प्रदेश सभा स्थापना भएपछि संविधान र कानुनले व्यवस्था गरेअनुसार यसअघि विशेष अधिवेशन आह्वान भएको थिएन।
समसामयिक विषयमा छलफल गर्न भन्दै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएर विशेष अधिवेशन आह्वान गर्न माग गरे।
कानुनी व्यवस्था अनुसार नै प्रदेश प्रमुखले प्रदेश सभाको बैठक बोलाए। जुन मंगलबार सुरू भएको छ।
प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘यो पहिलो प्रयोग हो, जनताका साझा मुद्दालाई संकल्पका रूपमा अघि बढाऔं।’
नेपालीले प्रधानमन्त्रीले अस्वभाविक, अलोकतान्त्रिक, जनताको भावना, संविधानको मूल्यमान्यता र अक्षरको विपरीत प्रतिनिधि सभा विघटन गरेको बताए।
संविधानले नदिएको कुरा प्रधानमन्त्रीले प्रयोग गरेको भन्दै नेपालीले सर्वोच्चले लोकतन्त्र र संविधानको पक्षमा निर्णय दिनेमा आफूहरू ढुक्क रहेको बताए।
संघीय सरकारमा भइरहेको घटना प्रदेशमा हुन नहुने उनले बताए।
‘अब हाम्रो २ वर्ष अवधि छ, केन्द्रको नजिर मानेर त्यस्तो कदम प्रदेशमा चालिने छैन’, उनले भने, ‘त्यो रोगबाट प्रदेशमुक्त हुनुपर्छ।’
नेपालीले संघीयताविरूद्ध आवाज उठेको भन्दै प्रधानमन्त्रीले त्यसलाई मलजल गरेको आरोप लगाए।
उनले जनसरोकारका विषयमा बोलाइएको विशेष अधिवेशनबाट सबै मिलेर साझा संकल्प गर्नुपर्ने बताए।
कोरोनाको उपचारमा जिल्ला जिल्लामा सर्वपक्षीय अनुमगन गर्ने र कमजोरी सच्याउने भने पनि आफूहरूको प्रस्ताव सरकारले नमानेको उनको भनाइ छ।
बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले इतिहास चौरिएको दाबी गरे।
‘इतिहास कहिलेकाहीँ दोहोरिन्छ भनेर सुनेका थियौं, पढेका थियौं’, उनले भने, ‘तर नेपालको इतिहास त चौरियो।’
गण्डकी प्रदेश सरकारलाई समर्थन गरिरहेको जनमोर्चाका सांसद थापाले प्रधानमन्त्री ओलीको कदमको भने खुलेर विरोध जनाए।
‘हिजो राजा ज्ञानेन्द्रले प्रतिगमन गरे, हामीले त्यसको विरोध गर्नुपर्यो, हिजो गिरिजाले संसद विघटन गर्नुभयो, मनमोहनजीले गर्नुभयो’, उनले भने, ‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्नुभयो, यो राम्रो काम होइन।’
यसले सामन्तवाद र साम्राज्यवादीलाई फाइदा पुगेको भन्दै उनले उक्त शक्तिले नेपाललाई अस्थिर बनाउन चाहेको दाबी गरे।
प्रधानमन्त्री ओलीले चालेको कदम सच्चिनुपर्ने उनले बताए।
‘यो प्रतिगमन सच्चिनुपर्छ, निर्वाचित जनप्रतिनिधि विघटित हुनु हुँदैन’, उनले भने, ‘राणा, पञ्चायतजस्ता निरंकुशताहरू हामीले माटोमा मिलाएका छौं, जुन हेक्का राख्नुपर्छ।’
थापाले दुई तिहाइ जनमत ल्याएको पार्टीले ५ वर्ष सरकार चलाउन नसकेको भन्दै ‘अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्ने उखान चरितार्थ भएको बताए।
प्रदेश सभाको विशेष अधिवेशन बोलाउने अर्को दल जनता समाजवादी पार्टी गण्डकीका संसदीय दलका नेता हरिशरण आचार्यले ४ वटा विषयमा छलफल गर्न अधिवेशन बोलाएको बताए।
उनका अनुसार, कोरोना भाइरसको महामारी, कोरोनाले थिचिएको अर्थतन्त्र, बेरोजगारी र बढ्दो महँगीका विषयमा छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको हो।
तर प्रदेश सभाको बैठकमा दलहरूले तोकिएका एजेण्डाभन्दा फरक एजेण्डालाई जोड दिए।
बदलिँदो राजनीतिक परिस्थितिका बारेमा उनीहरूले आ-आफ्नो धारणा राखे। बैठकमा बोल्दै जनता समाजवादीका नेता आचार्यले राजावादी सल्बलाएर हिँडेको बेला प्रधानमन्त्रीले चालेको संसद विघटनको कदमबीच तादत्म्य हुन सक्ने आशंका गरे।
