ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राजनीतिक नेतृत्वले मुलुकमा प्राप्त उपलब्धी नै गुम्ने गरी प्रतिनिधिसभा विघटन गरिएको बताएका छन्।
मन्त्री पदबाट राजीनामा दिँदै उनले जनताको त्याग र बलिदान, राजनीतिक उपलब्धिलाई बचाइराख्न आफूहरूको सक्रियता रहिरहने बताए।
उनले भने, ‘हामीले आवेगमा राजीनामा दिएका हैनौं, प्रधानमन्त्रीले जुन असंवैधानिक कदम चाल्नुभएको छ, यो सच्याउन राजनीतिक नेतृत्वलाई दबाब होस् भनेर दिएका हौं।’
उनले असंवैधानिक कदम सच्याउन आफूहरू लागिपर्ने र पार्टी स्थायी कमिटीले निर्णय गर्ने बताए। उनले पार्टी एकता बचाइराख्न लागिपर्ने पनि बताए।
अर्का मन्त्री घनश्याम भुसालले राजनीतिक स्थिरता र विकासका लागि असाधारण सम्भावना खुलेको नेपालमा प्रधानमन्त्रीको कदमले धक्का लाग्न पुगेको बताए। उनले यो निर्णयले पार्टी मात्रै नभएर राजनीति नै दुर्घटनामा परेको बताए।
उनले प्रधानमन्त्रीको कदमको सामना गर्ने बताए।
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेकी थिइन्। संसद विघटनपछि मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर मन्त्रीले राजीनामा दिएका हुन्।
पूर्वमाओवादीबाट मन्त्री बनेका रामबहादुर थापा र लेखराज भट्टले भने राजीनामा दिएका छैनन्।