पञ्चायती शासनविरूद्ध कांग्रेस सशस्त्र आन्दोलनमा थियो। उसले भारतमा बसेर पञ्चायतविरूद्ध नेपालमा गतिविधि गर्थ्यो।
बिपी कोइराला २०३३ साल पुस १६ गते भारतबाट मेलमिलाप नीति लिएर नेपाल फर्के।
जतिबेला भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर विरोधीहरू समात्दै थिइन्। गान्धीको त्यो कदमको विरोध गर्नेमध्ये भारतकै समाजवादी नेता जयप्रकाश नारायण पर्थे। बिपीसँग उनको निकट सम्बन्ध थियो।
गान्धीको त्यो कदमले जयप्रकाश दबाबमा थिए। त्यहीबेला बिपी सशस्त्र क्रान्तिबाट हैन, मेलमिलापको बाटोबाट प्रजातन्त्र पुनर्स्थापना गर्नुपर्छ भन्दै मेलमिलाप नीति लिएर नेपाल आएका थिए। भनिन्छ, जयप्रकाशकै सल्लाहमा बिपी फर्किएका थिए। बिपीको त्यही नीतिको स्मरणमा नेपाली कांग्रेसले हरेक साल पुस १६ गते मेलमिलाप दिवस नै मनाउँछ।
अहिले नेपाली राजनीतिमा फेरि ठूलो बिग्रह देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारूढ नेकपामा पनि लगभग विभाजन आइसकेको छ। बिहीबार मेलमिलाप दिवस मनाइरहँदा नेपालको राजनीतिमा मिलाप हैन, सार्वजनिक रूपमै गालीगलौज र अहंकारको वायु दौडिरहेको छ।
प्रधानमन्त्री ओली यसमा प्रखर देखिन्छन्।
‘तीन वर्षमा डोभ साबुनका धेरै डल्ला, स्याम्पु, साबुन, ड्रमका ड्रम, ट्याङकीका ट्याङ्की पानी सकियो, प्रचण्डलाई धुँदा धुँदा। साबुन लगायो, पखाल्यो जस्ताको तस्तै। अन्तिममा तपाईंहरूले देखिहाल्नुभयो,’ प्रधानमन्त्री ओलीले आफ्नो समूहका सुदूरपश्चिमका कार्यकर्तालाई सम्बोधन गर्दा बुधबार भने।
कार्की ब्यांकेटमा भएको कार्यकर्ता भेलामा उनले सहयात्री, सहयोद्धा नेताहरूलाई लक्षित गरेर अन्य धेरै ‘रुखा’ अभिव्यक्ति दिए।
‘काल नआउञ्जेल कमिलो दुलोमा हुन्छ। काल आएपछि पखेटा पलाउँछ, फुरफुर उड्छ, चराहरू त्यही खोजेर घुमिरहेका हुन्छन्, जति उड्छ ट्याप्प ट्याप्प पारिहाल्छन्। अहिले उनीहरू त्यस्तै फुरफुर भइरहेका छन्। गाली गरेर, मुख छाडेर हिँडेका छन्। दुलोबाट फुत्त निस्केर फ्याट्टफ्ट्ट गरिरहेका छन्। यसको हिसाब-किताब राख्या छ जनताले,’ प्रचण्ड-माधव नेपालतिर संकेत गर्दै ओलीले भनेका थिए।
प्रधानमन्त्री ओली वाकपटुताका सिपालु मानिन्छन्। टुक्का मिसाउँछन्। आफूलाई मन नपर्ने समकक्षी, सहयात्रीहरू नेतालाई गालीगलौज गर्छन्। उनका समर्थकलाई यही मन पर्छ। हाँसेर साथ दिएपछि ओली झन् उत्साहित हुन्छन्।
प्रधानमन्त्री ओलीलाई उनका समर्थकहरू ‘राजनेता’, ‘राष्ट्रनायक’सम्म भन्छन्। तर, तिनै ‘राजनेता’का मुखबाट छुटेका आफ्ना सहयात्री, सहयोद्धा र सहकर्मी लक्षित गालीले भने मर्यादाका सीमा भत्काएका छन्।
