नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा तत्काल आन्दोलनमा जाने कि निर्वाचनलाई स्वीकार गर्ने भन्नेमा घोचपेच भएको छ।
केन्द्रीय सदस्य बलबहादुर केसीले लोकतन्त्रवादीले निर्वाचन अस्वीकार गर्न नहुने भए पनि आन्दोलनबारे छुट्टै बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए।
केसीले बुधबार बैठकमा बोल्दै यसबारे सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउन खोजेका थिए।
‘लोकतन्त्रवादीले चुनाव स्वीकार गर्नुपर्छ। तर प्रधानमन्त्री ओलीको कदमबारे आन्दोलनमा जान छुट्टै बसेर रणनीति बनाउनुपर्छ। म यसबारेमा सभापतिलाई सुनाउन चाहन्छु,’ केसीले यति भनेपछि देउवा बीचमै बोले।
देउवाले थपे, ‘मैले सुनेको छु। सबैको धारणा सुनेर मात्रै निर्णयमा पुग्ने हो। बरू रामचन्द्रजीलाई सुनाउनुस्, मलाई के भन्नुहुन्छ?’
केसीलाई देउवाले जवाफ दिँदा वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिर निस्केको बेला परेको थियो। केहीबेरमा उनी बैठक कक्षमा छिरे।
देउवाले केसीका कुरा आफूलाई सुनाउन भनेको थाहा पाएपछि पौडेलले पनि आफूले लोकतन्त्रको पक्षमा आन्दोलन गर्नुपर्ने धारणा राखेको बताएका थिए।
‘मैले के भनेको छु र? लोकतन्त्रको पक्षमा आन्दोलन गरौं न भनेको त हुँ,’ पौडेलले भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो।
नेता पौडेलले मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेकोले असंवैधानिक कदमविरूद्ध सडकबाट प्रतिरोध गर्न ढिलाइ गर्न नहुने बताएका थिए।
कांग्रेसभित्र अहिले नै आन्दोलनमा गइहाल्ने कि सर्वोच्चको आदेश कुर्ने भन्नेमा फरक मत छ।
आज बैठकमा बोलेका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस अलमलमा नपरी सडकबाट प्रतिरोध गर्नुपर्ने बताएका थिए।
मंगलबार बोलेका केन्द्रीय सदस्य एनपी साउदले निर्वाचनलाई पनि अस्वीकार गर्न नहुने मत राखेका थिए। केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे पुन: बस्दैछ।
सम्भवत भोलि बस्ने केन्द्रीय कार्यसमितिबाट ओली सरकारविरूद्ध आन्दोलनमा जाने कार्यक्रम घोषणा हुने कांग्रेसले जनाएको छ।
आजको बैठकमा सहभागी रहेका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले सभापति देउवा र वरिष्ठ नेताबीच चर्काचर्की भने नभएको दाबी गरे।
सेतोपाटीको कुराकानीमा उनले आन्दोलन र निर्वाचनबारेमा नेताहरूबीच ‘जोकैजोक’ भएको विषयलाई मिडियामा फरक ढंगबाट आएको दाबी गरे।
‘नेताहरूबीच बैठकमा कहिलेकाहीँ जोक हुन्छ नि,’ उनले भने, ‘सिरियस कुरा थिएन, जोकैजोकका कुरा थियो।’