प्रधानमन्त्री केपी शार्मा ओलीले गरेको संसद विघटन र चुनाव घोषणा देशलाई पुनः स्थायित्व दिने प्रयास भएको खानेपानी मन्त्री मणिचन्द्र थापाले बताएका छन्।
मंगलबार वीरेन्द्रनगरमा पत्रकासँग कुरा गर्दै मन्त्री थापाले प्रधानमन्त्रीको उक्त कदमले देशलाई स्थायित्व दिने दाबी गरेका हुन्।
देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनमाझ चुनावमा जानुका विकल्प अब नरहेको बताए।
‘हामी मात्र होइन जनतामाझ चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘राजनीति शास्त्रको सिद्धान्त अनुसार सरकार वा प्रणाली संकटमा पर्यो भने जनतामाझ जानुपर्छ, अहिले हाम्रो सरकारले चालेको कदम अग्रगामी छ।’
प्रधामन्त्रीले गरेको असंवैधानिक विघटनपछि विभाजनको बाटोमा हिँडेको नेकपाको विषयमा मन्त्री थापाले पार्टी विभाजन नहुने दाबी गरेका छन्।
उनले आगामी निर्वाचनमा जानेगरी अहिलेका अलग–अलग समूह एकतामा जाने दाबी उनले गरे।
‘हाम्रो पार्टी विधिवित रूपमा फुटेको छैन, आगामी निर्वाचनमा हामी एक भएर जनतामाझ जान्छौं,’ मन्त्री थापाले भने।
ओली समूहले अहिले नेता तथा कार्यकर्ताहरूलाई प्रदेशमा दिइएको जिम्मेवारी अनौपचारिक भएको बताए।
ओली समूहमा कर्णाली प्रदेशको इञ्चार्जको समेत जिम्मेवारी पाएका मन्त्री थापाले आफ्नै भूमिका समेत अमूर्त रहेको बताए।
‘अहिले पार्टीमा निम्तिएको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापन गर्न मलाई यो जिम्मेवारी दिइएको हो,’ उनले भने, ‘अहिलेलाई मलाई इञ्चार्जभन्दा पनि संयोजन गर्ने काम दिइएको हो।’
प्रदेश तहमा सरकार फेरबदलको बारेमा कुनै छलफल नै नभएको पनि मन्त्री थापाले बताए।
‘यदि प्रधामन्त्री ओलीले पार्टी फुटेको घोषणा गर्नुभयो भने के हुन्छ, तर प्रदेश सरकारबारे अहिले नै केही भन्न सकिँदैन,’ उनले भने।
प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा संसद विघटन गर्दा प्रचण्ड–नेपाल समूहका केही मन्त्रीहरूले राजीनामा दिएपछि विस्तार गरिएको मन्त्रिपरिषदमा थापाले खानेपानी मन्त्रीको जिम्मेवार पाएका छन्।
उनी मंगलबार जाजरकोटमा आयोजना गरिएको ओली समूहको भेलालाई सम्बोधन गर्न आएका हुन्।