उनी यतिसम्म भन्छन्, ‘पोहोर म बिरामी परेँ, मरिहाल्छ भने। बैंकक गएँ, काठको बाकसमा फर्किन्छ भने। तर, म प्लेनको सिटमै फर्किएँ। अस्ति अप्रेसन भयो, इन्फेक्सन हुन्छ,अब गयो भने। उहाँहरूले भविष्यवाणी हुने खालको गर्नै हुन्न। म मर्न त मर्छु, उहाँहरूको आकांक्षा पूरा हुन्छ,अगाडि पछाडि कहिले कसको टुंगो हुँदैन। सत्य हो मर्छु। तर, मान्छे मरोस् भन्ने कल्पना विरोधी शत्रुलाई पनि गर्ने सभ्यता राम्रो हैन।’
नेपाली राजनीतिका दुई प्रमुख पार्टीहरू कांग्रेस र नेकपामा आन्तरिक खटपट र बेमेलको लामो शृंखला छ। दुई पार्टीबीच एउटा मूलभूत फरक भने देखिन्छ- आन्तरिक विग्रहका बीच पनि नेपाली कांग्रेसमा सार्वजनिक गालीगलौजको परम्परा कम देखिन्छ, विभिन्न वामपन्थी घटकका नेता भने अक्सर सार्वजनिक रूपमै चर्को गालीगलौजमा उत्रिने गरेका छन्।
बहुदल आएपछि नेपाली कांग्रेसमा ठूलो आन्तरिक कलह देखियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग असन्तुष्टि बढ्दै गएपछि गणेशमान सिंहले घोषित रूपमै पार्टी छाडे। कृष्णप्रसाद भट्टराईलाई कांग्रेसको बहुमतको सरकारको नेतृत्वबाट असम्मानजनक रूपमा निकालियो। कालान्तरमा उनी पनि पार्टीमा निष्कृय बसे। २०५९ सालमा पार्टी नै विभाजन भयो। शेरबहादुर देउवाले पार्टी फुटाएर कांग्रेस (प्रजातान्त्रिक) गठन गरे।
तर, अहिले जुन तहको गालीगलौज नेकपाका नेताहरूबीच देखिएको छ, कांग्रेसमा त्यसको एकछेउ पनि थिएन।
सहयोद्धा मानेर सँगै हिँडेका कम्युनिष्ट नेताहरू मन नमिल्नेबित्तिकै नेताहरू आपसमा गालीगलौजमा किन उत्रिन्छन्?
नेकपा नेता रघुजी पन्त भन्छन्, ‘अभिव्यक्ति चिन्तन र समग्र सोचबाट आउने हो। अभिव्यक्तिका आफ्नै तरिका हुन्छन्। कसैले प्रेरित गर्छ। चिन्तन गराउँछ। दु:ख पनि गराउँछ। स्वभावअनुसार व्यक्तिका अभिव्यक्ति आउँछन्।’
तर, ती अभिव्यक्तिमा राजनीतिक-वैचारिक पक्षको आलोचना हुनु पर्ने उनी बताउँछन्।
‘व्यक्तिको गालीगलौज गर्ने पक्षमा म छैन। यसलाई निरुत्साहित गर्नुपर्छ,’ उनी भन्छन्।
वामपन्थी आन्दोलनमा अन्तर्राष्ट्रिय चासोहरू प्रकट हुने गरेका छन्। अन्तर्राष्ट्रिय चासोमा ‘फुट’ निम्तिने गरेको छ। फुटपछि नेताहरू एकले अर्कोलाई ‘संशोधनवादी’ र ‘गद्दार’ पनि भन्थे।
पन्तका शब्दमा गालीगलौज विकार हो। ‘राजनीति हो। आज फुटे पनि मिल्नुपर्ने अवस्था आउन सक्छ। त्यसकारण एकले अर्कोलाई गाली गर्नु ठिक हैन,’ उनी भन्छन्।
वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल राजनीतिक व्यक्तिको अभिव्यक्तिको पछाडि सबैभन्दा ठूलो ‘स्कुलिङ’ रहेको मान्छन्।
