संसद विघटनको निर्णयपछि नेकपा कैलालीमा पनि फुटउन्मुख असर देखा परेको छ। संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाको विषयलाई लिएर जिल्लास्थित नेकपामा संगठनहरू विभाजनको मुखमा पुगेका हुन्।
यसैबीच मंगलबार धनगढीमा रहेका नेकपाका जिल्ला र प्रदेश पार्टी कार्यालयमा दुई पक्षले तालाबन्दी गरेका छन्।
यी कार्यालयहरूमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने समूहले सुरूमा ताला लगाएपछि त्यसको केही समय लगत्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले अर्को ताला लगाइदिएका हुन्।
प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीले प्रदेश सभा सदस्य दिर्घ सोडारीलाई कैलालीको जिल्ला अध्यक्ष तोकेको छ।
नेकपा कैलाली जिल्ला कमिटीका सदस्य दिर्घ जोशीले सोडारीलाई यसअघि गलत आरोप लगाएर षडयन्त्रपूर्वक फसाएर गरिएको कारबाही फुकुवा गर्दै अध्यक्षको जिम्मेवारी दिएको बताए।
‘जिल्लामा दिर्घ सोडारी अध्यक्ष हुनुभयो। उहाँ मन्त्री हुँदा षड्यन्त्रबाट कारबाही गरिएको थियो। त्यो फुकुवा गरेर जिल्लाको जिम्मेवारी दिइएको छ,’ उनले भने।
उनले कार्यालयका सामग्री सुरक्षित राख्नलाई तालाबन्दी कार्यालयमा तालाबन्दी गरिएको बताए।
अर्कातिर नेकपा कैलालीका जिल्ला अध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य रतन थापाले नेकपाकै कार्यकर्ताले आफूखुसी कार्यालयमा ताला लगाएको बताए।
‘म सत्यको पक्षमा छु र केपी ओलीको निर्णय सही छ,’ उनले भने।
उनले प्रधानमन्त्रीलाई गलत सावित गर्ने प्रमाण कसैसँग नभएकाले सत्यमार्गमा रहेको दाबी गरे।
प्रदेश सरकार फेरिने चर्चा
सुदूरपश्चिमको प्रदेश सरकार फेरिने चर्चा पनि सुरू भएको छ। प्रदेशसभामा पनि नेकपाका सांसदहरू ओली वा दाहाल–नेपाल पक्ष कताको भन्ने जोडघटाउ सुरू भएपछि सरकार कसको हुने भन्ने चर्चा हुन थालेको हो।
ओलीनिकट मानिने प्रदेश सभा सदस्य थापाले अहिलेका मुख्यमन्त्रीसहित मन्त्रीहरू फेरिने बताए।
‘केन्द्रमा भएजस्तै प्रदेशमा पनि मुख्यमन्त्रीसहित सरकार परिवर्तन हुन्छ,’ उनले भने।
अहिलेको प्रदेश सरकारले कामै नगरेर जनतामा संघीयता नै चाहिन्न भन्ने भावना सिर्जना गराएको थापाको आरोप छ।
‘कार्यक्षमताको आधारमा पनि मन्त्री हेरफेर हुनुपर्ने देखिन्छ,’ उनले भने।
प्रचण्ड नेपाल पक्षले पनि प्रदेश सभामा बहुमत आफ्नै रहेको दाबी गर्दै वर्तमान मुख्यमन्त्री सहितको सरकार कायम रहने दाबी गरेको छ।
नेकपाका एक नेताले ओलीनिकट मन्त्रीहरू बाहिरिने बताउँदै केही दुई तीन जनाबाहेक नेकपाका अधिकांश प्रदेशसभा सदस्य प्रचण्ड–नेपाल पक्षमा रहेको दाबी गरे।
प्रदेश सभामा नकपाका ३९, कांग्रेसका १२ र राजपाका २ गरी ५३ जना सदस्य छन्।