कलाकार मनीषा कोइराला मंगलबार राजधानीको एउटा 'गैरराजनीतिक' कार्यक्रममा सहभागी भइन्।
गैरराजनीतिक भनिएको अभियानमा उनी सहभागी भए पनि अन्य सहभागीले जमेर हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरे।
नेपाली कांग्रेसको 'लिगेसी' बोकेको कोइराला परिवारकी 'पब्लिक फिगर' मनीषाको उक्त कार्यक्रममा सहभागिता नै धेरैका लागि आश्चर्यको विषय बन्यो।
पृथ्वीनारायण शाहको जन्म जयन्ती पुस २७ लाई भव्य रूपमा मनाउने कार्यक्रममा उनको सहभागिताले राजतन्त्र पुनर्स्थापनाका पक्षधरलाई हौसला मिलेको छ।
मनीषाले मञ्चबाट पनि संयमित र कूटनीतिक भाषण गरिन्।
'पछाडि के भयो बिर्सौं', कोइरालाले भनिन्, 'राष्ट्रिय एकता दिवसको मूल्यलाई सम्झिएर हामीले यो दिवस मनाउनु पर्छ।'
मनीषाले राजतन्त्र र हिन्दु राष्ट्रका विषयमा वक्ताहरूले बोलिरहँदा सहभागीले जस्तो ताली बजाइनन्। सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिएको छैन। मनीषा पृथ्वी जयन्तीलाई राष्ट्रिय मान्यता दिलाउने अभियानमा जोडिएकी हुन्।
कार्यक्रममा छोटो धारणा राख्दै उनले 'राजनीतिक अस्थिरता भए पनि देश अस्थिर बन्न नहुने' टिप्पणी गरिन्।
सडकमा हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको विषयमा नाराबाजी गर्नेहरूले पृथ्वी जयन्तीको पक्षपोषण गरिरहेका छन्। उनकै बुबा प्रकाश कोइराला पनि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरिरहेका छन्। तर मनीषाले कार्यक्रममा आफ्नो धारणा राख्दा न त हिन्दु राष्ट्र भनिन् न त राजसंस्था नै उच्चारण गरिन्।
मनीषा नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाकी नातिनी हुन्। उनका बुबा प्रकाश कोइराला पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन्। उनको कान्छो हजुरबुबा गिरिजाप्रसाद कोइरालाले २०६२/०६३ को आन्दोलनमार्फत् गणतन्त्र स्थापनाको नेतृत्व लिए।
उनका काका शंशाक कोइराला अहिले नेपाली कांग्रेस पार्टीको महामन्त्री छन्। शशांकले पछिल्लो समय हिन्दु राष्ट्रको विषयमा जनमत संग्रहको माग अगाडि सार्दै आएका छन्।
कार्यक्रममा केही नबोले पनि सेतोपाटीसँगको कुराकानीमा उनले जनमत संग्रहको विषय उप्काइन्।
राजनीतिक परिवारमा हुर्किएकी मनीषा पनि हिन्दु राष्ट्रको विषयमा 'जनताको मत' लिनु पर्ने धारणा राख्छिन् 'म चाहन्नँ चार पाँच वटा पार्टीले देशको भविष्य निर्धारण गरून् भन्ने चाहन्नँ', मनीषाले सेतोपाटीसँग भनिन्, 'म सबै जनताले बोल्नुपर्यो र लाग्नुपर्यो भन्नेमा छु।'
'त्यो भनेको जनमत संग्रहमार्फत् हो' भन्ने प्रश्नमा मनीषाले भनिन्, 'जनमत संग्रहमा सबै सहभागी हुनपर्छ पहिला। पाँच प्रतिशत दश प्रतिशत मत पाएर त्यहाँबाट बहुमत पाएर ... म त्यस्तो देख्दिनँ।'
हेर्नुस् मनीषासँगको भिडिओ कुराकानी:
पछिल्लो समय मनीषा कोइरालाले माइक्रो ब्लगिङ साइट ट्विटरमा राजनीतिक टीकाटिप्पणी गर्ने गरेकी छिन्। मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपालमा रहेका चिनियाँ शरणार्थीबारे उनले ट्विट गरेकी छिन्।
उनको बढ्दो राजनीतिक चासो र टिप्पणीले कतै कोइराला राजनीतिमा आउन लागेको त हैन भन्ने धेरैलाई लागेको छ। उनका गतिविधिले पनि विस्तारै उनी राजनीतिमा आउने संकेत गरिरहेको छन्।
मनीषा भने 'अहिल्यै राजनीतिमा आउने सोच नरहेको' बताउँछिन्।
'पोलिटिक्समा आउनु छ भने म हजुरबुवाले खोलेको पार्टी छ, उतै जाउँला', मनीषाले सेतोपाटीसँग भनिन्, 'तर अहिले पोलिटिक्समा आउने केही सोच छैन। म कलाकार हो। म राजनीतिक परिवारमा भएकाले समाचार पढ्छु। अनि विषयको गम्भीर्यता देखेर सबैलाई सजग बनाउने कोसिश गर्छु।'
मनीषालाई पृथ्वी जयन्ती मनाउँदा एकात्मकताले बढावा पाउने मान्दिनन्।
'नेपालजस्तो पुरानो देशमा विभिन्न संस्कृति र भाषा छन्। सबैको मान र ठाउँ हुनुपर्छ। तर 'कमन' भाषा र 'ग्राउण्ड' हुनुपर्छ। त्यो उहाँले (पृथ्वीनारायण शाह)ले बताउनु भएको छ। त्यसलाई मान्न के खराबी छ?' मनीषा पृथ्वीनारायण शाहको फोटो नेपालको नोटमा राख्नु पर्ने पक्षमा छिन्।
'जसले हाम्रो देश बनायो। जसले नेपाली बनाइदियो। गर्व गरेर बाँच्न पाएका छौँ। त्यो पहिचान दिएर संसारभरि चिनाए। राष्ट्र निर्माताको फोटो त हुनुपर्यो नि,' उनले भनिन्।