जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफूहरू राम र कृष्णसँग तुलना गरेका छन्। उक्त तुलना गर्नुअघि उनले माओत्से तुङको भनाई भन्दै प्रतिगामी शक्ति समाप्त नभएसम्म लडिराख्ने बताए।
‘माओत्से तुङ भन्ने गर्थे, प्रतिगामी तत्व समाप्त नभएसम्म गडबडी मच्चाइराख्छ, हामी पनि अधिकारका लागि लडिराख्छौं,’ उनले भने।
त्यसपछि उनले गीतामा रहेको संस्कृति श्लोक भने।
‘गीतामा श्रीकृष्णले भनेका थिए, समाजमा सज्जन पनि हुन्छ, दुष्ट राक्षसी प्रवृत्तिका अधर्मी पनि हुन्छन्’, उनले भने, ‘दैवी शक्ति भएका मानिसले सत्यका लागि लड्नुपर्छ।’
त्रेतायुगमा राम र रावणबीच संघर्ष भएको भन्दै उनले आफूहरू राम भएको बताए।
‘द्वापर युगमा कृष्ण र कंशका बीचमा लडाइँ थियो, अहिले कलियुगमा हाम्रो केपी ओलीसँग लडाइँ छ’, उनले भने, ‘ओली कंश हो, हामी कृष्ण, ऊ रावण हो, हामी राम।’
भट्टराईले यो लडाइँ निरन्तर चल्ने भन्दै हिम्मत नहार्न आग्रह गरे।
कोरोना महामारीका बेला ओलीले संसद विघटन गरेर आफूहरूलाई आन्दोलनमा जान बाध्य पारेको भट्टराईले बताए।
उनले गत निर्वाचनमा ओलीले नक्कली राष्ट्रवादको डंका पिटेर सोझा नेपालीलाई झुक्याएको आरोप लगाए।
जनता समाजवादी पार्टीले बुधबार पोखरामा आयोजना गरेको प्रतिनिधि सभा विघटनको विरोध कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको संविधान अपूर्ण रहेको बताए।
संविधान जारी गर्दा नै ‘मैले संविधान आधा खाली गिलास’ भनेको प्रसंग निकाले।
‘संविधान आधा खाली छ भन्नुको अर्थ विस्तारै भर्दै जाने हो’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था र पहिचान सहितको संघीयता भर्न यो संविधान जोगाउनुपर्छ।’
भट्टराई तत्कालीन संविधान सभाको संवैधानिक समितिका सभापति समेत हुन्।
उनले संविधान जारी गर्न धेरै पापड बेल्नुपरेको र संसदीय व्यवस्थालाई केही सुधार गरेर संविधान जारी गरेको बताए।
संसदीय व्यवस्थालाई सुधार गरेर प्रधानमन्त्रीले संसद भंग गर्न नपाउने व्यवस्था राखेको उनको तर्क छ।
भट्टराईले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओलीकै अवतार भने।
‘अमेरिकामा ओलीकै अवतार थियो, चुनाव हारेर पनि हारेकै छैन भन्ने’, उनले भने, ‘कब्जा गर्न गयो, तर सकेन।’
अमेरिकामा केही दिनअघि संसद भवनमा राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाएको होहल्लालाई इंगित गर्दै भट्टराईले उक्त कुरा बताएका हुन्।
अमेरिकामा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाएको भन्दै नेपालमा पनि संसद ब्युँताएर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भट्टराईलाई महाअभियोग लगाउनुपर्ने भट्टराईले बताए।
‘ट्रम्पको कार्यकाल ८ दिन बाँकी छ, यत्तिकै छोड्यो भने भोलि अर्कोले पनि यस्तै गर्छ भनेर त्यहाँ महाअभियोग लगाउन खोजिएको छ’, उनले भने, ‘नेपालमा पनि केपी ओलीको प्रतिगामी हर्कत गरेको छ, त्यतिकै छोड्नुहुँदैन।’