‘देशलाई अस्थिरतातिर लैजाने को हुन् ?,’ उनले भने, ‘प्रमाण जनताको बीचमा ताजा छ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नभएकै कारण अहिलेको राजनीतिक घटना भएको उनले बताए।
‘चुनावले विपक्षीलाई बहुमत ल्याउने बाटो खोल्यो’
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताए।
उनले २०४८/०४९ र २०५७/०५८ मा भएको संसद विघटनको श्रृंखला अहिले भएको बताए।
त्यतिबेला गिरिजाप्रसाद कोइरालाको आफ्नै पार्टीका कार्यकर्ताले पुत्ला जलाएको भन्दै गुरूङले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई महत्वपूर्ण अधिकार हुने दाबी गरे।
‘म लेनदेनमा फस्दिनँ, सौदाबाजीमा गर्दिनँ भनेर प्रधानमन्त्रीले जनतामा जाने भन्नुभयो’, उनले भने, ‘संसदीय फोहोरी खेल खेल्नुभन्दा जनताको बीचमा जानु लोकतान्त्रिक भन्छु मैले, यही परिस्थितिमा प्रतिनिधि सभा भंग भएको छ।’
प्रतिनिधि सभा भंग गरेर जनताको बीचमा जाने कुरा झनै लोकतान्त्रिक भएको उनको जिकिर छ।
‘अलोकतान्त्रिक यसकारण होइन कि, चुनाव लोकतान्त्रिक पार्टीका लागि जनताका बीचमा जाने र गल्तीको माफी माग्दै आगामी दिनका लागि प्रतिवद्धता जाहेर गर्ने ढोका प्रधानमन्त्रीलाई मात्र होइन, सबैलाई खुलेको छ’, उनले भने।
निर्वाचनले एउटा सिट पनि ल्याउन नसकेका दललाई पनि सिट ल्याउने अवसर पाएको भन्दै उनले भने, ‘एउटा पदको खोजीमा जहिले पनि सरकारलाई अप्ठ्यारो पार्ने व्यक्तिहरू ठिक हुन् कि प्रधानमन्त्री ठिक हुन् त्यो फैसला जनताले गर्ने हो, पार्टीले गर्ने स्थिति रहेन।’
निर्वाचनले प्रतिपक्ष दललाई बहुमत ल्याउने बाटो खेलेको उनले बताए। ‘प्रतिपक्षमा रहेका दलहरूले हिजो किन बहुमत प्राप्त गरेन’, उनले भने, ‘अब तिनलाई पनि बहुमत प्राप्त गर्ने बाटो खुल्यो।’
चुनावले नेतृत्वलाई सुध्रने अवसर दिने भन्दै उनले नेतृत्व विकास र हस्तान्तरणमा पनि चुनाव महत्वपूर्ण माध्यम भएको उनको भनाइ छ। चुनावलाई अलोकतान्त्रिक भन्ने मान्यता बोक्ने हो भने यसअघि जुन आदर्शका लागि लडेको त्यो आदर्शमाथि आत्मघात हुने उनको दाबी छ।
मन्त्रिपरिषद्ले गरेको सिफारिस हुँदैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको समेत उनले जिकिर गरे।
संसदमा ४६ प्रतिशत मतले प्रधानमन्त्री भएको व्यक्तिले काम गर्न नपाएर प्रतिनिधि सभा विघटन गर्नुपरेको भन्दै उनले बाँकी रहेका ३६ प्रतिशतले सरकार बनाउने सम्भावना नरहेको दाबी गरे।
‘६४ प्रतिशत जनमत प्राप्त दलका नेता त असफल भयो भने बाँकी ३६ प्रतिशतले गर्न सक्छ’, उनले भने, ‘त्यसैले प्रतिनिधि सभा विघटन असंवैधानिक होइन, विघटन नभइदियोस् भन्ने हामीले चाहेका थियौं, मेरो पनि चाहना थियो तर भयो।’
संसद विघटन भइसक्दासम्म नेकपा विभाजन भइनसकेको भन्दै उनले अझै मान्यता पाइनसकेको बताए।
‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउछु भन्ने मान्छेले त्यो मान्छे कसरी प्रधानमन्त्री बन्न सक्छ ?’ मुख्यमन्त्री गुरूङले भने, ‘प्रचण्ड प्रधानमन्त्री बन्छ भन्ने ग्यारेण्टी के छ ?’
यही कारण व्यवस्थालाई जोगाउन प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको उनले बताए।
मुख्यमन्त्री गुरूङले कोरोना भाइरसको उपचार गर्न, आर्थिक क्षेत्र चलायमान बनाउन गण्डकी प्रदेश सरकार अन्य प्रदेश भन्दा अगाडि रहेको दाबी गरेका थिए।