लेखक सञ्जीव उप्रेतीसँग पाँच महिनाअघि टौदहमा हाम्रो भेट भएको थियो। प्राकृतिक दह मासिने गरी कंक्रिट संरचना बनाउने नगरपालिकाको तयारीबीच हामीले सञ्जीवसँग टौदह र उनको व्यक्तिगत सम्बन्धबारे कुराकानी गरेका थियौं।
शान्त स्वभावका सञ्जीव प्रकृति, पन्छी र पोखरीमा रमाउँछन्। टौदहमा हाँस हेर्दै बस्नु सबभन्दा प्रिय क्षण भएको उनी आफैं बताउँछन्। उनै सञ्जीव केही समययता नागरिक आन्दोलनमा सक्रिय देखिन्छन्। सोमबार त प्रहरीले हानेको पानीको फोहरा र लाठी पनि सामना गरे।
आखिर यी लेखकलाई आफ्नो शान्त स्वभावविपरीत नागरिक आन्दोलनमा होमिन कुन चेतले प्रेरित गर्यो?
'घनचक्कर' पछि दोस्रो उपन्यास 'हंस' प्रकाशित गरेका उनी पहिलेजस्तै चुपचाप लेख्न छाडेर सडकमा किन आए?
बुधबार अनामनगरको एक रेस्टुरेन्टमा कुराकानी गर्दा हामीले सबभन्दा पहिला यही प्रश्न सोधेका थियौं। उनी त्यति बेला पनि नयाँ चरणको नागरिक आन्दोलन निम्ति छलफलमा जान हतार गर्दै थिए।
'टौदहमा गएर चराहरू हेर्दा मैले धेरै संरचनात्मक परिवर्तन महशुस गरेँ। राज्य संरचनाले मान्छेहरू पनि धेरै दमनमा परेका छन्। हामी जो, जहाँ र जस्तो अवस्थामा भए पनि प्रतिगमनको शिकार भइरहेका छौं,' उनले नागरिक आन्दोलनमा लाग्नुको कारण खुलाउँदै भने, 'शान्त भएर प्रकृतिमा रम्न पाए त कति रमाइलो हुन्थ्यो नि! तर यी सबै देखिसकेपछि चुप बस्न सकिन्न रहेछ।'
उनले अगाडि भने, 'हामी जुन समाजमा बसिरहेका छौं, त्यो समाजप्रति हाम्रो उत्तरदायित्व रहन्छ। मेरो यो सहभागिता त्यही उत्तरदायित्व निर्वाह गर्ने कोशिस हो।'
सोमबार बृहत् नागरिक आन्दोलनमा सरिक हुँदा उनको दिमाग आफूजस्तै शान्त थियो। सोचेका थिए, शान्तिपूर्ण रूपमै टुंगिएला। मान्छेको उपस्थिति सोचेभन्दा बढी देख्दा त उनी झनै पुलकित भए। भाटभटेनीको पिपलबोटमुनि कार्यक्रम चलिरहँदा पनि शान्तिपूर्ण नै थियो। प्रहरीले सुरक्षाका नाममा लाठी र फोहरा हानेर दमन गरेपछि भने आन्दोलनको गति बिथोलियो।
त्यति बेला अग्रपंक्तिमा रहेका सञ्जीव पनि पानीको फोहरा र लाठीबाट बचेनन्। टौदहमा पानीसँग खेल्दै गरेका हाँस हेरेर मखलेल हुने सञ्जीव माघको ठिहिरोमा पानीले निथ्रुक्क भए।
'त्यस्तो बेला दिमागले सोच्ने समय नै पाउँदैन रहेछ,' त्यस दिनको घटना सम्झँदै उनले भने, 'आफ्नो ज्यान कसरी जोगाउँ? कता भागौं? साथीभाइहरू घाइते भए कि? फेरि आक्रोशमा ढुंगा हिर्काइरहेकाहरूलाई रोक्नुपर्यो। के गर्ने के गर्ने हुँदो रहेछ।'
'शान्तिपूर्ण आन्दोलनमा त्यस प्रकारको प्रहरी दमन अनावश्यक थिएन। प्रहरीले नै जाइलागेर हाम्रो भद्र अवज्ञा बिथोल्ने र त्यसमा आक्रोश थप्ने काम गर्यो।'
नागरिक आन्दोलनमा सञ्जीवको यस्तो सक्रियता पहिलोपटक होइन। २०६२/६३ को जनआन्दोलनमा पनि उनी कुनै न कुनै रूपले नागरिक आन्दोलनसँग आबद्ध थिए। प्रहरी आक्रमणबाट चोटपटक मात्र होइन, एक रात जेल बस्नुपरेको उनी बताउँछन्।
'२०६२/६३ को समय र परिवेश अहिलेभन्दा फरक थियो। सडकमा लाग्ने राजनीतिक नाराहरू फरक थिए। राजतन्त्र हटाएर लोकतन्त्र बहाली गर भन्ने नारा सुनिन्थ्यो,' त्यो समय र यो समय तुलना गर्दै सञ्जीवले भने, 'त्यो बेलाको आदर्श बोकेर महिला, दलित, सीमान्तकृत र लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउँदै देश अगाडि बढ्नुपर्ने ठाउँमा झनै पछाडि हटिरहेको छ। संसद ब्युँताउने मात्र हाम्रो कुरा होइन, समाजमा भइरहेका सबै किसिमका प्रतिगमनको विरोधमा हामी छौं।'
त्यो समयको चित्रण उनले आफ्नो पहिलो उपन्यास 'घनचक्कर' मा पनि गरेका थिए। उनले त्यसलाई 'पागलपन' को संज्ञा दिएका छन्। यो समय पनि उनलाई त्यस्तै लाग्छ।
