प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक संसद विघटनविरूद्ध भोलि हुने प्रदर्शनलाई सम्बोधन गर्न प्रचण्ड–नेपाल समूहका केही नेताहरू सुर्खेत आएका छन्।
कर्णालीका विभिन्न जिल्लाहरूमा सम्बोधन गर्न जाने यो समूहका नेता आइतबार सुर्खेत आइपुगेका हुन्।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनीहरूले संसद विघटन गर्नु प्रधानमन्त्रीको ‘अक्षम्य गल्ती’ भएको बताएका छन्।
‘पार्टीभित्रका समस्यालाई सम्बोधन गर्न छलफल नै नगरी संसद विघटन गरियो, यसले नेकपा नै जटिल मोडमा पुगेको छ,’ प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य निरज आचार्यले भने, ‘केपी ओलीले अक्षम्य गल्ती गर्नुभयो, यसलाई पार्टी र जनताले माफी दिने अवस्था छैन।’
उनले संसदलाई जानकारी नदिएर नै प्रतिनिधि सभा विघटन गरेपछि पार्टीले उनलाई कारबाही गरेको बताए।
उनको यो कदमविरूद्ध भोलि देशैभर प्रदर्शन गरिने जानकारी दिए।
पार्टीभित्र काम गर्न नदिएको भएर संसद विघटन गरें भन्नु प्रधानमन्त्रीको भ्रम फैलाउने षड्यन्त्र भएको आचार्यले बताए।
‘दुई तिहाइको सरकारको प्रमुखले यस्तो भन्नु सुहाउँदैन, बरु आन्तरिक समस्या सुल्झाउन नचाहेको भन्ने बुझ्न सकिन्छ,’ उनले भने।
केपी शर्मा ओलीले जनादेश चाहेरभन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षड्यन्त्रका साथ संसद विघटनको कदम चालेको आरोप आचार्यले लगाए।
आफ्ना मान्छेहरू परिचालन गरेर जनतामाझ ओलीले भ्रम फैलाउन खोजेको भन्दै आचार्यले ओलीका पछिल्ला अभिव्यक्ति समेत गणतन्त्र विरोधी भएको टिप्पणी गरे।
विभाजन हुँदै गरेको नेकपाको आधिकारिकताको बारेमा बोल्दै उनले केपी ओलीको समूहले आधिकारिकता नपाउने समेत दाबी गरेका छन्।
‘विधान अनुसार बहुमतको निर्णय पार्टीको आधिकारिक निर्णय हुने स्पष्ट छ,’ उनले भने, ‘हाम्रो समूहमा धेरै नेता कार्यकर्ता भएकाले पनि ओलीको पार्टी आधिकारिक हुने सम्भावना हुँदैन।’
संघीय गणतन्त्रको रक्षकका रूपमा जनताले नेकपालाई मत दिए पनि प्रधानमन्त्रीको कदमका कारण नेकपाभित्रकै अर्को समूह गणतन्त्रको रक्षाका लागि लड्नुपरेको उनले बताए।
केन्द्रीय सदस्य आचार्यले सत्तामा पुगेको ‘गलत व्यक्ति’का रूपमा समेत ओलीलाई व्याख्या गरेका छन्।
‘जनताको मत नेकपाले गणतन्त्रको रक्षा गरोस् भन्ने उद्देश्यका साथ आएको हो,’ उनले भने, ‘अहिले हामी आफैं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि लड्नुपरेको छ, गलत व्यक्ति सत्तामा पुग्यो भने यो अवस्था आउने रहेछ।’
आचार्यले केपी ओलीको समूहले प्रयोग गर्ने चुनाव चिन्ह ‘बयलगाडा’ हुने भन्दै व्याख्या गरेका छन्।
उनले अगाडि भने, ‘असंवैधानिक कदम चालेर छुट्टिएको समूहले सूर्य चिन्ह दाबी गर्नु गलत हो।’
‘आन्तरिक मामिलामा चिनियाँ टोलीको प्रभाव रहँदैन’
सुर्खेत पुगेका अर्का नेता विष्णु रिजालले नेकपाको आन्तरिक मामलामा चिनियाँ कम्युनिष्ट टोलीको प्रभाव नरहने दाबी गरेका छन्।
नेकपाको विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले चिनियाँ टोलीको नेपाल प्रवेश भ्रमणमा मात्र सीमित रहने दाबी गरे।
‘हामी आफ्ना निर्णय र गतिविधि गर्न स्वतन्त्र छौं,’ उनले भने, ‘यस कारण पनि हाम्रो आन्तरिक मामिलामा चिनियाँ कम्युनिष्टले प्रभाव राख्दैन।’
उनले विगतमा भएका संसद विघटनका घटनाले गलत नतिजा निकालेको बताउँदै अहिलेको प्रधामन्त्रीको यो कदमले पनि नतिजा गलत निस्किने बताए।
पार्टीभित्रका समस्याबारे कुनै छलफल नै नगरी यो कदम चाल्नु संविधानको उल्लंघन भएको भन्दै रिजालले केपी ओलीलाई ‘प्रतिगमनका मतियार’ उपमा दिए।