आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले तीन वटा विषय उठान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि पार्टीले तय गर्नुपर्ने रणनीति, सडक प्रतिरोध र संवैधानिक नियुक्तिमा कांग्रेसमाथि लागेको मिलेमतोको आरोपबारे सभापति शेरबहादुर देउवाले प्रष्ट पार्नुपर्ने विषय थापाले उठाएका छन्।
‘प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको असंवैधानिक, अधिनायकवादी, निरंकुश र बदनियतपूर्ण छ भन्ने पार्टीको पदाधिकारी बैठकले निष्कर्ष निकालिसक्यो,’ थापाले बैठकमा भने, ‘कांग्रेस अलमलमा पर्न जरूरी छैन। सडकबाट प्रतिरोध गर्न कत्ति पनि ढिला गर्न हुन्न।’
प्रधानमन्त्री ओलीको संविधानविपरीत कदम सच्याउने निर्वाचनमार्फत् नै भए पनि अधिनायकवादी भनेका ओलीले वैशाख १७ मा निर्वाचन गराउने कुरामा कांग्रेसले विश्वास गर्न नसक्ने थापाको भनाइ छ।
‘निर्वाचन गर्ने एउटा उपाय छ- संसद पुनर्स्थापना। त्यसले मात्रै विस्तारै चुनावमा लैजाने वातावरण बनाउन सक्दछ,’ उनले भने।
प्रधानमन्त्रीको कदमविरूद्ध सर्वोच्चमा रिट परेको भन्दै थापाले अदालत के गर्छ भनेर कांग्रेसले कुर्न नहुने बताएका छन्।
‘अदालतले के भन्छ भनेर कांग्रेसले कुर्ने होइन। कांग्रेस अलमलमा पर्ने पनि होइन,’ थापाले भने, ‘संविधान उल्लंघन भएको छ भनेर हाम्रा कुरा बरू अदालतलाई सुनाउने हो।’
उनले सडकबाट प्रतिरोध गर्न ढिलाइ गर्न नहुने बताए।
‘संसद बन्द गरेर निकालेपछि प्रतिपक्षी सडकमा नगएर कहाँ जाने?,’ उनले प्रश्न गरे।
भोलि बस्ने केन्द्रीय समिति बैठकबाट सडक प्रदर्शनबारे निर्णय गर्ने पनि कांग्रेसको तयारी छ।
थापाले प्रधानमन्त्री ओलीसँग सभापति देउवाले कतिपय नियुक्तिहरूमा मिलिभगत गरेको आरोप लागेकोले प्रष्ट पार्न पनि आग्रह गरेका छन्।
‘संवैधानिक परिषद् बैठक बहिष्कार गरे पनि कतिपय पदमा मिलिभगत छ भन्ने आरोप कांग्रेसमाथि छ,’ उनले भने, ‘हामीले दह्रो ढंगले यसबारे प्रतिवाद गरेनौं वा अस्वीकार गरेनौं भने मिलिभगतको पुष्टि गर्छ।’
प्रधानमन्त्री ओलीले अध्यादेशबाट संवैधानिक परिषदमा गरेका नियुक्ति फर्जी छन् भनेर पार्टीका तर्फबाट अस्वीकार गर्नुपर्ने थापाले बताए।
पार्टीका पक्षमा निर्वाचन हुने देखिए पनि प्रधानमन्त्री ओलीले भत्काएको संविधान नसम्हाली निर्वाचनको पक्षमा उभिन नहुने उनको भनाइ छ।
‘निर्वाचन हाम्रो पक्षमा हुन्छ। त्यो भोलि पनि सम्भव छ,’ उनले भने, ‘तर पहिले प्रधानमन्त्रीले संविधान भत्काएको कुरा कांग्रेसले सम्हाल्नुपर्छ।’