नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले केपी ओली नेतृत्वको सरकार इतिहासकै अपराधी सरकार भएको आरोप लगाएका छन्। कांग्रेसले सरकार विरूद्ध सोमबार पोखरामा आयोजना गरेको प्रदर्शनमा बोल्दै केसीले उक्त आरोप लगाएका हुन्।
‘जनता मृत्युको संघारमा रहेको बेला सरकारले मेडिकल सामाग्री किन्दा भ्रष्टाचार गर्यो’, केसीले भने, ‘यो भन्दा अपराधी सरकार इतिहासमा छैन।’ उनले कोरोना भाइरसको खोप किन्न ५० अर्ब लाग्ने भन्दै त्यतिबेला पनि भ्रष्टाचार गर्ने ठोकुवा गरे।
प्रधानमन्त्री निर्वाचित भएपछि ओलीले पहिलो भाषणमा कम्युनिष्ट, क्रान्तिकारी नेकपाको सरकारले विचित्रको काम गरेर देखाउँछ भनेको केसीले बताए। ‘त्यो विचित्रको भनेको के हो म बताउन चाहँदिन’, उनले भने, ‘उखु किसानले दुःख गरेको पारिश्रमिक पाउन संघर्ष गर्नुपर्ने अवस्था आएको छ, यहीँ हो, एउटा विचित्र।’
सरकारले गरेको भ्रष्टाचारको काण्डमा कांग्रेस नेतालाई मुछ्न काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाए। वाइडबडी, न्यारोबडी, ३५ किलो सुन प्रकरण, ओम्नी प्रकरण, सुरक्षा मुद्रण खरिदबारे ७० करोड प्रकरण जस्ता भ्रष्टाचार नै भ्रष्टाचारको प्रकरण सरकारले गरेको उनले बताए।
‘यो सबै घोटालाको न्यायिक छानविन गर्ने तागत छ ओलीको ?’ उनले भने, ‘हाम्रा नेतालाई पनि मुछ्ने काम भइरहेको छ, तागत छ भने प्रमाणित गरेर देखाओस्।’
लोकतन्त्रका लागि फेरि कांग्रेस जुर्मुराउने बेला आएको उनले बताए। ‘लोकतन्त्रका लागि हामीले ३ पटक संघर्ष गर्यौं, अब फेरि कम्युनिष्ट अधिनायकवाद विरूद्ध संघर्ष गर्नुपर्ने बेला आएको छ’, उनले भने।
सरकारले लोकतन्त्रको जामा र खोल ओढेर एकदलीय शासनतर्फ गएको उनले आरोप लगाए। लोकतन्त्रको मुलभुत मान्यताका विरुद्ध समेत सरकार उत्रिन थालेको उनको भनाई छ। सोमबार देशव्यापी भएको प्रदर्शनलाई उनले ‘वार्मअप’ भने।
‘खेलकुदका साथीहरुले यसलाई वार्मअम भनेर बुझे हुन्छ, फिल्मका साथीहरुले कास्टिङ मात्र भनेर बुझे हुन्छ’ उनले भने, ‘अब गाउँ गाउँ, बस्ती बस्तीबाट उठाएर कम्युनिष्ट अधिनायकवादविरुद्ध उठ्नुपर्छ।’
सरकारले प्रजातन्त्रको कुरा गरेर लोकतन्त्र विरोधी काम गरेको भन्दै उनले सरकारलाई अमिलोको संज्ञा दिए। ‘अमिलोको बोट रोपेर सुन्तला खान पाइदैन’, उनले भने, ‘कम्युनिष्टलाई जिताएर लोकतन्त्रको रक्षा हुँदैन।’
तनहुँमा रामचन्द्र पौडेललाई पुल उद्घाटनमा नेकपाका कार्यकर्ताले गरेको अवरोधलाई उनले आक्रमण भने। ‘रोल्पामा हाम्रा तरुण नेतालाई मारे, सर्लाहीमा अर्का नेतालाई मारे, अहिले हाम्रो नेता रामचन्द्र पौडेल माथीको आक्रमण गरे’, उनले भने, ‘हाम्रा नेता कार्यकर्तालाई गाउँमा जान नदिएको हो, सबैले यो कुरा बुझ्नुपर्छ।’
कार्यक्रमलाई संवोधन गर्दै पूर्व सभामुख एवं काँग्रेस नेता तारनाथ रानाभाटले लोकतन्त्रका लागि ४ पुस्ताले आन्दोलन गर्नुपरेको बताए। ‘यहाँ विपी कोइरालासँग क्रान्ति गर्ने पुस्ता पनि छ, ०४६ सालमा आन्दोलन गर्ने पुस्ता पनि छ, २०६२/२०६३ को आन्दोलनको पुस्ता पनि छ’, उनले प्रश्न गरे, ‘यो किन गरिरहनुपरेको छ?’ लोकतन्त्रका लागि निरन्तर आन्दोलन गर्नुपरेको उनको भनाई छ।
सभालाई संवोधन गर्दै पूर्वमन्त्री यज्ञबहादुर थापाले अब काँग्रेस ब्युँझिएको उनले बताए। ‘काँग्रेस सुतेको थियो, अब ब्युँझियो’, उनले भने, ‘हिजो राजाको घोडा आयो बाटो छोडछोड भन्ने थियो, अब काँग्रेसको घोडा आयो बाटो छोड छोड।’
सरकार विरुद्धका कार्यक्रम एक बर्षअघि नै हुन पर्ने आफ्नो मान्यता रहेको उनले बताए। तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेल माथीको आक्रमणको उनले भत्सर्ना ना गरे।