वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको बहसमा दुई तिहाइ मतका लागि निर्वाचनमा जाने प्रधानमन्त्रीको जवाफलाई 'हिटलर पारा' को टिप्पणी गरेका छन्।
'संवैधानिक अंगमा नियुक्ति गर्न सकिनँ रे, अर्कोतिर दुई तिहाइ चाहियो रे', थापाले भने, 'दुई तिहाइ, दुई तिहाइ भनिरहनु भएको छ, यो अल्लि हिटलर पारा भो।'
उनले प्रधानमन्त्री ओलीले संविधान ऐन कानुनअन्तर्गत रहेर पोलिटिक्स गर्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीले संसद मारेको तर्क दोहोर्याए। यसअघि सोमबार पनि थापाले प्रधानमन्त्रीले संसद मारेको बहस गरेका थिए।
उनले प्रधानमन्त्रीको विघटन दुरूशायपूर्ण रहेको दाबी गर्न संवैधानिक परिषद्को सिफारिसलाई आधार बनाए।
'पुस ५ गते नै विघटन भयो। पुस ५ गते नै संवैधानिक अंगमा सिफारिस गरेर संसदमै पठाउनुभयो', थापाले भने, 'बिहान ऐन अन्तर्गत बैठक बसेको छ, बेलुका अध्यादेश अन्तर्गत बसेको छ। जसले ४५ जनालाई संवैधानिक अंगमा सिफारिस गर्यो।'
उनले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको उपस्थिति भएको स्मरण गराए। सँगै 'संवैधानिक दायित्व' भएको उल्लेख गरे।
'हुन त प्रन्या पनि हुनुहुन्थ्यो, त्यो संवैधानिक दायित्व थियो', थापाले भने, 'त्यसमा एक्जुकेटिभको हात छ श्रीमान, जुडिसरीको हैन। यो सिफारिसमा लुकेको उद्धेश्य छ।'
उनले संविधानले अनियन्त्रित प्रधानमन्त्री नभई संसदप्रति उत्तरदायी प्रधानमन्त्री व्यवस्था गरेको समेत उल्लेख गरे।
‘न्याय धेरै स्पष्ट छ श्रीमान यो मुद्दा त झनै छ। हामी सबैको रिटर्न टिकट निश्चित छ श्रीमान हाम्रो पनि छ, संसद संस्थाहरूको पनि छ। यो सबै सकिनेवाला छ त्यसैले मनबाट न्याय होस्’, बहसका क्रममा उनले भने।
यो पनि :
वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस: प्रधानमन्त्रीलाई व्यंग्य, न्यायाधीशलाई तारिफ