नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केहीदिन यता गृहजिल्ला तनहुँमा छन्।
पौडेलले मंगलबारमात्र तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरे। उक्त उद्घाटनप्रति नेकपा तनहुँले विरोध जनायो।
विरोधका बाबजुद् पौडेलले जबरजस्ती उक्त पुल उद्घाटन गरेको नेकपाका स्थानीय नेताहरूले आरोप लगाए।
पौडेलले बुधबार अर्को बुल्दीखोला पुल उद्घाटन गर्ने तयारी गरेका छन्।
ब्यास नगरपालिकाका मेयर समेत रहेका तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेका अनुसार पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि सबै निकायलाई पत्राचार गरिसकेको थियो।
तर नेकपा तनहुँले उक्त पुल उद्घाटन गर्न नदिने भन्दै दमौलीमा प्रदर्शन गरेको छ।
पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निस्किएको छ। कांग्रेसले जबरजस्ती गरेको भन्दै विरोध जुलुस निकालेको नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले बताए।
प्रदेश सरकार मातहत बनेको उक्त पुल निर्माण गर्न रामचन्द्र पौडेलले विशेष योगदान रहेको तनहुँ कांग्रेस सभापति न्यौपाने बताउँछन्।
‘पुलको उद्घाटन गरौं भनेको विरोध जुलुस निकाल्नुभयो’, न्यौपानेले भने, ‘नगरवासीले उद्घाटनको तर्जुमा गरिराख्नुभएको छ, हामी उद्घाटन गर्छौं।’
उनका अनुसार पुलमा प्रहरी तैनाथ गरिएको छ।
उक्त पुल वरिष्ठ नेता पौडेलकै पहलमा बनेको उनले दाबी गरे।
‘यो पुल त्यतिबेला जिल्ला विकास समितिमार्फत् संघीय सरकारले बजेट राखेको हो’, उनले भने, ‘त्यतिबेलाकै सरकारले वरिष्ठ नेताको विशेष पहलमा पुल बनेको हो।’
न्यौपानेले नेकपाले गुण्डागर्दी गरेको समेत आरोप लगाए।
नेकपा र प्रशासन एकातर्फ लागेको आरोप लगाउँदै उनले गृहसचिवले समेत हस्तक्षेप गरेको दाबी गरे।
झडपको स्थिति बनेपछि पुल भएको क्षेत्रमा निषेधाज्ञा जारी गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर अचार्यले बताए।
‘प्रदेश मातहतको पुल रहेछ’, सिडिओ आचार्यले भने, ‘प्रदेशको पूर्वाधार कार्यालयलाई नै जानकारी नगराई उद्घाटन गर्न लागेपछि कार्यालयले रोकिदिनुपर्यो भनेपछि हामीले उपभोक्ता समितिलाई उद्घाटन रोक्न पत्राचार गरेका छौं।’
पुल उद्घाटनका विषयलाई लिएर दमौलीमा कांग्रेस र नेकपाबीच झडप हुने अवस्था आएको सिडिओ आचार्यले बताए।
उनले बुल्दी पुल भएको क्षेत्रलाई अहिले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए।
यता, कांग्रेसले पनि पुल उद्घाटन गरेरै छाड्ने बताएको छ।
‘हामी १, २ बजेतिर उद्घाटन गर्न जान्छौं’, तनहुँ कांग्रेसका सभापति न्यौपानेले भने।