गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार अरू दिनभन्दा हरारो निकै बढी थियो। बिहान पोखरा-१६ बाटुलेचौरस्थित ‘श्रवण कुमार गृह जेष्ठ नागरिक सेवा केन्द्र’को शिलान्यास गर्न पुगेका गुरुङ दिउँसो भूमि व्यवस्था आयोगको कार्यक्रममा निर्धारित समयभन्दा दुई घण्टा ढिलो पुगे।
आयोगको कार्यक्रममा प्रमुख अतिथि रहेका गुरुङ पुग्दा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्याल बोल्दै थिइन्। बोल्दा बोल्दै उनले नै गुरुङलाई आसन ग्रहण गराइन्।
मन्त्री अर्याललगत्तै मुख्यमन्त्री गुरुङ बोले। यसअघि नै प्रतिनिधिसभा सदस्य खगराज अधिकारी बोलिसकेका थिए। गुरुङको मन्तव्य टुंगिनेवित्तिकै अधिकारी बाहिरिए। मञ्चासिन पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायतले भने बोल्नै पाएनन्।
भूमि व्यवस्था मन्त्री अर्याल, मुख्यमन्त्री गुरुङलगायत नेकपाका नेताहरू उद्घाटन कार्यक्रम सकिनेवित्तिकै निस्किए। आयोगले स्थानीय तहका जनप्रतिनिधिसँग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नसकिँदै निस्किएका उनीहरूमा एउटा हतारो देखिन्थ्यो।
हतारोको मूल कारण अरु केही नभएर पोखराकै एक पार्टी प्यालेसमा आयोजित ओली गुटको भेला थियो, जहाँ एक सयभन्दा बढी कार्यकर्ता उनीहरूलाई कुरिरहेका थिए।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षता र सक्रियतामा भएको भेलामा मुख्यमन्त्री गुरुङ र प्रतिनिधिसभा सदस्य अधिकारीले मन्तव्य राखेका थिए। उनीहरूले पार्टी एकता जोगाउन ओलीपक्षले मात्र संघर्ष गरिरहेको जिकिर गरेको एक सहभागीले सेतोपाटीलाई जानकारी दिए।
भेलामा बोल्दै मुख्यमन्त्री गुरुङले भावनात्मक रुपमा पार्टी फुटिसकेको दाबी गरे। ‘पार्टी एकता जोगाउन हामी संघर्षरत छौं, भावानात्मक रुपमा फुटिसकेको पार्टी हामीले प्राविधिक रुपमा जोगाएका छौं,’ गुरुङले भने, ‘पार्टी एकता हामीले मात्र जोगाएका छौं।’
भेलाको अध्यक्षता गरेका नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सुरूमै सो भेलाको औचित्य पुष्टि गर्न पार्टी एकता जोगाउन ‘वार्मअप’ गरेको प्रष्टिकरण दिएका थिए। त्यसपछि बोलेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले भने फोटो खिच्न र भाषण रेकर्ड नगर्न सहभागीलाई आग्रह गर्दै मोबाइल स्वीच अफ गर्न निर्देशन दिएका थिए।
भेलामा सम्बोधन गरेका नेकपा गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रचण्ड पक्षले झैं आफूहरूले गुटभेला गरेर अल्पमतमा पार्ने कोसिस आफूहरूले नगरेको बताए। उनले प्रचण्डको तरिका भन्दै पूर्वमाओवादीले विद्रोहकालमा बाबुराम भट्टराईमाथि गरेको कारबाही स्मरण गरे।
‘माओवादीले द्वन्द्वकालमा पटक-पटक बाबुरामलाई कारबाही गर्यो, आफ्नै सहकर्मीलाई निमर्म कारबाही गरेको उनीहरूको तरिका हो,’ मुख्यमन्त्री गुरुङले भने। माओवादीको जस्तो संस्कार पूर्वएमालेको नरहेको उनले बताए।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रस्तावलाई ‘अभियोग पत्र’ भनेका गुरुङले एमालेको संस्कार त्यस्तो नरहेको बताए। ‘हाम्रो (एमालेको) संस्कार त्यस्तो थिएन, हाम्रो त समस्या पार्टीको एजेण्डामा राखेर छलफल गर्ने संस्कार थियो,’ गुरुङले भेलामा भने, ‘अभियोग पत्र पेश गर्ने थिएन।’
प्रचण्डले व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रिएर जथाभावी लेख्ने र मानमर्दन गर्ने काम गरेको मुख्यमन्त्री गुरुङले आरोप लगाए। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग्ने हैसियत प्रचण्ड र माधव नेपालहरूलाई नरहेको उनले जिकिर गरे।
‘माधव नेपालले कुन हैसियतले राजीनामा माग्ने?,’ गुरुङले भने, ‘चार महिनापछि महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कुरा हुँदा महाधिवेशनसम्म पुग्दिन भन्ने कुरा जायज हुँदैन।’
नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले प्रचण्ड पक्षको भेला गर्दै हिँडेको सूचना आफूसँग रहेको उनले दाबी गरे। ‘म त प्रदेशको मुख्यमन्त्री र प्रदेश सरकारको मियो हुँ, मेरो अध्यक्ष (हितराज पाण्डे)ले कहाँ के कार्यक्रम गरेछ मलाई सूचना आउँदैन र?,’ गुरुङले भने, ‘म त्यतिकै सूचनाविहीन भएर बसेंछु होला? गुटभेला जानकारी छैन होला?’