‘ऊ कुन परिवार र संस्कृतिबाट आएको छ। उसको शिक्षादीक्षा कस्तो छ। उसको कस्तो खाले राजनीतिक विचार र सोचमा छ त्यसमा भर पर्छ,’ उनी भन्छन्।
खासगरी राजनीतिक शक्तिका आर्जन गर्ने मनोकांक्षा पालेका नेतामा यस्तो समस्या देखिने गरेको दाहाल बताउँछन्।
‘यस्ता मानिस शक्ति आर्जनका निम्ति जे पनि गर्न सक्ने खालमा हुन्छन्, रिस र आवेग बढी हुन्छ। ती शब्दमा देखिन्छन्, शब्दले नसकेपछि अरू माध्यमबाट पनि प्रस्फुटित हुन्छन्,' दाहाल भन्छन्।
दाहालको भनाइमा ओलीमा यस्तै प्रवृत्ति छ। उनी ‘हीन’ मनोग्रन्थीबाट ग्रसित छन्। यसले राजनीति संस्कृतिलाई सघाउ पुर्याउँदैन।
राजनीतिक वातावरणअनुसार पनि व्यक्तिको अभिव्यक्ति रुखो भएर आउने गरेको उनले बताए।
‘हिजो सँगै हुँदा माधव नेपालहरूले खोई त पानीजहाज भनेर सोध्नुभएन। खै त रेल भन्नुभएन। बरू बचाउ गर्नुभयो,’ दाहाल भन्छन्, ‘अहिले उहाँहरू छुट्टिएपछि मात्रै त्यस्ता तर्क आउन थाले, एकले अर्कोलाई गाली गर्न थालेका छन्।’
नेकपा नेता अमृतकुमार बोहरा नेपाली राजनीतिका कठिन दिनमा पनि बिपी र पुष्पलालले उच्च राजनीतिक संस्कारको विरासत छाडेका बताउँछन्।
पुष्पलाललाई उनको नीति मन नपराउने वामपन्थी नेताहरूले नै ‘गद्दार’ भनेर गाली गरे। बिपीलाई त वामपन्थीहरू ‘लेन्डुप’ भनेरसम्म गाली गर्थे। तर, न बिपी न पुष्पलालले नै त्यो स्तरमा झरेर ती गालीको प्रतिवाद गरे।
बिपी र पुष्पलालको जस्तो राजनीतिक चेतना र संस्कार भएका नेता अहिलेको नेपाली राजनीतिमा नभए पनि गालीगलौजको सट्टा तर्क र विचारको अपेक्षा आम नेपालीले गरेको बोहराले बताए।
‘स्तरहीन गाली गर्ने तरिकाको म निन्दा गर्छु। जोसँग राजनीतिक तर्क छैन, आधार छैन। त्यसले गैरराजनीतिक बाटो समात्छ। हामीले तथ्य, तर्क र आधारसहित सैद्धान्तिक र नीतिगत रूपमा बोलेर मानिसको राजनीतिक चेतना उकास्ने खालको संस्कार अघि बढाउनुपर्छ भनेर भन्ने गरेका छौं,’ बोहराले भने।
प्रधानमन्त्री ओलीको आलोचना उनले गरेको गलत कामको आलोकमा तथ्य, तर्क र सिद्धान्तका आधारमा भएको बताए। उनले भने, ‘प्रधानमन्त्री भने गालीगलौजमा उत्रिनु भएको छ।’
कांग्रेस नेता डा. मीनेन्द्र रिजाल अहिलेको राजनीतिक विग्रहको भू-राजनीतिक आयाम र मूल्य रहेको तर्क गर्छन्।
‘हाम्रो व्यवहारमा संवेदनशीलता भएन भने हामीले उन्नति गर्ने हैन गुमाउने अवस्था छ, अहिलेको सरकारले आफ्नो राजनीतिक स्वार्थमा भू-राजनीति प्रयोग गरेको छ,’ उनी भन्छन्, ‘भू-राजनीतिक संवेदनशीलता र सम्भावना बढेको छ, सँगसँगै चुनौती पनि छन्। यस्तो बेला सुसंस्कृत राजनीति र मेलमिलापको नीतिको ठूलो महत्व देखिन्छ।’