रुकुम पश्चिमा आठबिसकोट नगरपालिकाको वडा नम्बर ९ मा पर्ने राडीबजारमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिचमले मंगलबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका निषेधाज्ञा घोषणा गरेको हो।
बजारको पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट बाहिर जान नपाउने र बाहिरबाट भित्र आउन समेत नमिल्ने गरी निषेधाज्ञा जारी गरिएको छ।
अनावश्यक रूपमा भेला भएर केही समूहले अवाञ्छित गतिविधि गरेकाले निषेधाज्ञा गरिएको प्रशासनको सूचनामा उल्लेख गरिएको छ।
राडीबजारमा केही समूहबीच भएको विवादले उग्र रूप लिएपछि मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायरिङ गरेको थयो।
प्रहरी चौकीमा पुगेको विवाद मिलाउने क्रममा चौकीमा नै केही मानिसले ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ध्रुब कुमार श्रेष्ठले बताए।
उनका अनुसार स्थानीयको आक्रमणबाट ३ जना प्रहरी पनि घाइते छन्। विवादले उग्र रूप लिँदा भएको भएको झडपका कारण बजारमा मंगलबार दिनभर तनावग्रस्त बनेको थयो।