प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान पशुपतिनाथ मन्दिर गए। त्यहाँ उनले सवा लाख दीप प्रज्वलन गरे। विशेष पूजा (संकल्प) गरे।
पशुपति क्षेत्र विकास कोषका अनुसार प्रधानमन्त्री पशुपतिनाथ जाने पूर्वनिर्धारित कार्यक्रम थिएन। उनले आइतबार साँझमात्रै भनेपछि कोषले प्रधानमन्त्रीले गर्ने पूजाको चाँजो मिलाएको थियो।
कम्युनिष्टहरू भौतिकवादमा विश्वास गर्छन्, त्यसकारण धर्मकर्ममा धेरै कम्युनिष्ट नेताहरू असंलग्न हुने गरेका छन्।
नेपाली इतिहासमा पनि पशुपतिनाथमा गएर ‘संकल्प’ पूजा गर्ने ओली पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुन्। यसअघिका कुनै कम्युनिष्ट प्रधानमन्त्रीहरूले पशुपतिमा त परै जाओस्, मठमन्दिरमा गएर निजी पूजाआजा गरेको देखिँदैन।
पशुपतिमा गएर ओलीले गरेको पूजामा निजी आस्था कति छ एकिन छैन। यसमा राजनीतिक सन्देश भने प्रचुर मात्रामा छ। प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेका ओली त्यही राजनीतिक सन्देशलाई अघि बढाउने उद्देश्यले ‘विशेष पूजा’ गर्न प्रधानमन्त्री ओली पशुपति पुगेका हुन्।
पछिल्ला दिनहरूमा पूर्वीय दर्शन, पूर्वीय सभ्यता, संस्कार तथा रितिरिवाज जस्ता कुरामा ओलीले जोड दिने गरेका छन्। आफ्ना विचार-अभिव्यक्तिमा उनी पूर्वीय समाज र दर्शनको सन्दर्भ बारम्बर पस्किने गर्छन्।
यो दर्शन र संस्कारमा मात्र सीमित छैन। यसले धर्मको सीमालाई पनि छुने गरेको छ। केही महिनाअघि उनले राम नेपालमै जन्मेका हुन्, अयोध्या नेपालमै छ भनेर सार्वजनिक रूपमै दाबी गरिदिए।
धर्म र संस्कृतिलाई समाजको मूल आधार मान्ने एउटा महत्वपूर्ण तप्का छ। नेपालमा राजतन्त्र सकिएपछि त्यो तप्कालाई भरपर्दो नेतृत्व दिन कसैले सकेको छैन। राप्रपामाथि उक्त तप्काको भरोसा कमजोर हुँदै गएको पछिल्ला चुनावहरूले देखाएका छन्। ओली त्यही ‘कन्जरभेटिभ’ तप्कालाई आफूतिर तान्न चाहन्छन्। त्यही ध्येयका साथ प्रधानमन्त्री ओलीले आज पशुपतिनाथको ढोका ढकढक्याएका हुन्।
कम्युनिष्ट राजनीतिका विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘उहाँले आफू कम्युनिष्ट हैन र रहिनँ भन्ने सन्देश दिनुभएको छ। उहाँले विस्तारै धर्मनिरपेक्ष राज्यलाई हिन्दु बनाउँछु भन्न खोज्नुभएको हो।’
श्रेष्ठका अनुसार ओलीले कहिले अयोध्या र कहिले रामको प्रसंग निकालेर पनि आफ्नो कित्ता छुट्याइसकेका छन्।
‘राष्ट्रपति र प्रधानमन्त्रीले कुनै एउटा धर्मको हैन, सबै धर्मप्रति बराबर व्यवहार गर्छन्। यहाँ त्यो भइरहेको छैन,’ श्रेष्ठले भने।
लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाका अनुसार झापामा साँघुरो परिस्थितिमा खुकुरी उठाएर १४ वर्ष जेल बसेयता ओलीसँग राजनीतिक ‘पुँजी’ छैन। संसारका पश्चगामी र दक्षिणपन्थीहरूको लागि धर्म र अन्धविश्वास ‘नश्लीय राष्ट्रवाद’ हो। ओलीको हतियार पनि अहिले त्यही भएको संग्रौलाको दाबी छ।
