नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ भएको उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनपछि संयुक्त आन्दोलनमा जानेमा केन्द्रीत थियो।
उक्त भेटमा सभापति देउवासँग कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि थिए।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि पार्टी अध्यक्ष ओलीलाई कारबाही गर्दै नेकपाका प्रचण्ड-नेपाल पक्ष भिन्न कार्यक्रम र ओलीविरूद्ध आन्दोलन गरिरहेका छन्।
ओलीले प्रतिनिधि सभा भंग गरेको झन्डै एक महिनामा प्रचण्ड-नेपाल र देउवाबीच कुराकानी भएको छ।
भेटमा सहभागी कांग्रेस नेता लेखकका अनुसार तीन नेताको भेटमा प्रतिनिधि सभा भंगको विषयमा नै मुख्य छलफल भएको थियो।
‘हिजो प्रचण्ड र माधव नेपाल सभापतिजीको निवासमा आउनुभयो। म पनि थिएँ,’ लेखकले सेतोपाटीसँग भने, ‘उहाँहरू (प्रचण्ड-नेपाल) ले प्रतिनिधि सभा पुनर्स्थापनामा बल गरूँ, पुनर्स्थापनाकै मुद्दामा केन्द्रीत भएर अगाडि बढौं भन्नुभयो।’
देउवाले के जवाफ फर्काए त?
‘सभापतिजीले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ, अदालतले जे निर्णय गर्छ त्यो हाम्रो पार्टीले मान्छ भन्दै आएका छौं भन्नुभयो,’ लेखकले भने।
देउवाले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख रहेको ठहर पार्टीले गरिसकेको प्रचण्ड-नेपाललाई सुनाए।
‘हामीले ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छौं। अदालतले जे निर्णय दियो त्यही मान्ने हो,’ देउवाको भनाइ थियो, ‘यसबारे थप केही कुरा मैले भन्न सक्दिनँ। पार्टीमा सल्लाह गर्नुपर्छ, हाम्रो केन्द्रीय समिति बैठक चलिरहेकै अवस्था पनि छ।’
प्रचण्ड र नेपालले ओली कदमविरूद्ध संयुक्त आन्दोलनमा जान प्रस्ताव गर्दै देउवाको सहयोग मागेका छन्।
‘उहाँहरूले हामी मिलेर जाऔं, संयुक्त संघर्ष गरौं र प्रतिनिधि सभा पुनर्स्थापनामै बल गरौं भन्नुभएको थियो,’ लेखकले भने, ‘हामी संयुक्त आन्दोलन गर्दैनौं, एक्लै विरोधका कार्यक्रम गर्छौं भनेर सभापतिले भन्नुभएको छ।’
प्रचण्ड-नेपालले अहिले प्रतिनिधि सभा पुनर्स्थापनादेखि नै संयुक्त आन्दोलनमा गएमा सत्ता र ढिलोचाँडो हुने चुनावमा पनि गठबन्धनलगायत प्रस्ताव देउवासँग राखेका छन्। तर यसबारे देउवाले खुलेर जवाफ दिन चाहेनन्।
‘प्रधानमन्त्री को बन्ने के गर्ने भन्नेजस्ता केही अफर आएका छैनन्,’ लेखकले भने, ‘हामीले कसलाई सहयोग गर्नेजस्ता केही निर्णय गरिसकेका छैनौं।’
देउवा अझै नेकपा सग्लो रहेको भन्नेमा छन्। त्यसैले नेकपाको कुनै पनि खेमासँग मिलेर जाने पक्षमा आफू अहिले नरहेको देउवाको भनाइ थियो।
ओलीविरूद्ध सँगै आन्दोलन गर्ने प्रचण्ड-नेपालको प्रस्तावलाई पनि देउवाले अस्वीकार गरे।
‘केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ। हामी आन्दोलनमा पनि गइसकेका छौं,’ लेखकले भने, ‘हामीले पुनर्स्थापना भनेका छैनौं, निर्वाचन पनि भनेको छैन। अदालतले जे भन्छ त्यो मान्छौं भनिरहेकै छौं। यही कुरा प्रचण्ड-नेपाललाई पनि सभापतिले भन्नु भएको हो।’
प्रचण्ड-नेपाल देउवाका तीन प्रष्ट अडान सुनेर फर्केको लेखक बताउँछन्।
पहिलो, ओलीको कदम असंवैधानिक भनेका छौं, अदालतको निर्णय मान्छौं।
दोस्रो, कसैसँग मिलेर पनि आन्दोलन गर्दैनौं। कांग्रेस एक्लै आन्दोलनमा गइसकेको छ।
तेस्रो, नेकपाको कुन खेमालाई सहयोग गर्ने भन्ने कुरा अहिले नै हामीले निर्णय गरेको छैन।
देउवा निवासमा ४५ मिनेट कुराकानी गरेर प्रचण्ड-नेपाल फर्केका थिए। बुधबार साँझ सवा छ बजेतिर पहिले माधव नेपाल र केहीबेरमा प्रचण्ड देउवा निवास पुगेका थिए।