मुख्यमन्त्री गुरुङले पार्टी एकता गर्न सबैभन्दा धेरै त्याग पूर्वएमालेले गरेको दाबी गरे। ‘पोखराका ३३ वटा वडामा एउटा पनि माओवादीले जितेको छैन,’ उनले भने, ‘भागबण्डाको हिसाबले हेर्ने हो भने ४० प्रतिशत दिएर एमालेले धेरै त्याग गरेको छ।’
नेकपा केन्द्रीय सदस्य खगराज अधिकारीले प्रदेश कमिटीको बैठक बोलाउन खोज्दा अध्यक्ष पाण्डेले आलटाल गरेको आरोप लगाए। ‘प्रदेश कमिटीमा धेरै समस्या हुन सक्छ, बैठक बसिरहनुपर्छ,’ अधिकारीले भने, ‘बैठक बोलाउन आलटाल गर्ने फोन पनि नउठाउने अनि गुटको भेला गर्दे हिँड्ने?’
नेकपा केन्द्रीय सदस्यसमेत रहेका प्रदेश अध्यक्ष पाण्डेले गत बिहीबार पोखरामा प्रचण्ड पक्षको गुटको भेला गर्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको पक्षमा लाग्न निर्देशन दिएका थिए। पाण्डेले गण्डकी प्रदेशमा रहेका ११ वटै जिल्लामा गुटको भेला गरेको ओलीपक्षको आरोप छ।
यसअघि बिहीबार ओली पक्षकै विद्यार्थी नेता ऐन महरले पोखरामा ओलीपक्षका विद्यार्थी भेला गरेका थिए। गत मंसिर ७ गते माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले पोखरामा नेपाल पक्षको भेलालाई सम्बोधन गरेका थिए। गत बुधबार भने प्रचण्ड–नेपाल पक्षको संयुक्त जिल्ला भेला पोखरामा भएको एक नेताले जानकारी दिए।
पोखरामा शनिबार भएको भेलामा करिब सय ३५ जना सहभागी भएको एक सहभागीले जानकारी दिए। नेकपाको गण्डकी प्रदेशका अधिकांश कमिटी र गण्डकी प्रदेश सभामा ओली पक्षको बाहुल्य छ। भेलाको पुष्टि गर्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘पार्टी एकता जोगाउने पक्षधर र मन मिल्ने पक्षधर भेला भएका हौं।’
पार्टी एकताका लागि वातावरण बनाउन अरूलाई पनि संलग्न गराउने भन्दै उनले शनिबारको भेलालाई गुट भेला भन्न भने अस्विकार गरे। ‘पार्टी एकताको पक्षमा काउन्सिलिङ गरेका हौं,’ उनले भने, ‘क्रमश: सबैलाई एकताको पक्षमा संलग्न गराउँछौं।’
भेलालाई सम्बोधन गरेपछि मुख्यमन्त्री गुरुङ र प्रतिनिधिसभा सदस्य अधिकारी काठमाडौं प्रस्थान गरेका छन्।
आइतबार नेकपाको स्थायी कमिटी बैठक छ।