नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीलाई हँसाएको बताएका छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको संसद विघटनको घटनाको टिप्पणी गर्दै भट्टराईले उक्त कुरा बताएका हुन्।
‘कमरेडहरूको सपनामाथि गम्भीर प्रहार भएको छ, प्रतिक्रियावादी, कतिपय बाह्य शक्ति हाँसेका छन्’, उनले भने, ‘प्रतिक्रियावादीलाई हँसाउने आफ्नालाई चिन्तत र रुवाउने यो कस्तो निर्णय ?,’ उनले प्रतिक्रियावादी दु:खी हुनुपर्नेमा हाँसेको बताए।
संसद विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिक्रान्ति गरेको भट्टराईले आरोप लगाए।
‘जब जनताका अधिकारमा कुठाराघात हुन्छ त्यो हो प्रतिक्रान्ति’, उनले भने, ‘प्रधानमन्त्रीले संविधानलाई कुठाराघात गर्नुभएको छ, समावेशी लोकतन्त्रमाथि आक्रमण गर्नुभएको छ।’
संसद विघटनको घटनाले कोही पनि खुसी नभएको उनले बताए।
उक्त घटनाले समानतातिरको यात्रालाई धक्का दिएको भन्दै यस्तो प्रतिक्रान्ति र प्रतिगमनलाई वैधानिक र सडकमा शान्तिपूर्ण लडाइँबाट जित्ने दाबी गरे।
ओली मन्त्रिपरिषदका पूर्वपर्यटनमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीलाई इरानका बादशाहसँग दाँजे।
उनले प्रधानमन्त्री ओली दुई, तीन वर्षपछि पार्टीमा चाहेमा त्यतिबेला समयले साथ नदिने चेतावनी दिए।
‘इरानका बादशाहलाई जनताको आन्दोलनले बढारेर अमेरिका पुगेपछि भनेका थिए जतिबेला म देशमा थिएँ, मैले देश बुझिनँ, जतिबेला मैले देश बुझें, म देशमा थिइनँ’, भट्टराईले भने, ‘आज म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, जतिबेला तपाईं पार्टीमा हुनुभयो तपाईंले पार्टी बुझ्नुभएन, जतिबेला तपाईंले पार्टी बुझ्नुहुन्छ, त्यतिबेला तपाईंसँग पार्टी हुनेछैन।’
प्रधानमन्त्री ओलीको कदमलाई २०४६ सालयताका सबै महान्यायाधीवक्ता, वरिष्ठ अधिवक्ता कसैले पनि साथ नदिएको उनले बताए।
निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ ले गरेको व्यवस्था हेर्न उनले आग्रह गरे।
उक्त दफामा सम्बन्धित दलका केन्द्रीय समितिको बहुमत जता छ, नाम, झण्डा र चुनाव चिन्ह त्यही दलले पाउने प्रावधान भएको उनले उल्लेख गरे।
‘पुष्पकमल दाहाल र माधव नेपालको नेतृत्वमा भन्यौं ४४१ जना केन्द्रीय समितिमा ३१५ जना यहाँ छौं’, उनले भने, ‘गणितले प्रष्ट गर्छ कि चुनाव चिन्ह सूर्य र आधिकारिक पार्टी हामी हौं, कसैले आँखा लगाउँदैमा पाउँदैन।’
प्रधानमन्त्री ओलीको कदमलाई नेपाली सेनाले पनि साथ नदिने उनले दाबी गरे।
‘नेपाली सेना जहिले पनि विधिको शासन, लोकतन्त्रको पक्षमा उभिएको छ’, उनले भने, ‘सेनाले भन्नेछ अब सम्माननीय प्रधानमन्त्रीज्यू अब विश्राम लिनुस्, तपाईंलाई हामी बालुवाटारबाट बालकोट सिफ्ट गर्नेछौं।’
नेकपा निकट जनवर्गीय संगठनहरूको संयुक्त भेलालाई बुधबार पोखरामा सम्बोधन गर्दै नेता भट्टराईले उक्त कुरा बताएका हुन्।
सोही कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमटी सदस्य देवेन्द्र पौडेलले ओली समूहका नेता कार्यकर्तालाई आफ्नो समूहमा आउन आग्रह गरे।
समीक्षा गरेर फर्कन आग्रह गर्दै उनले सँगै बसेर आन्दोलनमा जान आह्वान गरे।
प्रधानमन्त्री ओलीले जसलाई पनि केन्द्रीय सदस्य नियुक्त गरेको उनले बताए।
‘केन्द्रीय सदस्य कति कति, जति जति पार्टी सदस्य त्यति’, उनले भने, ‘बाटोमा यता ठोक्किएनी, उता ठोक्किकएनी केन्द्रीय सदस्य।’
प्रधानमन्त्री ओली समूहले भ्रम फैलाउने काम गरिरहेको भन्दै उनले सचेत रहन आग्रह गरे। काम चलाउ बनेको प्रधानमन्त्रीले मन्त्री नियुक्त गरिरहेको भन्दै उनले लुकिचोरी ४५ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको बताए।
पौडेल नेकपा प्रचण्ड–नेपाल पक्षबाट गण्डकी प्रदेशका नवनियुक्त प्रदेश इन्चार्ज समेत हुन्।