नेपाली कांग्रेसमा २०७२ सालमा १३ औं महाधिवेशन हुँदा कृष्णप्रसाद सिटौला सभापति उठे। पहिलो चरणको मतदानबाटै उनी बाहिरिए। दोस्रो चरणमा चुनावमा उनले शेरबहादुर देउवालाई साथ दिए। रामचन्द्र पौडेललाई हराएर देउवा सभापति बने।
चुनावमा देउवालाई साथ दिए पनि सिटौलाले पार्टीभित्र भिन्न समूह भने अहिलेसम्म क्रियाशील राखेका छन्। कांग्रेसभित्र सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौला पक्ष देखिन्छ।
सिटौलासँग सेतोपाटीले समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसको १४ औं महाधिवेशनबारे केन्द्रीत रहेर गरेको अन्तर्वार्ता:
प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गरेपछि आन्दोलनमा जान सभापति देउवालाई तपाईंले मनाउनु भएको हो?
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको अवस्थामा म कोरोनासँगको लडाइँमा थिए। अस्पतालमा उपचार गराइरहेको थिएँ।
अस्पतालमै हुँदा सभापतिजीले मलाई फोन गर्नुभएको थियो। म बिरामी थिएँ भेट्न आउन मिल्दैनथ्यो। त्यसबेला मैले प्रधानमन्त्रीको कदम असंवैधानिक र लोकतन्त्रविरूद्ध भनेको थिएँ। यसबाट बचाउनु पर्छ भनेको थिएँ। उहाँले ठिकै हो भन्नुभएको हो। केन्द्रीय कार्यसमिति बैठक राखेर प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक भनेर विरोधका कार्यक्रमसमेत आइसकेका छन्।
केही दिनपछि म अस्पतालबाट डिस्चार्ज भएँ। डिस्चार्ज भएको भोलिपल्ट केन्द्रीय समिति बैठकमा गएँ।
सभापति देउवा नेकपा विभाजन भए चुनावमा गएर फाइदा लिने पक्षमा हुनुहुन्छ भनिन्छ नि! हो?
निर्वाचन हुने परिस्थितिमा पो तपाईंको प्रश्नबारे सोच्न सकिने कुरा हो। मलाई निर्वाचन गराउने सरकारको तयारी छ जस्तो लाग्दैन। हेर्दै जानुहोला। चमत्कार केही भयो भने त्यसबेला सोचौंला। तर त्यस्तो चमत्कारिक घटना हुने पनि मैले देखिरहेको छैन, निर्वाचनका सन्दर्भमा।
यसबेला सभापतिले यसबाट फाइदा लिन खोजे वा खोजेनन् भन्नेतर्फ केन्द्रीत भएर म अहिले बहस गर्न चाहन्नँ। अहिले देशको राजनीतिक व्यवस्था संकटउन्मुख भयो। संकटबाट बचाउने ठूलो दायित्व र नेतृत्व लिनुपर्ने नेपाली कांग्रेसको काँधमा छ।
उसो भए कांग्रेसले निर्वाचन तयारी भने गरिरहेकै छ?
कांग्रेसका कुनै नेताले वा व्यक्तिले प्रेस वा बाहिर पब्लिकसँग बोल्दा उसको प्रस्तुति उसको आफ्नो शैली हो। कसैले हाम्रा नेतालाई सोध्ला निर्वाचन भयो भने के गर्छौं? स्वतन्त्र र निष्पक्ष निर्वाचन भएमा भाग लिन्छौं कसैले भन्ला। तर त्यही भनेका आधारमा कांग्रेस पार्टीले संसद विघटनलाई उचित ठहर्यायो भन्छ भने त्यो पनि मुर्खतापूर्ण विश्लेषण हुन्छ। केन्द्रीय समितिले असंवैधानिक र अलोकतान्त्रिक भन्नुको अर्थ अदालतलाई सदर गर भनेको त होइन नि!
तर कांग्रेसका निर्णयमा कहीँ पनि प्रतिनिधि सभा पुनर्स्थापना भन्ने शब्द छैन, किन?
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा छ। यो असंवैधानिक छ भनिसकेपछि धेरै शब्द जोडिराख्न किन आवश्यक पर्यो र? परेन। साथीहरूले बाहिर बोल्दा भइहाल्यो। असंवैधानिक छ भन्नु नै प्रधानमन्त्रीको कदम बदर होस् भन्ने हो।
कांग्रेस महाधिवेशनको समय पनि घर्किसक्यो। सरकारविरूद्ध आन्दोलन कि महाधिवेशन केमा केन्द्रीत हुन्छ कांग्रेस?
फागुनभित्रै महाधिवेशन गर्न सक्नुपर्थ्यो गल्ती भयो। ढिलाइ भयो। वैशाखभित्र गर्न सक्ने कार्ययोजना बनाऔं भनेको केन्द्रीय समितिमा औपचारिक रूपमा प्रस्तुत भएन।
अहिले राजनीतिक अन्यौल छाएको छ। यसको चिरफार पहिले हुनुपर्यो। यो अन्यौलको चिरफार नभइकन महाधिवेशनको मिति तोक्न निकै विवादास्पद विषय बन्न सक्छ। यतिबेला पार्टीभित्र धेरै विवाद खडा गर्नुपर्ने होइन भन्ने मलाई लाग्छ।
महाधिवेशन अब कहिले गर्ने त? वैशाखमा चुनाव पनि छ!
अहिले नै अनुमानका भरमा सबै कुरा भन्नु उपर्युक्त हुन्न। सबै विवेचना गर्न सकिन्न। ज्योतिषी बन्न सकिँदैन। आजको स्थितिको मैले मूल्यांकन गर्दा यो राज्य र सरकारको प्रयास प्रतिनिधि सभा पुनर्स्थापना हुन नदिने देख्छु। चुनाव तयारी हेर्दा चुनाव पनि हुन नदिने खतरा देखेको छु। अन्यौल हटोस् हामी महाधिवेशनमा प्रवेश गर्छौं।
नेकपा प्रचण्ड-नेपाल समूहले सँगै आन्दोलनमा जाऔं भनेको प्रस्तावलाई कांग्रेसले किन साथ दिएन?
नेकपाको आन्तरिक कलहको राम्रोसँग विवेचना गर्नुछ। पार्टीहरू कसरी अगाडि बढ्छन्। अहिले सडकमा प्रचण्ड-माधव नेपालको समूह पुगेको छ। भोलि कुन समूहले नेकपाको मौलिक नाम पाउँछ र चुनाव चिन्ह कसले पाउँछ त्यो हेर्न बाँकी छ।
प्रचण्ड-नेपाल, जसपा, नागरिक समाज र हामीले गरिराखेको आन्दोलन भोलिका दिनमा सडकबाट जोडिन सक्छन् अहिले किन हतार गर्ने? हामी सबै पार्टीका नेता संयुक्त रूपमा गएर आन्दोलन बलियो हुने पनि होइन। सडकमा अलगअलग रूपमा जाँदा आन्दोलन विकसित नहुने पनि होइन। त्यसैले आफ्नो-आफ्नो पार्टीले आन्दोलनलाई रचना गर्नुपर्छ।