नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूह प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गर्दै कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ।
यस्तो व्यहोराको पत्र प्रदेशसभामा दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
प्रचण्ड-नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको प्रचण्ड-नेपाल समूहले जनाएको छ।
दलको कुनै बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको अभियोग लगाउँदै उनीहरूलाई कारबाही गरिएको प्रदेशसभामा दर्ता भएको पत्रमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुख्यमनत्री शेरधन राईविरूद्ध प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको थियो।
लगत्तै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका थिए। त्यसपछि प्रचण्ड-नेपाल समूहले प्रमुख सचेतक लगायतलाई हटाएको घोषणा गरेको थियो। सोमबार मुख्यमन्त्रीसहितका नेताहरुलाई सांसदबाटै निलम्बन सिफारिस गरेको हो।