प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ।
जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको कांग्रेसको भनाइ थियो।
उपसभापति विमलेन्द्र निधिले यो सरकारले शासन गर्ने अधिकारसमेत गुमाएको बताएका छन्।
‘यो सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन,’ बैठकमा निधिले भने, ‘संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ।’
जनहितका काम नगर्ने सरकारलाई शासन गर्ने राजनीतिक तथा नैतिक अधिकार नहुने पनि कांग्रेसको भनाइ छ।
‘हाम्रो आधिकारिक निष्कर्ष हो- यो सरकारसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन,’ उनले भने।
कांग्रेसले बैठकमा संघीयता, संविधान कार्यान्वयन र गणतन्त्रका पक्षमा सधैं उभिइरहने प्रष्टाएको थियो।
‘अहिले जे-जति कुरा आएका छन्। यो तपाईंहरूकै कारणले भएको हो,’ सडकमा राजावादीका प्रदर्शनतर्फ संकेत गर्दै निधिले भने, ‘कांग्रेस संघीयता र गणतन्त्रको पक्षमा सधैं रहिरहन्छ।’
सरकार अधिनायकवाद प्रवृत्तिबाट सञ्चालित भइरहेको र भ्रष्टाचार पनि बढेको कांग्रेसको भनाइ थियो।
‘सरकारका प्रवृत्ति र भ्रष्टाचारविरूद्ध हाम्रो पार्टीले मंसिर २९ गते देशैभर प्रदर्शन गर्दैछ,’ उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रणमा पनि सरकार असफल रह्यो।’
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए।
बैठकको सुरूमै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी शक्ति सलबलाएको बताएका थिए।
बैठकमा निधिले संघीयता कमजोर पार्ने काम सरकारबाटै भइरहेको पनि बताएका छन्।
‘सरकार हरेक क्षेत्रमा असफल छ। प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न दिइएको छैन। केन्द्रीकृत गर्ने काम सरकारले गरिराखेको छ,’ उनले भने।
समसामयिक राजनीति कस्तो छ भन्ने नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डका पत्र हेरेर जनताले थाहा पाइसकेको निधिले बताए।
‘देश, जनता, संविधान र संघीयताप्रति उहाँहरू कति इमान्दार हुनुहुन्छ भन्ने दुई अध्यक्षको पत्रले जनता र दुनियाले थाहा पाइसक्यो,’ उनले भने।
तीन घण्टा चलेको बैठकमा कांग्रेस सभापति देउवा भने धेरैबेर बसेनन्। उनले वरिष्ठ नेतालगायत पार्टीका नेताले कुरा राख्ने भन्दै बाहिरिएका थिए।