प्रतिनिधि सभा विघटन सच्याउन कांग्रेसले खुट्टा कमाएको भट्टराईले आरोप लगाए।
‘यो आदेश असंवैधानिक छ भनेर खारेज गर्न सक्छौं, हामीले डोनाल्ड ट्रम्पलाई झैं महाअभियोग लगाउन सक्छौं’, भट्टराईले भने, ‘कांग्रेसले खुट्टा कमाउन भएन।’
उनले प्रधानमन्त्री ओली हिटलरको बाटोमा हिँडेको समेत आरोप लगाए।
हिटलर केपी ओलीभन्दा पनि सामान्य परिवारबाट आएको र निर्वाचनबाटै सत्तामा पुगेको भन्दै उनले भने, ‘हिटलरले जे गरेको थियो, ओलीले पनि त्यही गरिरहेका छन्।’
भट्टराईले प्रचण्ड र माधव नेपालले पार्नी आन्द्रे कुरा गरेको आरोप लगाए।
‘मैले उहाँहरूको वक्तव्य हेरेको छु, सच्चिएर आए हुन्थ्यो, आत्मालोचना गरेर आए हुन्थ्यो जस्ता पानी आन्द्रे कुरा गर्नुहुन्छ।’
प्रधानमन्त्री ओलीले भारतसामु आत्मसमर्पण गरेर प्रतिनिधि सभा विघटनको प्रतिगामी कदम चालेको समेत भट्टराईले बताए।
‘परराष्ट्रमन्त्री भारत जाँदैछ, ठूलो हौवा दिएको छ’, उनले भने, ‘ठूलो राष्ट्रघात गर्दैछ, ठूलो अपराध गर्दैछ।’
ओली प्रवृत्तिलाई ‘पाकेटमार’ प्रवृत्ति भनेर भट्टराईले टिप्पणी गरे।
सोही सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले केपी ओलीले संसदमाथि खड्ग प्रहार गरेको बताए।
‘केपी ओली भनेर आफ्नो नामको खड्ग उहाँले लुकाउनुहुन्थ्यो, अहिले संसदको गर्धनमा प्रहार गर्नुभयो’, राईले भने।
संविधानमा हुँदै नभएको उट्पट्याङ धारा प्रयोग गरेर ओलीले संसद विघटन गरेको भन्दै जनताको आवाज प्रष्फुटन हुने ठाउँ बन्द गरेको बताए।
ओलीले काम गर्न दिएन भनेर संसद विघटन गरेको भन्दै उनले पार्टी भित्रको रिस संसदमा पोखेको बताए।
‘ओलीले घरमा के खान्छ, श्रीमतीसँग के बात मार्नुहुन्छ नेपाली जनताले के सरोकार’, राईले भने, ‘उसको पार्टीले काम गर्न दिएन भनेर बदलामा संसदको हत्या गर्न पाइन्छ ?’
प्रतिनिधि सभा भंग गरेर केपी ओलीले अपराध गरेको भन्दै उनले अहिले केपी ओली खलनायक भएको बताए।
प्रधानमन्त्री ओलीले चुनाव गराउन प्रतिनिधि सभा भंग नगरेको दाबी गर्दै उनले कांग्रेस भने चुनाव आउने भयो भनेर मख्ख परेको दाबी गरे।
‘कांग्रेसका नेता दुई वर्षपछि आउने चुनाव अहिल्यै आयो भनेर रमाएका छन्’, उनले भने, ‘वैशाखमा चुनाव भइहाल्छ, त्यसपछि त सत्तारोहण गर्न पाइन्छ भनेर कांग्रेस लागेको छ।’
तत्कालीन एमालेसँग एकता नगर्न प्रचण्डलाई आफूले दिएको सुझाव नमान्दा प्रचण्ड अहिलेको हालतमा आइपुगेको उनले बताए।
‘तपाईंहरू मिलेर चुनाव लड्नुस्, सत्तामा जान मन लागे संयुक्त सरकारमा जानुस् तर एकता नगर्नुस् भनेको थिएँ’, उनले भने, ‘त्यतिबेला भनेको मान्नुभएन, अहिले सडकमा हामी यहाँ छौं भन्नुभएको छ, तपाईंहरूको बस्ने ठाउँ त्यहीँ हो।’