दलका नेताहरू पछिपछि, युवा अघिअघि।
तिनै युवा वक्ता, नेताजति सबै श्रोता। नागरिक अगुवाइमा आन्दोलन तर सबै दलका नेता कार्यकर्ताको सहभागिता।
प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापामा उनकै कदमविरूद्ध बिहीबार भएको नागरिक आन्दोलनको दृश्य हो यो।
पूर्वी नाका काँकडभिट्टामा भिन्नभिन्न पेशा व्यवसाय, राजनीतिक दल, संघ-संस्थामा आवद्ध नागरिकले आयोजना गरेको ‘प्रतिगमनविरूद्धको आन्दोलन’मा प्रधानमन्त्री ओलीको कदमको विपक्षमा रहेका दलहरू पनि सहभागी भएका हुन्।
तर, उनीहरूले यसपटक नाराबाजी पनि भिन्न ढङ्गले नै गरे।
कलेज पढ्ने युवा, सामाजिक संघ-संस्थाका प्रतिनिधि, शिक्षक, लेखक पत्रकार, व्यवसायी सबैको सहभागिता रहेको जुलुसमा दलका झन्डा बर्जित थिए।
‘प्रतिगमन मुर्दावाद’बाहेक सबै नारा जिन्दावाद र मुर्दावादको नारामुक्त थिए। काँकडभिट्टा नगर परिक्रमा गरेको जुलुसमा कवितात्मक शैलीका नारा गुन्जिएका थिए।
संविधानलाई कुल्चेर
नैतिकतालाई बिर्सेर
चुटकिला अझै जारी छ
जनतालाई दु:खको भारी छ।
काठमाडौंमा सीमित नागरिक आन्दोलनको फैलावट पूर्वी नाकासम्म आइपुग्दा उक्त आन्दोलनमा भएको दमनको पनि झापामा तीव्र विरोध भएको छ।
प्रदर्शनकारीले काठमाडौंमा भएको नागरिक आन्दोलनमा भएको दमनले प्रधानमन्त्रीकै जिल्लामा नागरिक आन्दोलन अपरिहार्य बनाएको बताए।
‘शान्तिपूर्ण नागरिक आन्दोलनमा बर्बर दमन गर्ने ओली सरकारको आततायी कदम पनि यो आन्दोलनको रचनागर्भ हो,’ आन्दोलनकारी युवाको अगुवाइ गरेका झापा मेचीनगरका सागर शिवाकोटीले भने, ‘तर, त्यहाँ दमन हुँदै गर्दा त्यसले देशव्यापी प्रतिरोध जन्माउनेतर्फ शासक सजग देखिएनन्।’
नागरिक आन्दोलनमा सहभागीहरूले प्रतिनिधि सभाको हत्या भएको र सच्याउन माग गरेका थिए।
लोकतन्त्र मास्न पाइन्न
जनमतको हत्या सहिन्न
नागरिकमाथिको दमन सहिन्न
खड्ग ओलीको अभिमान
हत्या भयो संविधान
प्रदर्शनकारीले प्रधानमन्त्रीको कदम सदर गर्ने राष्ट्रपति विद्यादेवी भन्डारीलाई पनि नारामार्फत प्रश्न गरेका थिए।
डगमगायो स्थायित्व
खै राष्ट्रपतिको दायित्व?
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि त्यसको विपक्षमा रहेकाहरूको एकीकृत आन्दोलनको माग उच्च छ।
तर, दलहरूले एक्लाएक्लै आन्दोलन गरिरहेका छन्। विघटनको कदमविरूद्ध एकीकृत आन्दोलनका लागि झापाको नागरिक अगुवाइ दलहरूलाई दबाब बन्ने झापा काङ्ग्रेसका उपसभापति राम कट्टेलले सेतोपाटीलाई बताए।
‘प्रतिगमनविरूद्धको आन्दोलनलाई एकीकृत बनाउनुको विकल्प छैन,’ उनले भने, ‘झापाबाट नागरिक अगुवाइमा एकीकृत आन्दोलन सुरू हुनु सुखद् छ।’
उनको जस्तै राय छ, नेकपा प्रचण्ड-नेपाल समूहका जिल्ला नेता डिल्ली घिमिरे र जसपा नेता ओमप्रकाश खापुङको पनि।
‘प्रतिगमनविरूद्ध एकीकृत र शसक्त आन्दोलनको आवश्यकता छ, मेचीनगरका युवाले दलहरूलाई झक्झक्याएका छन्,’ उनीहरूले भने।
आन्दोलनमा सहभागी धुलाबारी खानेपानी उपभोक्ता समिति अध्यक्ष अजय घिमिरेले अब आन्दोलन कुनै दलको मात्रै नभई नागरिक आवश्यकता भइसकेको बताए।
कार्यक्रममा वक्ताका रुपमा सम्बोधन गरेकी स्नातक तह पहिलो वर्षकी छात्रा संस्कृति रिजालले भनिन्, ‘मुलुक अब स्थिरतामा गयो, फेरि राजनीतिक आन्दोलन हुन्न भन्नेहरूले फेरि हामीलाई सडकमा आउन बाध्य पारे।’
हिजोका युवाले लडेर ल्याएको व्यवस्था र संविधान धरापमा परेपछि आफूहरू सडकमा आउन बाध्य भएको उनले बताइन्।
जम्मा दुई जना युवाले सम्बोधन गरेको कोणसभामा बोल्दै आन्दोलनका अगुवा सागर शिवाकोटीले प्रधानमन्त्री ओलीको कदम राजनीतिक, नैतिक र संवैधानिक हिसाबले पनि प्रतिगामी भएको र यो आन्दोलनबाट सच्याउन पर्ने उल्लेख गरे।