नेकपा प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले प्रधानमन्त्री केपी ओलीप्रति लक्षति गर्दै साम्राज्यवादी शक्तिले ढुंगा खोज्दा देउता पाएको बताएका छन्।
‘उहाँ (ओली)मा निरंकुश, सर्वसत्तावादी एकाधिकारवादी चिन्तन छ’, गुरुङले भने, ‘त्यही चिन्तन पाएपछि साम्राज्यवादीलाई ढुंगा खोज्दा देउता पाएजस्तो भयो।’
नेकपा विभाजनमा पुग्नुमा साम्राज्यवादी शक्तिकै खेल भएको गुरुङको दाबी छ।
‘उहाँ (ओली)ले सचेत ढंगले गर्नुभयो कि भएन, म आक्षेप लगाउँदिनँ’, गुरुङले भने, ‘यो चिन्तन भेटाएपछि यस्तो खालको तानाशाही भेटाएपछि साम्राज्यवादीले फुटाउ र शासन गरको नीति लिए।’
पार्टीलाई टुक्राटुक्रा पारिदिने, ध्वंस पारिदिने र मुलुकलाई साम्राज्यवादी आत्मसमर्पणको दिशामा लगेको उनले आरोप लगाए।
सचेत ढंगले नभएको भए पनि ओलीले चालेको कदमले साम्राज्यवादी शक्तिलाई टेवा पुर्याउने गुरुङले दाबी गरे।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर फाँसीवादी शैलीमा अघि बढ्न खोजेको उनको आरोप छ।
‘प्रतिनिधि सभा विघटन गरेर उहाँले निरंकुश फाँसीवादी अभ्यास गर्दै हुनुहुन्छ’, गुरुङले भने, ‘संकटकाल लगाएर विदेशी सेना भित्राउने बाटो खुल्दैछ।’
केन्द्रीय समितिलाई अवमूल्यन गरेर ओलीले हुलहुज्जत र सडकछाप भनेकोमा उनले आपत्ति जनाए।
‘पार्टी कमिटीको बैठक अस्वीकार गर्ने यो चिन्तन कहाँबाट पैदा भयो एउटा कम्युनिष्ट सदस्यमा ?,’ उनले प्रश्न गरे।
साम्राज्यवादी र विस्तारवादी शक्तिले पार्टी विभाजन गरेर र सरकारलाई अलोकतान्त्रिक कदम चाल्न सघाएको आरोप लगाएका नेता गुरुङले भने चीनको समर्थन जनाए।
‘चीनको सन्दर्भमा हेर्ने हो भने नेपालको राष्ट्रिय स्वाधिनताको प्रतिकूल हुने गरी कुनै काम गरेका छैनन्, नेपालको स्वाधिनतामाथि कुनै हस्तक्षेप भएको छैन’, उनले भने, ‘नेपालको स्वाधिनताको रक्षा, लोकतन्त्र र आर्थिक सामाजिक विकासमा नेपाल र चीनको आदर्श र नमूना सम्बन्ध रहेको अवस्था छ।’
चिनियाँ कम्युनिष्ट पार्टीको परामर्श र सदासयतामा प्रश्न उठाउनुको अर्थ नभएको भन्दै उनले नेपालको राष्ट्रिय स्वाधिनताको आन्दोलनमा साम्राज्यवादी र विस्तारवादी समस्या रहेको जिकिर गरे।
पोखरामा पत्रकारहरूसँग कुरा गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक समेत रहेको गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको बताए।
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ओलीले राजीनामा मागेको प्रसंग सुनाए।
‘उहाँले पार्टीमा दश पेजको प्रस्ताव सार्वजनिक गर्नुभयो, त्यसमा क्रिया–प्रतिक्रिया स्वभाविक नै थियो’, उनले भने, ‘त्यही प्रस्तावमा प्रतिक्रिया जनाउँदा राजीनामा मागियो।’
पार्टीले जिम्मेवारी बाँडफाँट गर्दा आफूले राजीनामा दिन परे पनि तयार रहेको गुरुङले बताए। त्यसका लागि पार्टी कमिटीबाट निर्णय हुनुपर्ने उनको भनाइ छ।
पार्टी निर्णयभन्दा बाहिरबाट राजीनामा मागिएपछि आफूले प्रतिवाद गरेको उनको भनाइ छ।
‘तपाईंलाई प्रस्ताव सार्वजनिक गर्ने अधिकार भएपछि हामीलाई बहस गर्ने अधिकार हुन्छ’, गुरुङले भने, ‘क्रिया प्रतिक्रिया हुन हुँदैन भन्ने सोच एक प्रकारले फरक मतलाई निषेध गर्ने सोच हो, तानाशाही सोच हो।’
पत्रकार भेटघाटमा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटन गराएको भन्दै सरकारको भर्त्सना गरे। संविधानको रक्षा गर्न परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने उनको भनाइ थियो।
सर्वोच्च अदालतले संविधान, कानुन र प्रणालीको रक्षा गर्नुपर्ने भन्दै उनले प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास लिए।
नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले प्रदेशका ११ वटै जिल्लाको भेला गरेको जानकारी दिए।