प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको एक सातापछि गाउँ-गाउँ पुगेर नेपाली कांग्रेसका केन्द्रीय नेताले उक्त कदमको खुलेर विरोध गरेका छन्।
प्रधानमन्त्री ओली सत्तामा टिकिराख्न असंवैधानिक तरिकाले संसद भंग गरेको संघीय निर्वाचन क्षेत्र पुगेका कांग्रेस केन्द्रीय नेताको भनाइ थियो।
सोमबार कांग्रेसले १६५ निर्वाचन क्षेत्रबाट ओली सरकारविरूद्ध प्रदर्शन गर्दै प्रतिगमनतिर मुलुकलाई धकेल्न खोजेकोमा विरोध गरेका छन्।
प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका सभापति शेरबहादुर देउवाले भक्तपुर पुगेर अदालतमा विचाराधीन मुद्दाबारे पार्टीले अनावश्यक दवाव नदिने प्रष्टाएका छन्।
‘अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भनेर हाम्रो पार्टीले भन्दैन। हामी अदालतको सम्मान गर्ने पार्टी हो,’ देउवाले भने, ‘ओलीको कदमविरूद्ध विरोध गरिरहन्छौं, सँगै अदालतको निर्णय पर्खंन्छौं।’
अदालतलाई प्रभाव पार्ने गरी तर्साउने वा धम्क्याउने काम नगर्ने बताएका देउवाले पञ्चायतमा पनि अदालतबाट आफूहरूलाई न्याय मिलेको प्रसंग उल्लेख गरेका थिए।
‘अदालतले हाम्रो इच्छाअनुसार वा विपक्षमा पनि निर्णय गर्न सक्छ। अदालतको निर्णय स्वीकार गर्नुपर्छ,’ देउवाले भने।
यति भनेपछि देउवाले कार्यकर्तालाई भोलिका लागि तयार रहन निर्देशन दिए।
अदालतबाट संसद पुनर्स्थापनाको निर्णय आउन सक्ने वा पुनर्स्थापना नभए चुनाव/आन्दोलनमा जानुपर्ने तर्फ संकेत गर्दै देउवाले संगठन विस्तारमा जुट्न स्थानीय नेताहरूलाई निर्देशन दिएका छन्।
कांग्रेसको हालै बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि प्रधानमन्त्री ओलीको कदमविरूद्ध अहिले नै आन्दोलनमा गइहाल्ने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबी मत बाझिएको थियो।
केन्द्रीय समिति बैठक बीचैमा रोकेर कांग्रेसले सोमबार देशैभारबाट विरोध गरेको थियो।
अब केन्द्रीय समिति पुस १९ गते बस्दैछ। यसबीचमा पुस १६ गते कांग्रेसले देशैभर मेलमिलाप दिवस मनाउँदैछ।
प्रतिनिधि सभा भंग हुनु लोकतन्त्रमाथि प्रहार भएकोले आन्दोलनमा जान ढिलाइ गर्न नहुने मत वरिष्ठ नेता रामचन्द्र पौडेलले राख्दै आएका छन्।
तनहुँ पुगेका पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर लोकतन्त्र र संविधानमाथि प्रहार गरेको बताएका छन्।
संसद पुनर्स्थापना र चुनाव दुबै नहुने अवस्था आएमा के गर्ने भन्नेमा अहिले नै सोच्न उनले पार्टी नेतृत्वलाई आग्रह गरिराखेका छन्।
पाँच वर्षका लागि जनताले नेकपालाई म्यान्डेट दिए पनि बीचैमा संसद भंग गरिएकोमा आपत्ति जनाएका पौडेलले दुई/तीन वर्ष अन्तरालमा चुनाव गरिरहन मुलुकको आर्थिक अवस्थाले पनि नधान्ने तर्क राखेका छन्।
प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरे पनि त्यो गर्ने खालको चुनाव नभएकोले आन्दोलनबाटै संसद पुनर्स्थापना गर्ने जोडबल पौडेलले गरेका छन्।
