नेकपा विभाजनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ओलीलाई रोज्दा उनीनिकट कर्णालीका दुई जना सांसदले भने उनको साथ छाडेका छन्।
कर्णाली प्रदेश सभाका दुई जना सदस्यहरूले बादलको साथ छाड्ने निर्णय गरेका हुन्।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका नरेश भण्डारी र सांसद कृष्णा शाहले बादलको साथ छाडेका हुन्।
भण्डारी जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद हुन् भने शाह जाजरकोट निर्वाचन क्षेत्र १ बाट प्रतिनिधित्व गर्ने समानुपाति सांसद हुन्।
पूर्वमाओवादीको तर्फबाट सांसद बनेका दुवै जना प्रचण्ड–नेपाल समूहतिर लागेका छन्।
‘अहिले यही निर्णय भएको छ, योभन्दा अरू केही नभनौं,’ हाल काठमाडौंमा रहेका कर्णालीका कानूनमन्त्री भण्डारीले भने।
कर्णाली प्रदेशमा नेकपाका ३३ जना सांसद छन्। अहिलेसम्म कर्णाली प्रदेशमा बहुमत भने प्रचण्ड–नेपाल पक्षको छ।
बादलको साथ छाडेका दुई जना सांसदसहित कर्णालीमा प्रचण्ड–नेपाल पक्षका २० जना सांसद छन्। ओली पक्षका भने १३ जना छन्।
मंगलबारको ओली समूहको बैठकबाट कर्णालीमा प्रतिनिधित्व गर्ने पूर्वमाओवादीका दुई सांसद केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा मनोनित भएका थिए।