कोरोना भाइरसको संक्रमणबाट गत असार ११ गते मृत्यु भएका स्याङ्जाका ५५ बर्षीय पुरुषको शव व्यवस्थापन गर्दा गोली चल्यो। शव व्यवस्थापनमा स्थानीयले अवरोध गरे, एउटै शव गाड्न १३ घण्टा समय खर्चनुपर्यो। सरकारले संक्रमितको शव व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिएको थियो। जिम्मेवारी अनुसार सेना शव व्यवस्थापनमा खटिएको थियो।
शव व्यवस्थापन गर्दा शान्ति सुरक्षाको जिम्मा नेपाल प्रहरी र शशस्त्र प्रहरीले लिएको थियो। शव व्यवस्थापन गर्ने स्थल पोखरा महानगरले व्यवस्था गरेको थियो। महानगरले पोखरा– ३२ मजुवामा शव व्यवस्थापन गर्न भनेको थियो।
आफ्नो क्षेत्रमा संक्रमितको शव व्यवस्थापन गर्दा कोरोना फैलिने डर स्थानीयवासीलाई थियो। त्यहीँ भएर स्थानीय जनप्रतिनिधिसहितको टोलीले शव व्यवस्थापन गर्न अवरोध गरेका थिए। शान्ति सुरक्षाका लागि शशस्त्र प्रहरीले हवाई फायरसम्म गर्न परेको थियो।
शव व्यवस्थापन गर्दा त स्थानीयले त्यति ठुलो भय र त्रास बोकेका थिए। अस्पतालबाट संक्रमितको शव बोकेर व्यवस्थापन गर्दा नेपाली सेनाले के के गर्नुपर्यो ? पोखरास्थित पश्चिम पृतनाका पृतनापती उपरथी विनयविक्रम राणाले भने, ‘हामीले सेनाका अधिकृतदेखि जवानलाई हामी युद्वमा छौं भनेर कन्भिन्स गर्यौं, अस्पतालबाट शव गाडीमा राख्नेदेखि खाल्डोमा गाड्ने र जलाउने काम गर्यौं।’
त्यसो त पोखराका अन्य ठाउँमा पनि संक्रमितको शव व्यवस्थापन गर्दा अवरोध भएका थिए। अवरोधको अगुवाई गरेका कतिपय जनप्रतिनिधि प्रहरीसँगको झडपमा घाइते भएका थिए त कतिपय पक्राउ परेका थिए। सेनाले पनि चुपचाप शव व्यवस्थापनको काम गरिरहेको थियो।
माओवादी द्वन्द्वकालमा नेपाली सेनालाई हेर्ने दृष्टीकोण त्यति सकारात्मक थिए। द्वन्द्व सकिएपछि पनि कतिपयले सेनालाई पुरानै आँखाले हेरे। सेनाले पनि जनसम्बन्ध बलियो बनाउने भन्दै गाउँ गाउँमा स्वास्थ्य शिविर लैजाने लगायतका गतिविधी गर्न थाले। प्राकृतिक र मानवीय विपत्तीमा नागरिकको जिउधन जोगाउन लागिपरे।
तैपनी सेना कतिपयले सेना प्रतिको धारणा नकारात्मक नै राख्थे। यसो हुनुमा कतिपय राजनीतिकर्मीले पनि सेनालाई होच्याएर गर्ने टिप्पणीले बल दिएको थियो। कोरोना भाइरसको महामारीले सेनालाई नागरिक–सेना सम्बन्ध बलियो बनाउने आधार दियो, सेनाले अहिलेसम्म आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको सैनिक नेतृत्वको दाबी छ।
शव व्यवस्थापनको जिम्मा पाएको सेना त्यतिमा मात्र अडिएन, ठाउँ ठाउँमा हेल्थ डेस्क स्थापना, आइसोलेसन र क्वारेन्टिन बनाउन पनि खटिए। गण्डकी प्रदेशमा मात्र हालसम्म १८२ वटा कोरोना संक्रमितको शव व्यवस्थापन गरेको पश्चिम पृतनाका जनसम्पर्क अधिकृत प्रेमप्रसाद पौडेलले बताए।
सरकारले बनाएको कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी मापदण्डमा संक्रमितको शव गाड्ने उल्लेख छ। पश्चिम पृतनाले शुरुवातमा संक्रमितको शव गाडेको थियो। पछि नागरिकको भावना भन्दै परम्पराअनुसार व्यवस्थापनमा खटिएको छ। जनसम्पर्क अधिकृत पौडेलका अनुसार गण्डकीमा मृत्यु भएका १५३ वटा शव गाडिएको छ भने २९ वटा शव परिवारको चाहना अनुसार जलाइएको छ।
‘संक्रमितको शव व्यवस्थापन शुरुका दिनहरुमा चुनौतीपूर्ण थियो’, पौडेलले भने, ‘अहिले अभ्यस्त भइसक्यौं, गाह्रो छैन।’
पृतनापति उपरथी राणाले बोल्दा पनि कोरोना सर्छ भन्ने अवस्थाबाट गुज्रिन निकै गाह्रो भएको बताए। जवानहरुलाई कन्भिन्स गराउन कोरोना सम्बन्धी अफवाहले गाह्रो बनाएको उनको अनुभव छ।