सरकारलाई र पार्टीभित्रै पनि नेतृत्वको खासै आलोचना नगर्ने आरोप लागेका महामन्त्री शशांक कोइरालाले नवलपुरबाट ‘ओली सरकारले एउटा ढुंगा पनि नउठाएको’ भन्दै कटाक्ष गरेका छन्।
कोइरालाले पनि भविष्यका लागि तयार रहन नेता/कार्यकर्तालाई निर्देशन दिए।
कांग्रेसको १४ औं महाधिवेशन पनि आउँदैछ। महाधिवेशनदेखि भविष्यमा हुने चुनाव सम्मका लागि पार्टी तयार रहनुपर्ने कोइरालालको भनाइ थियो।
‘भोलिका दिनमा चुनाव हुँदा म फेरि आइहाल्छु। तर आज मलाई यो मौका पनि मिलेको छ, म भनिहाल्छु- चुनाव भएका बेला कांग्रेसलाई जिताउनुस्,’ महामन्त्री कोइरालाले भने।
प्रवक्ता विश्वप्रकाश शर्मा भने अहिलेको अवस्थामा मुलुक पुग्नुमा चार जना दोषी देख्छन्।
प्रधानमन्त्री ओली, नेकपाका नेताहरू प्रचण्ड, माधव नेपाल र कतिपय अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले यस्तो अवस्थामा देश आइपुगेको शर्माको भनाइ छ।
कांग्रेसले गत वैशाखमै प्रधानमन्त्री ओली असक्षम भइसकेको बताएका बेला नेकपाले अर्को प्रधानमन्त्री चयन गर्न नसक्नु नै अहिले संसद भंग गर्नेजस्ता असंवैधानिक कदम आएको तर्क शर्माको छ।
कोटेश्वरमा पुगेर शर्माले कम्युनिष्टको भ्रमबाट अब जनता मुक्त हुनुपर्नेमा जोड दिएका छन्।
‘सपना र भ्रम दिने कम्युनिष्टले यो मुलुकलाई विकास दिँदैन,’ उनले भने, ‘स्थिर सरकारलाई भंग गरेर कमरेडहरू सपनाको एउटा नयाँ यात्रा पूरा गर्दै हुनुहुन्छ।’
शर्माले पनि हिजो एमाले र माओवादीलाई भोट हालेका युवालाई अब भ्रमबाट मुक्त हुँदै ब्युँझिन भनेका छन्।
उनले अनेक देशका राजदूत नेकपा नेताको ढोका चाहरिरहेको भन्दै विदेशी हस्तक्षेपको विरोध गरेका छन्।
नेपालगञ्ज पुगेका गगन थापाले अदालतमा विचाराधीन विषषमा पार्टीले बोल्न मिल्ने तर्क गरेका छन्।
‘राजाको शासन भएका बेला अदालतमा वीपीले विना भय र त्राश, विना गोप्य निर्देशन अदालतले न्याय दिन सक्यो भने मात्रै अदालत हुनुको अर्थ हुन्छ भन्नु भएको हो,’ उनले भने, ‘वीपीले पनि अदालतमा उभिएर न्यायको हत्या नहोस् भन्नु भएको थियो। वीपीको कार्यकर्ता टुलुटुलु हेरेर बस्दैन।’
अदालतमा मुद्दा चलिरहे पनि सडकबाट कांग्रेसले प्रदर्शन गरिरहनुपर्ने उनले बताए।
‘श्रीमान् दायाँबायाँ नहेरिबक्सियोस् संविधान हेरिवक्सियोस्,’ उनले भने, ‘खासखुस नगरिवक्सियोस्। न्याय बक्सियोस्। सडकमा कांग्रेसको झण्डा हेर्नुपर्दैन संविधान हेरे पुग्छ।’
अदालतबाट हुने निर्णय पार्टीले मान्ने पनि थापाले बताएका थिए।
आन्दोलन वा चुनाव भन्ने दोधारबीच पुस १९ मा पुन: कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ।
यसबीचमा प्रदेश नम्बर १ र बागमतीमा मुख्यमन्त्रीहरू विरूद्ध अविश्वास प्रस्ताव आएको र नेकपाका दुबै पक्षले कांग्रेसको समर्थन खोजिरहेका छन्।
कांग्रेसको प्रदेशमा पार्टी संरचना नभएकोले केन्द्रीय समितिबाटै प्रदेशमा समर्थन रहने वा नरहने टुंग्याउनु पर्ने हुन्छ।