नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरूद्ध अब आन्दोलनमा जानुपर्ने बताएका छन्।
आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै देउवाले अब आन्दोलनमा जानुपर्ने बताएका हुन्।
‘मैले पहिलेदेखि नै भन्दै आएको छु- प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख काम गरेका छन्। अब आन्दोलनमा जानुपर्छ।’
देउवाले यसअघि प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा रहेकोले अदालतलाई तर्साउने तथा धम्क्याउने काम पार्टीले गर्न नहुने बताउँदै आएका थिए।
आइतबारको केन्द्रीय समिति बैठकमा भने देउवाले आन्दोलनका पक्षमा आफूलाई प्रस्तुत गरे।
सभापति देउवा नै आन्दोलनका पक्षमा उभिएपछि कांग्रेस केन्द्रीय समितिले आन्दोलनको तालिका नै बनाएको छ।
कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
‘माघ ३ गते ७५३ स्थानीय तहमा र माघ ८ गते ६ हजार सात सय ४३ वडाहरूमा प्रदर्शन गर्ने निर्णय भएको छ,’ थप कार्यक्रमबारे पौडेलले सेतोपाटीसँग भने।
यसबाहेक जिल्लाहरूले पनि केन्द्रले निर्धारण गरेको कार्यक्रमसँग नजुध्ने गरी थप आन्दोलनका कार्यक्रम गर्न सक्ने केन्द्रीय समितिले निर्णय गरेको छ।
आजको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बोलेका थिए।
उनीहरूले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध आन्दोलनमा जानुको अर्को विकल्प नहुने भएकोले आन्दोलनका कार्यक्रम घोषणा गर्न दबाब दिएका थिए।
यसअघि पूर्वमहामन्त्री सिटौलाले शनिबार सभापति देउवालाई भेटेर आन्दोलनमा जानुपर्ने बताएका थिए।
एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला नै आन्दोलनमा जानुपर्नेमा रहेकोले सभापति देउवा बाध्य भएर आन्दोलनका कार्यक्रम ल्याएका छन्।
यसअघि कांग्रेसले गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेका थिए।
त्यसको दुई दिनपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाए पनि चरणवद्ध आन्दोलनमा जान ठोस निर्णय गर्न सकेको थिएन।