जिल्ला प्रशाशन कार्यालय अछाममा सेवा लिन आउने सेवाग्राहीले घरमा छाउगोठ छ कि छैन भन्ने पत्र लिएर आउनुपर्ने भएको छ।
कोरोना महामारीका बेला रोकिएको छाउगोठ भत्काउने अभियानलाई सेवासँग जोडेर प्रशासन कार्यालयले फेरि सुरू गरेको हो।
आइतबारबाट सेवा लिन आउने नागरिकले घरमा छाउगोठ भए/नभएको पत्र वडा कार्यालयबाट लिएर आउनुपर्ने अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
छाउगोठ घरमा हुनेले सेवा नपाउने होइन। तर गोठ भत्काउन प्रहरीलाई सहज होस् भनेर यस्तो निर्णय गरेको उनले सेतोपाटीलाई बताए।
‘अहिले अभियानलाई सेवा प्रवाहसँग जोडेका छौं। छाउगोठ भए/नभएको छुट्याएर सेवा दिनेछौं। छाउगोठ भएकालाई गोठ भत्काउन पनि लगाउने र सेवा पनि दिने भनेका छौं,’ उनले भने ।
जिल्लाका सबै छाउगोठ भत्काउन सहज होस् भनेर प्रत्येक सेवा ग्राहीसँग गोठ भए/नभएकोबारे सुधपुछ गरी सेवा दिन सुरू गरेको उनले जानकारी दिए।
छाउगोठ भए/नभएको वडा कार्यालयले पत्र तयार गरेर सेवाग्राहीले भने अनुसार प्रमाणित गर्ने उनले बताए ।
छाउपडी प्रथा उन्मुलन गर्ने लक्ष्यअनुसार जिल्लामा गतवर्ष पुस ९ बाट छाउगोठ भत्काउन सुरू भएको थियो।
जस अन्तर्गत हालसम्म ६ हजार ४ सय ६१ छाउगोठ भत्काईएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए।
उपाध्यायका अनुसार यस वर्ष पुस ४ गतेदेखि सुरू भएको अभियानमा ३ सय गोठ भत्काइएको छ ।
‘जिल्लामा अझै २५ हजारजति छाउगोठ भत्काउन बाँकी भएको अनुमान गरिन्छ,’ उनले भने ।
यस चालु आर्थिक वर्षको फागुनभित्र जिल्लाका सबै छाउगोठ भत्काइसक्ने लक्ष्य भए पनि कोरोनाले अभियान प्रवाभित हुँदा त्यो हुन नसकेको उनले बताए।
‘केहि स्थानीयले भत्काएको ठाउँमा छाउगोठ पुनःनिर्माण पनि गरिसकेका छन्,’ उनले भने ।
अछाम सहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महिला तथा किशोरी महिनावारी हुँदा असुरक्षितरूपले छाउगोठमा बस्ने गरेका छन् ।
अछाममा मात्र महिनावारीका बेला यस्तै गोठमा बसेका कम्तिमा १२ जना किशोरी तथा महिलाको ज्यान गइसकेको प्रशासनको तथ्याङ्क छ।