार्टीमा समस्या उत्पन्न नहुने तर्क गरे।
अहिले आएको पार्टी फुट्ने कुरा गम्भीर प्रकृतिको भएको बताउँदै उनले १८ गते बस्ने स्थायी कमिटीको बैठक र २५ गते बस्ने भनिएको केन्द्रीय कमिटिको बैठकमा आफुले पनि भनाइ राख्ने बताए।
उनले दुबै जना अध्यक्षले अरू नेताहरूका पनि धारणा राखेर तथ्य र सत्यका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए।
नेता रावलले दुई अध्यक्षबीचको विवाद कार्यकर्तासम्मै पुगेको कुरालाई अस्वीकार गरे।
शनिबार चितवनमा नेता सुरेन्द्र पाण्डेले मदन भण्डारी फाउण्डेशनलगायत नेताका नामबाट खोलिएका संस्था बन्द गर्नुपर्ने भनेपछि आवेगमा आएका केहीले नाराबाजी गरेको उनको भनाइ छ।