‘सिद्धान्त र विचार केही नभएपछि खड्गप्रसादले ठोरीमा मौलिक रामको अविष्कार गरे। जतिबेला देशमा लकडाउन थियो, जनता डरले-भोकले बिनाकाम मरिरहेका थिए, त्यसबेला मन्दिर बनाउने योजना प्रारम्भ गरे,’ उनले भने, ‘अहिले पशुपतिनाथ मन्दिरको पूजा कम्युनिष्ट पश्चगमन र प्रतिक्रियावादको पछिल्लो कडी हो।’
संग्रौलाको विचारमा २०६२/६३ भन्दा अगाडिदेखि नै ओली पश्चगमन र प्रतिक्रियावादका पक्षधर हुन्। उनले ठूला-ठूला आँधीबेरीबाट उठेका परिवर्तनलाई साथ दिएका छैनन्। गणतन्त्रको आकांक्षालाई उनले ‘बयलगाडा’सँग तुलना गरे। उनले संघीयता र धर्मनिरपेक्षता मानेनन्।
‘जनमत र लोकतन्त्रमा विश्वास टुटेपछि संसारका सबै पश्चगामीहरू धार्मिक ढोङको अभिनय गर्छन्। त्यसका कुशल अभिनयकर्मी खड्ग ओली पशुपति दर्शनमा जानुको तात्पर्य पनि यही हो,’ संग्रौलाले भने।
प्रधानमन्त्रीको सचिवालयले भने ओलीले कुनै राजनीतिक सन्देश दिन नखोजेको र यो विशुद्ध पूजामात्रै भएको दाबी गरेको छ।
‘पशुपतिमा गएर पूजा गर्ने त हो, अरू के गर्ने हो र, के सन्देश दिएको भन्ने हो र?,’ उनका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, ‘देशी विदेशी पाहुना आएर पनि पूजा गरेकै हुन्छन्।’
प्रधानमन्त्रीनिकट नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने विश्व शान्ति र कल्याणका लागि प्रधानमन्त्रीले पशुपतिनाथमा पूजा गरेको बताए। उनले सांस्कृतिक सन्देश दिन पूजा गरेको बताए।
‘प्रधानमन्त्री कम्युनिष्टहरूको मात्र हैन, जनताको भावनाको पनि प्रतिनिधित्व हुनुपर्छ, सबै जनताको भावनाको कदर गर्ने दायित्व प्रधानमन्त्रीको हुन्छ,’ ज्ञवालीले भने।
प्रधानमन्त्रीले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेपछि त्यसको छिनोफानोबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। भोलि अदालतले संसद पुनर्स्थापना गरेमात्र गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जोगिने कतिपयले तर्क गरेका छन्।
नेकपा नेता अमृतकुमार बोहरा सिद्धान्त र आचरण नभएका कम्युनिष्टहरू पूजापाठ गर्दै हिँड्ने बताउँछन्।
'कम्युनिष्टहरू विज्ञान र तथ्यमा विश्वास गर्छन्। जोसँग कम्युनिष्ट सिद्धान्त र आचरण छैन, उनीहरू पूजापाठ गरी हिँड्छन्। ओली कम्युनिष्ट नेता भएर हिँड्नुभयो। त्यसैको जगमा उभिएर प्रधानमन्त्री हुनुभयो, उहाँसँग नीति, सिद्धान्त, जिम्मेवारी केही छैन। जनताप्रति उत्तरदायी पनि हैन,’ बोहरा भन्छन्, ‘कम्युनिष्ट त आफ्ना कमजोरी गम्भीरतापूर्वक सच्याउँछ। आत्मलोचना गर्छ। मन्दिर धाउँदै हिँड्दैन।’
निराशा र पराजित विचारको कारणले पनि पनि उनी पशुपतिमा गएर पूजापाठ गरेको हुनसक्ने बोहराले बताए।
‘विचार, शैली र आचारणबाट खस्केको मान्छेले जे पनि गर्छन्,’ बोहरा भन्छन्, ‘सत्य, तथ्य, विज्ञ, विज्ञान, विशेषज्ञ र बुद्धिजीवी एउटै भनिरहेका छन्। तपाईंले गल्ती गर्नुभयो भनेर, देउता त बोल्दैन। जवाफ पनि दिँदैन।’
नेकपा नेतृ पम्फा भुसालको भने फरक तर्क छ। आफूबाट भएका गल्तीको ‘क्षमा माग्न’ ओली पशुपतिनाथको ढोकामा पुगेको उनले बताइन्।
‘गणतन्त्रप्रति घात गरें भनेर क्षमायाचना गर्नुभएको होला, मेरो शुभकामना छ,’ उनले भनिन्।