'अधिनायकवादहरू उदाउने यो समय पागलपनको समय नभएर के हो त?' उनी प्रश्न गर्छन्, 'जो पहिलेदेखि संघीयताविरुद्ध थिए र जोसँग प्रगतिशील धारहरू थिएनन्, उनीहरू नै फेरि शक्तिको केन्द्रमा छन्। उनीहरूको बोली र जीवनशैलीमा अरूलाई हेप्ने, दमन गर्ने र मै हुँ भन्ने दम्भ देखिन्छ।'
'यहाँ मान्छेले उखानटुक्का भनेर मनोरञ्जन दिइरहेको छ, सबै जना उनको हँसिमजाकमा थपडी पड्काइरहेका छन्। यो पागलपनको संकेत नभएर के हो?' उनले भने।
अहिलेको नागरिक आन्दोलन कुनै पार्टीबाट परिचालित छैन। यसमा सबै किसिमका विचार र पृष्ठभूमिका मान्छे सहभागी हुन पाउँछन्। तर जसले लोकतन्त्रको मर्म बुझेको छ र जो सामाजिक न्यायमा विश्वास गर्छ, त्यस्ता मान्छे जोडिए राम्रो हुने उनको विचार छ।
'उसले प्रश्न गर्न सकोस् र सुन्न पनि। विरोध गर्न सकोस् र कोही मान्छेलाई अन्याय, अत्याचार भयो भने न्यायालयबाट न्याय पाउँछु भन्ने विश्वास पनि होस्,' उनले भने।
अहिले लेखक, कलाकार, व्यवसायी, विद्यार्थी लगायत विभिन्न पेसामा आबद्धहरू सरिक छन्। त्यसैले, आन्दोलमा भाषण र नारा मात्र होइन, कविता सुनाइन्छ, गीत गाइन्छ, नाटक देखाइन्छ, सिर्जनात्मक गतिविधिहरू हुन्छन्।
आफू आमनागरिकका रूपमा उपस्थित भए पनि लेखक वा कलाकारको परिचयले आफ्ना पाठक र प्रशंसकहरूसम्म दिन खोजेको सन्देश पुग्ने सञ्जीवको अनुभव छ।
'हामीले आफूसँग भएको शक्ति र पहिचान सदुपयोग गर्दै न्यायका विषयमा, सामाजिक मुद्दाका विषयमा सिर्जनशील भएर बुझाउनुपर्छ। समाजमा भइरहेका लोकतन्त्रविरोधी गतिविधिमा झक्झक्याउनुपर्छ,' उनले भने, 'म लेखक भएर लेखेर मात्र पुग्दैन, यस्तो विषयमा बाहिर आउनु, बोल्नु मेरो दायित्व हो।'
यो नागरिक आन्दोलनका केही सीमितता पनि छन्। देशमा परिवर्तन ल्याउने, कानुन ल्याउने सबै काम लोकतान्त्रिक दलहरूले नै गर्ने हो। अनि नागरिक समाजको जिम्मेवारी के त?
'हाम्रो काम उनीहरूलाई दबाब दिने,' सञ्जीवले भने, 'पार्टी र सरकार त हामी जनताको भोटले बनेका हुन्। उनीहरूलाई जनताप्रति उत्तरदायी बनाउनु हाम्रो जिम्मेवारी हो।'
सोमबारको बृहत् नागरिक आन्दोलन कमलपोखरीबाट सुरू भएको थियो। त्यस दिन संविधान र सम्पदा रक्षार्थ आ-आफ्नो ठाउँबाट लडिरहेका नागरिक समूहहरू एकठाउँ उभिएका थिए। उनीहरूले सम्पदामाथि भइरहेको अतिक्रमणको विम्ब कमलपोखरीमा माटोको टीका लगाए र संविधानमाथि भएको प्रतिगमनको विम्ब बालुवाटारतर्फ बढे।
कमलपोखरीको पछिल्लो अवस्था देखेर दिक्क लागेको बताउने सञ्जीव यसलाई सम्पदामाथि प्रतिगमनको पछिल्लो विम्ब मान्छन्। उनले नयाँ पत्रिकामा प्रकाशित आफ्नो लेखमा लेखेका पनि थिए, 'वास्तविक कमललाई सिमेन्टको कमलले विस्थापित गरेको समकालीन समयमा रैतीबाट नागरिक बन्न खोजिरहेका नरनारीहरू प्रश्न गर्ने र विरोध गर्ने क्षमता हराएर एकपल्ट पुनः रैती बन्दै जानेछन्।'
क्रंकिटको कमल फूल राख्नु आफैंमा हास्यास्पद भएको र यसले हामी कति कृतिम संसारमा रमाइरहेका छौं भनी चित्रण गरेको उनी बताउँछन्।
'हामी एउटा कुरा भन्छौं, अर्को गर्छौं। सरकार समाजवादको कुरा गर्छ, तर समाजवादी काम गर्दैन। लोकतन्त्रको कुरा गर्छ, तर आफ्नै नागरिकसँग डराउँछ। नागरिकलाई लाठी र पानीको फोहराले हिर्काउन खोज्छ। सामाजिक न्यायको कुरा गर्छ, तर सीमान्तकृत तथा महिलाहरूको हकअधिकारलाई खुम्च्याउँदै लैजान्छ,' उनले भने, 'यो वास्तविक समाजवाद हो कि कृत्रिम समाजवादको नाटक?'
'हामीले राज्यको दमन सहेर बस्ने कि विरोध गर्ने? सचेत नागरिक भएर बोल्ने कि चुप लागेर बस्ने?' नागरिक आन्दोलनमा आफ्नो सहभागिताको कारण खुलाउँदै सञ्जीवले भने।
यी पनि हेर्नुहोस्: