कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार पक्राउ गरिएको घटनाले सत्ता–प्रतिपक्षको राजनीति तताएको छ। कांग्रेसका नेता-कार्यकर्ता उक्त घटनालाई लिएर सरकारको विरोधमा ओर्लिएका छन्।
व्यास नगरपालिकाको वडा नं. १, ११ र १० जोड्ने बुल्दी खोला पुल उद्घाटनमा जाँदै गर्दा नेता पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेको थियो। पुल उद्घाटनलाई लिएर विवाद बढेपछि दमौली दिनभर तनावपूर्ण बनेको थियो।
विवादको सुरूआत भने मंगलबार नै भएको थियो। वरिष्ठ नेता पौडेलले मंगलबार व्यास नगरपालिकाकै सुँढे पुल उद्घाटन गरेका थिए। नगरपालिकाको आयोजनामा उक्त पुल उद्घाटन भएको भन्दै नेकपाका स्थानीय नेता-कार्यकर्ताले विरोध जनाएका थिए।
पुल उद्घाटनलाई लिएर विवाद बढेपछि मंगलबार जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिकालाई पत्राचार गर्दै उद्घाटन कार्यक्रम रोक्न भनेको थियो। संघीय भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनअनुसार मंगलबारको सुँडे पुल उद्घाटन रोक्न भने पनि व्यास नगरपालिकाले उद्घाटन गराइछाड्यो, पौडेलले उद्घाटन गरे।
मंगलबार त्यही सुँडे पुल उद्घाटनपछि दमौलीका नेकपा नेता-कार्यकर्तालाई परेको चिसो बुधबार आएर उजागर भएको हो।
बुधबार बुल्दीखोला पुल उद्घाटन कार्यक्रम पुल निर्माण उपभोक्ता समितिको आयोजनामा तय भएको थियो। विवाद बढेपछि तनहुँ प्रशासनले बुधबार दिउँसो उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीलाई पत्राचार गर्दै उद्घाटन रोक्न आग्रह गरेको तनहुँका सिडिओ सागर आचार्यले बताए।
उनका अनुसार, गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत दमौलीस्थित पूर्वाधार विकास कार्यालयको आग्रहमा बुधबारको उद्घाटनका कार्यक्रम रोक्न पत्राचार गरिएको हो।
उपभोक्ता समितिले भने उद्घाटन कार्यक्रम अघि बढाएपछि नेकपा निकट युवा संघले दमौलीमा मोटरसाइकल र्यालीसहित नाराबाजी गरेका थिए। स्थिति गम्भीर बनेको भन्दै प्रशासनले बुधबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बुल्दी पुल वरिपरि निषेधाज्ञा जारी गर्यो।
निषेधाज्ञाका बाबजुद उपभोक्ता समिति पुल उद्घाटनको तयारीमै थियो। दिउँसो २ बजेपछि वरिष्ठ नेता पौडेलसहितको टोली पुल उद्घाटनमा गए। निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेलसहित कांग्रेसका नेता-कार्यकर्ता पक्राउ परे।
त्यस क्रममा प्रहरीले लाठीचार्ज गरेको र कांग्रेस तनहुँका दर्जनभन्दा बढी नेता-कार्यकर्ता घाइते भएको कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले बताए।
वरिष्ठ नेता पौडेललाई निषेधाज्ञा सकिने बेला मात्र तनहुँ प्रहरीले रिहा गरेको थियो।
उपभोक्ता समितिका अध्यक्ष अधिकारीले पुल उद्घाटन रोक्न दमौलीस्थित पूर्वाधार विकास कार्यालयले धम्की दिएको बताएका छन्। ‘पुल उद्घाटन गरेर मलाई मुद्दा लाग्छ भनेर धम्की आयो,’ अधिकारीले सेतोपाटीसँग भने, ‘उपभोक्ता समितिबाट सर्वसम्मत निर्णय भएर उद्घाटन गर्ने बेला धम्की आए पनि रोक्ने कुरा भएन।’
तनहुँ प्रशासनले उद्घाटन कार्यक्रम रोक्न पठाएका पत्र पनि आफूले ढिला गरी पाएको अधिकारीले बताए। ‘दिउँसो १२ बजे घरमा चिठी ल्याएर मिल्काएछ,’ अधिकारीले भने, ‘म उद्घाटनको तयारीमा थिएँ, घरमा थिइनँ।’
बुधबार भएको घटनाबारे जानकारी गराउँदा अधिकारीले पुल निर्माणको सन्दर्भ पनि जोडे। बुल्दी खोला तरेर तालघरे, दुम्सीचौर जाने बाटो बनाउन थालेको झन्डै ५२ वर्ष भयो। पुल नहुँदा खोला बढ्नेबित्तिकै गाडी जान नसक्ने थियो। पक्की पुल बन्नुभन्दा अघि त्यहाँ हिमपाइप राखेर कजवे बनाएको अध्यक्ष अधिकारी बताउँछन्।
कजवे पनि बर्खामा पानी बढ्नासाथ भत्किन्थ्यो, खोलाले बगाउँथ्यो। त्यसअघि भने त्यहाँ फड्के राखेर खोला तरेको उनले बताए। बाटो भने पृथ्वी राजमार्गसँगसँगै बनाउन थालिएको थियो।
पोखराबाट काठमाडौंसम्मको दुई सय किलोमिटर लामो पृथ्वी राजमार्ग बनेर पनि पटक-पटक भत्किसक्यो, पटक-पटक मर्मत भइसक्यो। बुल्दी खोला तरेर तालघरे, दुम्सीचोर जाने बाटो भने साढे ३ किलोमिटर मात्र पक्की भएको अधिकारीले बताए।
बाटो भएपनि पुल नहुँदा स्थानीयलाई आवतजावतमा कठिनाइ थियो। पुल बनाउन स्थानीय उपभोक्ता भेला भए। भेलाले पुल माग्ने निर्णय गरेर एक प्रति वरिष्ठ नेता पौडेललाई पठाए। त्यति बेला कांग्रेसको सरकार थियो। देश संघीयता ढाँचामा गएकै थिएन। स्थानीय उपभोक्ताले माग गरेबमोजिम तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयले जिल्ला विकास समितिमार्फत् उक्त पुल बनाउन बजेट पठायो। जिल्ला विकास मातहतको प्राविधिक कार्यालयले पुल बनायो।
उपभोक्ता समितिका अध्यक्ष अधिकारीका अनुसार २०७३ वैशाखमा पुल बनाउन सम्झौता भएको थियो। सम्झौता भएको वर्षदिनपछि नै पुल बनिसकेको थियो। तत्कालीन प्राविधिक कार्यालयले ठेक्का लगाएर २ करोड ५४ लाख रुपैयाँमा सम्झौता भई २०७४ कात्तिक ९ गते सम्पन्न भएर ठेकेदारले पुल हस्तान्तरण गरेका थिए।
पुल त्यति बेलै बने पनि अहिले प्रदेश सरकार मातहत पुल हस्तान्तरण भएको जिल्ला प्राविधिक कार्यालय दमौलीले जनाएको छ। संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको र हालै बनेको पुल भनेर झूटो बोलेको अध्यक्ष अधिकारीले बताए।
‘हाम्रो समन्वयमा सारा चिज भएको छ, अहिले प्रदेशको पुल हो भनेर झूटो बोले,’ अधिकारीले भने, ‘ठेकेदारलाई काम लगाएर समयमै सकाउने हामी अनि प्रदेशको हो भन्ने?’ प्रदेश सरकार बन्नुअघि नै उक्त पुल बनिसकेको अधिकारीले बताए।
पुल उद्घाटन वरिष्ठ नेता पौडेलको हातबाट गर्न ५, ६ दिनअघि नै उपभोक्ता समितिको बैठकले निर्णय गरेको अधिकारी बताउँछन्। ‘हाम्रो समितिमा पूर्व एमाले, माओवादी सबै छन्, सबै बसेर सर्वसम्मत निर्णय गरेको हो,’ उनले भने, ‘सर्वसम्मत निर्णय गर्दा पनि यत्रो अवरोध गरे।’
कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले यसअघि नै तय भएको कार्यक्रम अन्तिम अवस्थामा आएर रोक्ने काम भएको बताए। ‘दमौली बाहिरबाट गुण्डा ल्याएर देखाए, पूरै गुण्डागर्दी गरे,’ उनले सेतोपाटीसँग भने, ‘प्रशासन र नेकपाले गुण्डागर्दी देखायो।’
बुधबार भएको घटनालाई लिएर कांग्रेस तनहुँले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ। व्यास नगरपालिकाका मेयरसमेत रहेका सभापति न्यौपानेले बिहीबार दमौलीस्थित पार्टी कार्यालयमा भेला गर्ने र आगामी कार्यक्रमबारे निर्णय गर्ने जानकारी दिए।
मंगलबार सुँडे पुल उद्घाटनको विरोध र बुधबारको अवरोध तनहुँबाट निर्वाचित नेकपा सांसद कृष्णकुमार श्रेष्ठका कारण भएको न्यौपानेले दाबी गरे।
श्रेष्ठ तनहुँ-१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनले नै वरिष्ठ नेता पौडेललाई गत निर्वाचनमा पराजित गरेका थिए। सांसद श्रेष्ठले भने आफूलाई अवमूल्यन गरेका कारण बुधबारको घटना भएको बताएका छन्।
‘उहाँजत्तिको मान्छेले निषेधाज्ञा तोड्न हुँदैन भनेर सोच्नुपर्थ्यो,’ श्रेष्ठले भने, ‘विधि र प्रक्रिया त मान्नुपर्छ होला नि, मनपरी पुल उद्घाटन गर्दै हिँडेको परिणाम हो यो।’
उनले पौडेल प्रमुख अतिथि भएर पुल उद्घाटन गरे पनि आफ्नो कुनै विरोध नरहेको भन्दै आफूलाई पनि समेट्नुपर्ने बताए।
दमौलीमा बुधबार देखिएको सत्ता–प्रतिपक्षको रस्साकस्सी बिहीबार पनि दोहोरिनसक्ने छनक देखिएको छ। कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले बिहीबार पार्टी कार्यालय दमौलीमा भेला भएर आन्दोलन कार्यक्रम अघि बढाउने बताएका छन्।
उनका अनुसार सम्भव भएसम्म तनहुँबाट निर्वाचित सबै कांग्रेस केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार जुलुस निकाल्ने तयारी छ।
‘वरिष्ठ नेता पौडेलकै नेतृत्वमा बिहीबार जुलुससहित पुल उद्घाटन गरिन्छ,’ कांग्रेस तनहुँका एक नेताले भने।
यो पनि हेर्नुहोस्: