गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राजनेता भएको दाबी गरेका छन्।
ओली पक्षीय नेकपाको काठमाडौंमा भएको प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले ओलीलाई विश्वास गर्न आग्रह समेत गरे।
नेकपा अध्यक्ष ओलीले मंगलबार विस्तार गरेको केन्द्रीय कमिटी सदस्यलाई काठमाडौं बोलाएर बुधबार प्रदेशगत प्रशिक्षण दिएको थियो।
प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले भने, ‘सुखी नेपाली, समृद्ध नेपालको स्पष्ट नीति, खाका र दृष्टिकोणका साथ अगाडि बढेको राजनेता केपी शर्मा ओली हो, उहाँप्रति उच्च विश्वासका साथ लागौं।’
मुख्यमन्त्री गुरुङले निर्वाचन हुनेमा आशंका नगर्न समेत आग्रह गरे।
निर्वाचनमा आफूहरूको विजयलाई कसैले रोक्न नसक्ने उनले दाबी गरे।
‘समृद्धि, लोकतन्त्र र राष्ट्रवादका नायक केपी शर्मा ओली हो’, उनले भने, ‘ढुक्क हुनुस्, उहाँकै नेतृत्वमा देश र जनताको सपना पूरा हुन्छ, हाम्रो विजयलाई कसैले रोक्न सक्दैन।’
प्रशिक्षणमा बोल्दै नेता टोपबहादुर रायमाझीले प्रचण्डलाई ‘रोगको’ संज्ञा दिए।
‘आफ्नो स्वार्थको लागि हरेक ठाउँमा भद्रगोल र अस्तव्यस्तता सिर्जना गर्ने प्रचण्डको रोग नै हो’, उनले भने, ‘त्यो त हामीले भोगेर र व्यहोरेर आएका हौं।’
उनले सिस्टम र आन्दोलन जोगाउन प्रधानमन्त्रीसँग संसद विघटन गरेर नयाँ जनादेशमा जानुको विकल्प नभएको जिकिर गरे।
संसद विघटन नगरेको भए मुलुक अराजकतामा जाने भन्दै रायमाझीले निर्वाचनमा जाने कुरामा प्रचण्ड–नेपाल आत्तिन नहुने बताए।
‘नयाँ जनादेशमा जाने कुरामा त प्रचण्ड–माधव समूह खुसी हुनुपर्नेमा किन आत्तिएको, जनतामा विश्वास किन नगरेको ?’, उनले भने, ‘जनताको मत जितेर प्रधानमन्त्री बन्ने आँट गर्नुहोस्, कमरेड प्रचण्ड।’
प्रचण्डले ३० वर्षसम्म महाधिवेशन नगरी आफैंले आफैंलाई टीका लगाएर अध्यक्ष बनेको समेत आरोप लगाए।
उनले प्रचण्ड–नेपाल पक्षबाट पार्टी अध्यक्ष मनोनित भएका माधव नेपाललाई ‘विधी र पद्धतिको कुरा गरेर जोसँग महाधिवेशनमा अध्यक्ष हारेको हो, उसैलाई हटाएर अध्यक्ष किन अप्ठ्यारो नमानेको ?’ भनेर प्रश्न गरे।
नेकपा र चुनाव चिन्ह सूर्य केपी ओली नेतृत्वको पार्टीसँग रहने भन्दै उनले ढुक्क भएर चुनाव केन्द्रित हुन समेत आग्रह गरेका छन्।
भेलामा बोल्दै स्थायी कमिटी सदस्य किरण गुरुङले आफ्नै पार्टीको नेतृत्वको सरकारविरूद्ध अविश्वासको प्रस्ताव लाने र देशमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेहरूको षडयन्त्र असफल भएको बताए।
‘यो सत्यता जनताको बीचमा लैजाऔं’ उनले भने।
भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य खगराज अधिकारीले अबको निर्वाचनमा ओली पक्षले दुई तिहाइ बहुमत ल्याउने दाबी गर्दै भने, ‘जनताले प्रचण्ड–माधव समूहलाई आफ्नो मतद्वारा सजाय दिनेछन्।’
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको अध्यक्षतामा भएको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण भेलामा भूमि सुधारमन्त्री पद्मा अर्यालले स्वागत मन्तव्य राखेको एक सहभागीले जानकारी दिए।