नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा दुइटा प्रस्ताव लैजाने तयारी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएकोले सडकबाट चरणवद्ध आन्दोलन घोषणा गर्नुपर्ने पहिलो प्रस्ताव छ।
दोस्रो, पार्टीको महाधिवेशनबारे हो।
‘प्रधानमन्त्री ओलीले संविधान मिचेकोमा स्थानीय तहदेखि केन्द्रबाट विरोध गर्न सडक संघर्षका कार्यक्रम पार्टीले घोषणा गर्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले आइतबार सेतोपाटीसँग भने, ‘पार्टीको १४ औं महाधिवेशन गर्न अब ढिला भइसक्यो। संविधान पनि बचाउनुपर्यो, पार्टीको विधान पनि बचाउनुपर्यो भन्नेमा हामी छौं।’
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेकोले कुनै पनि अलमल नगरी अब सडकबाटै आन्दोलन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री ओलीको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवाद उन्मुख र प्रतिगमनकारी ठहर गरेकोले सडकबाट आन्दोलन गर्नुको अर्को विकल्प नहुने पौडेलले जिकीर गरेका छन्।
प्रधानमन्त्रीको कदमविरूद्ध प्रतिनिधि सभा पुनर्स्थापनालाई जोड दिँदै पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध गरिएको पौडेलले बताए। यति विरोधले मात्रै नपुग्ने भन्दै उनले आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले थप सडक संघर्षका कार्यक्रम ल्याउने विश्वास पनि व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो अवस्थामा कांग्रेस सडक संघर्षमा जान नहुने अदालतको निर्णय पर्खनु पर्नेमा सभापति शेरबहादुर देउवा छन्। अदालतलाई तर्साउने र धम्क्याउने गरी कार्यक्रम गर्ने पक्षमा पार्टी नरहेको देउवाले बताउने गरेका छन्।
तर पौडेलले सडकबाट पनि अदालतलाई कांग्रेसले आफ्ना कुरा सुनाउनु पर्ने भएकोले सडक संघर्ष आवश्यक रहेको तर्क गरेका छन्।
‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक छ। संविधानमा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गर्न सक्ने अधिकार छैन,’ उनले भने, ‘यसबारे अदालतमा मुद्दा त चलिरहेकै छ। सडकबाट पनि हामीले प्रधानमन्त्रीको कदम असंवैधानिक छ भन्नुपर्छ।’
यससँगै आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे पनि छलफल गर्ने पक्षमा पौडेल छन्।
कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका बनाए पनि त्यसअनुसार क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सकेको छैन। अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील टुंग्याएर केन्द्रमा पठाएको अवस्था छ।
कतिपय जिल्लामा समायोजनका काम नै भएका छैनन्। समायोजन नसकेका जिल्लामा क्रियाशील फारम नै पुगेको छैन। त्यसैले पूर्वनिर्धारित कार्यतालिकाअनुसार कांग्रेस महाधिवेशन फागुनमा हुने सम्भावना अब टर्दै गइरहेको छ।
सभापति देउवाको नियमित चार वर्षे कार्यकाल गत वर्ष फागुनमा सकिएको थियो। उनले पार्टी विधानमा टेकेर एक वर्ष कार्यकाल थपेका थिए। उक्त समयअवधि अब फागुन १९ गते सकिँदैछ। त्यसपछि कार्यकाल थप गर्ने हो भने संविधानको साहरा लिनुपर्ने हुन्छ। संविधानमा छ महिना म्याद थप गर्न सकिने उल्लेख छ।
सभापति देउवाले अधिवेशन प्रयोजनका लागि संविधानअनुसार आफ्नो कार्यकाल थप छ महिना थप गरेमा भदौसम्म महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने समय हुन्छ। सभापति देउवा कार्यकाल थप गर्ने पक्षमा छन्। उनले जेठ वा भदौमा महाधिवेशन गर्ने तयारी गरेको उनीनिकट नेताहरू बताउँछन्।
आज केन्द्रीय समितिमा यी एजेन्डाबारे व्यापक रूपमा छलफल गरिने पौडेलले जानकारी दिए।
‘आन्दोलन र पार्टी अधिवेशन सँगसँगै लैजाने अभियानमा हामी अगाडि बढ्छौं,’ पौडेलले सेतोपाटीसँग भने, ‘क्रियाशील वितरण छिटो सकियो भने महाधिवेशनबारे टुंगो लाग्छ।’