डिन नियुक्ति विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरूले गरेको विरोध लम्बिएको छ।
उपकुलपतिले आफ्नो अधिकारको दुरूपयोग गरी अनावश्यक रूपमा तेस्रो डिन नियुक्त गरेको भन्दै प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तालाबन्दी गरेको छ।
असोज २८ गतेदेखि कर्मचारी कल्याणकारी समाजले गरेको तालाबन्दीका कारण शैक्षिक र प्रशासनिक काम ठप्प भएको छ।
प्रतिष्ठानअन्तर्गत जनस्वास्थ्य संकायतर्फ मनिराज क्षेत्रीलाई नियुक्त गरिएपछि कल्याणकारी समाजले विरोध गरेको हो।
असोज २६ गते क्षेत्रीलाई डिनमा नियुक्त गरिएको थियो। उनी प्रतिष्ठानका तेस्रो डिन हुन्।
यसअघि नर्सिङतर्फ सरस्वती गौतम र मेडिसिनतर्फ रेशम राना डिन छन्।
तेस्रो डिन थप गरेपछि प्रतिष्ठानलाई आर्थिक भार पर्ने भन्दै उनको खारेजीको माग समाजले गरेको हो।
‘प्रतिष्ठान बल्लतल्ल उचाइमा पुग्दैछ, आन्तरिक आम्दानी खासै छैन,’ कर्मचारी कल्यानकारी समाजका अध्यक्ष रामाकान्त उपाध्यायले भने, ‘यसअघि नै दुई जना डिन हुनुहुन्छ, अनावश्यक रूपमा थप डिन नियुक्त गरिएको हो। यसले गर्दा प्रतिष्ठानलाई आर्थिक भार पर्छ।’
असोज २६ गते क्षेत्रीलाई पब्लिक हेल्थतर्फको डिन नियुक्त गरिएपछि २७ गते कर्मचारी कल्याणकारी समाजले खारेजीको माग राख्दै २४ घण्टे अल्टिमेटम दिएको थियो।
उक्त माग पूरा नभएपछि आफूहरूले प्रतिष्ठानका प्रशासन र शैक्षिक निकायमा तालाबन्दी गरेको उपाध्यायले बताए।
तालाबन्दीपछि प्रशासनिक कामकाज ठप्प भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षा अध्यक्ष डा. निरेश थापाले जानकारी दिए।
‘शैक्षिक कार्यक्रम त कोभिड–१९ का कारण पनि बन्द नै थियो, तालाबन्दीपछि थप असर परेको छ,’ थापाले भने, ‘कर्मचारीहरूले गरेको विरोधका कारण प्रशासनिक काम भने अहिले ठप्प छ।’
अनलाइनमार्फत् कक्षा भने सञ्चालन गरिरहेको उनले जानकारी दिए।
प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले नवनियुक्त डिन क्षेत्रीसँगै अनावश्यक अन्य नियुक्ति पनि खारेज गर्नुपर्ने माग गरेको छ।
यस्तै, कोरोनाको समयमा विभिन्न क्षेत्रमा खटिइने स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीको जोखिम भत्ता तत्काल उपलब्ध गराउनुपर्ने पनि माग छ।
शिक्षा अध्यक्ष डा. थापाले प्रशासनिक र प्राविधिक केही कारणले कोरोनाको समयमा खटिइने स्वास्थ्यकर्मी तथा कर्मचारीको जोखिम भत्ता उपलब्ध गराउन नसकिएको बताए।
कल्याणकारी समाजले केही पुराना मागहरू समेत पूरा नगरेको भन्दै विरोध गरिरहेको समाजका अध्यक्ष उपाध्यायले जानकारी दिए।
ललितपुरको महालक्ष्मीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय हटाउनुपर्ने, प्रतिष्ठानको नाममा भएका सवारी साधन र सवारी चालकहरू प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बोलाउनुपर्ने जस्ता पुराना मागहरू छन्।