सरकारले कोरोना संक्रमणको उपचार र व्यवस्थापनमा खटिने सुरक्षाकर्मीदेखि कर्मचारीलाई भत्ता दिने भनेर हौस्याएको थियो। तर अहिलेसम्म उक्त भत्ता सेनाले पाउन सकेका छैनन्। ‘मुख्यमन्त्रीले दिन्छौ भन्नुभएको थियो तर कोरोना जोखिम भत्ता सेनाले पाएको छैन, तल्लो तहमा त अपेक्षा हुन्छ नै’, उपरथी राणाले भने, ‘हामीले चाहियो भनेर दाबी गर्ने अवस्था पनि छैन।’
कोरोना भाइरस विरुद्धको लडाई अझै सकिएको छैन। आम मानिसको ध्यान कोरोनाबाट अन्यत्र गएपनि सेनालाई भने कोरोनाकै जिम्मा बढेको छ। कारण, संक्रमित मृतकको संख्या बढिरहेको छ, सेनाले व्यवस्थापन गर्नुपर्छ। कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन लगायतका कार्य गर्दा गर्दै गण्डकीमा सेनाका अधिकृत र सिपाही गरी ३१० जना संक्रमित भए। जसमा ३०३ जना निको भइसकेका छन् भने ७ जना अझै उपचाररत छन्।
संक्रमित भएका सैनिक अधिकृत र सिपाहीलाई शुरुवातमा होटल आइसोलेसनमा लगेर राखिएपनि अहिले ब्यारेकभित्रै आइसोलेसन वार्ड बनाएको पृतना जनसम्पर्क अधिकृत पौडेलले बताए। ‘अन्यत्र आइसोलेसनमा राख्दा खर्च ठुलो आयो’, उनले भने, ‘ब्यारेक भित्रै आइसोलेसन वार्ड बनाएपछि संक्रमितको उपचारमा लाग्ने खर्च घटेको छ।’
नागरिकसँग सम्बन्ध स्थापित गर्न कोरोना भाइरसको महामारीमा सेनाले जिम्मेवारीपूर्ण भुमिका खेलेको पृतनापति उपरथी राणाको दाबी छ। ‘जिम्मेवार क्षेत्रमा प्रभावकारी र असरदार काम गरेका छौं’, उपरथी राणाले भने।
नागरिकसँग सम्बन्ध सुदृढ गर्न उनले मधेशको एउटा घटना संझिए। ‘म बारामा हुँदा त्यहाँका नागरिकमा सेना प्रति सकारात्मक दृष्टी पाइनँ’, उनले भने, ‘नेपालको एकिकरणमा मधेशका नागरिक पनि लडेका थिए, त्यसको अभिलेख नभएर पनि हो।’
त्यसपछि उनले बाराको जितपुरमा एकिकरण पार्क बनाउने योजना बनाए। यस विषयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग कुरा गरे। मुख्यमन्त्री राउतले पनि उक्त पार्क बनाउन सघाए। अहिले २२ करोडको लागतमा जितपुरमा एकिकरण पार्क बनिरहेको उनले बताए। ‘मधेशका नागरिक एकिकरणमा लडेको इतिहासमा उल्लेख छैन’, उनले भने, ‘त्यसलाई उजागर गर्न उक्त पार्कले मदत गर्नेछ।’
प्रदेश २ र नेपाली सेनाको संयुक्त लगानीमा २२ करोड खर्चिएर उक्त पार्क निर्माण गर्न लागेको उपरथी राणाले बताए। सर्वसाधारण नागरिकसँग सम्बन्ध स्थापित गर्न सेनाले भुमिका खेलेको उनको भनाई छ।
प्राकृतिक र मानवीय विपत्तीबाट सर्वसाधरणलाई जोगाउन सेनाले भूमिका खेलेको उनले बताए। यस बर्ष मात्र गण्डकीमा बाढी पहिरोबाट पीडित बनेका ५२ जनाको जीवितै उद्धार गरेको छ भने ७० जनाको शव उत्खनन् गरेको छ। यस्तै, आगलागी नियन्त्रण, फेवातालमा भएका दुर्घटना, अन्नपूर्ण आधार शीविरमा हिउँ पहिरोमा पुरिएकाको खोजी लगायतका काम सेनाले गरेको जनसम्पर्क अधिकृत पौडेलले बताए।
पश्चिम पृतनामा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले पृथ्वीनारायण शाहले एकिकरण गर्दा हिँडेको बाटोलाई एकिकरण पदमार्ग नाम दिएर पदयात्रा गर्ने तयारी गरेको छ। यस्तै, भूतपूर्व सैनिकहरुको सम्मेलन आयोजना गरेको पश्चिम पृतनाले जनाएको छ। मनाङ, मुस्ताङ र नवलपुरबाहेक सबै जिल्लामा भुपू सम्मेलनको तयारी भएको जनसम्पर्क अधिकृत पौडेलले बताए। गण्डकीमा १६ हजार भुपू सेना रहेको र सम्मेलनमा १२ हजार सहभागी हुने अनुमान उनीहरुले गरेका छन्।
पृतनापती उपरथी राणाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि खाली हुने पोखरा विमानस्थलको जग्गामा नेपाली सेना नजाने बताए। नयाँ विमानस्थल सुचारु भएपछि पुरानो विमानस्थल सेनाले कब्जा गर्छ भनेर चलेको हल्ला झुटो रहेको उनले बताए। ‘यसबारे सरकारले निर्णय गर्ने हो, त्यहाँ सेना जाँदैन’, उनले भने।
क्याप्सन