नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पृथ्वीजयन्ती मनाउने निर्णयमा पुग्न सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन्।
लाज नमानिकन कांग्रेसले पृथ्वीजयन्ती मनाउनुपर्ने केसीले बताए। यो कुरा आइतबार देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ समारोहमा केसीले उठाएका हुन्।
गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए।
पुस २७ गते पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती छ।
यसै सन्दर्भमा केसीले पृथ्वीजयन्ती मनाउनुपर्ने कुरा सभापति देउवासमक्ष राखेका छन्।
आफूले पूर्वसभापति सुशील कोइराला र देउवा नै प्रधानमन्त्री भएका बेला पनि पृथ्वीजयन्ती मनाउन डेलिकेशन गएको केसीले स्मरण गरेका छन्।
‘लाज नमानिकन कांग्रेसले पृथ्वीजयन्ती मनाउनुपर्छ,’ केसीले भने, ‘विरोध हुँदाहुँदै पनि २०७४ सालमा पृथ्वीजयन्ती मनाउन म नुवाकोट गएको थिएँ।’
नुवाकोटमा पृथ्वीनारायण शाहको शालिक छ।
केसीले थपे, ‘म विनम्रतापूर्वक सभापतिलाई आग्रह गर्छु- पृथ्वीजयन्ती मनाऔं। यसले इतिहासमाथि सम्मान हुन्छ। कांग्रेसमा यसले राष्ट्रवादी चरित्र पनि देखाउँछ। पार्टीमा एकता कायम पनि गर्छ। पार्टीमा सबैलाई अटाउने नयाँ यात्रा सुरू गरौं।’
केसीका कुरा सुनिरहेका सभापति देउवाको बोल्ने पालो केहीबेरमाआयो।
देउवाले पृथ्वीजयन्ती मनाउन अहिलेको अवस्थामा नसकिने भन्दै केसीको प्रस्ताव अस्वीकार गरेका छन्।
‘राजा आऊ देश बचाऊ भनेका बेला पृथ्वीजयन्ती मनाउन सकिन्न,’ केसीलाई देउवाको जवाफ छ, ‘यस्तो बेला पृथ्वीनारायण शाहको शालिकमा माला लगाउन सकिन्छ? त्यस्तो कुरा नगरौं।’
केही समयअगाडि काठमाडौंलगायत देशका विभिन्न सहरमा राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै प्रदर्शन भएको थियो। देउवाले त्यस प्रदर्शनतर्फ संकेत गर्दै यस्तो बेला पृथ्वीनारायणको शालिकमा माला लगाउन नसकिने बताएका छन्।