खाकी वर्दी लगाएका दुई जना सशस्त्र प्रहरीले दुईतिरबाट हात च्यापेर शुक्रराज शास्त्रीलाई टेकुको खरीबोट ल्याए।
त्यहाँ उनलाई फाँसी दिने तयारी हुँदै थियो।
शुक्रराजको अनुहारमा मृत्युको भय थिएन। कालो टोपी, सेतो भोटो, खैरो धोती र कालो फ्रेमवाला चस्मा लगाएका शुक्रराजले गर्विलो मुस्कान छर्दै आफ्नै हातले गलामा फाँसीको फन्दा पहिरिए।
'तानाशाही राणाहरूले मलाई ज्यानको सजाय सुनाएपछि मेरी सुत्केरी श्रीमती र भर्खरै जन्मिएकी छोरीलाई भेट्न पनि दिएनन्,' उनले भने, 'उपचार नपाएर दुवैको मृत्यु भयो। मभन्दा अघि नै उनीहरूले दर्दनाक मृत्यु भोग्नुपर्यो।'
मृत्युको मुखसम्म आइपुग्नुअघि पनि शुक्रराजको जीवन कष्टकरै बित्यो। राणा शासनविरूद्ध आवाज उठाएका उनी दुई वर्ष कडा नजरबन्दमा परे।
खरीबोटमा फाँसी दिन ल्याउनुअघि उनलाई नेल र हतकडी लगाएर तीनपटक सिंहदरबार ओहोरदोहोर गराइएको थियो। श्री ३ जुद्धशमशेरले भनेका थिए, 'माफी मागे ज्यान बक्सिस पाउलास्।'
निडर शुक्रराजले जवाफ दिए, 'बक्सिसको जिन्दगी मलाई बाँच्नु छैन। माफी माग्नुभन्दा मर्नु निको।'
गलामा फाँसीको माला पहिरिँदै शुक्रराजले त्यही कुरा दोहोर्याए, 'हरेक नेपाली नागरिकको हितमा संघर्ष गरिरहेको मैले त्यो तानाशाही जुद्धेसँग कसरी माफी माग्नु? मैले माफी मागेको भए सबै नेपाली र देशवासीको अपमान हुने थियो।'
१९९७ माघ १० गते, राति १२ बजे फाँसीको फन्दामा झुन्डिनुअघि शुक्रराजको बोलीमा जुन ओज थियो होला, त्यस्तै ओज सुनिन्थ्यो रंगकर्मी घिमिरे युवराजको बोलीमा। उनको आँखामा न भय थियो, न अनुहारमा त्रास।
यस्तो प्रतीत हुन्थ्यो, मानौं अहिलेको प्रतिगमनले शुक्रराज शास्त्रीलाई फेरि फाँसी चढाउँदैछ।
घिमिरे युवराज शुक्रबार अपराह्न दुई बजे टेकुको त्यही खरीबोटमा उभिएर असी वर्षअघि सहिद शुक्रराज शास्त्रीलाई दिइएको मृत्युदण्डको नाट्य रूपान्तरण देखाउँदै थिए। प्रतिगमनविरूद्ध जारी बृहत् नागरिक आन्दोलन क्रममा शिल्पी थिएटरले यो नाटक प्रदर्शन गरेको थियो।
लामो संघर्षबाट प्राप्त संविधान रक्षा गर्दै लोकतन्त्रमाथि फेरि घात हुन नदिन शुक्रराज शास्त्रीहरू घरिघरि फाँसी चढ्न तयार हुनुपर्छ भन्ने नाट्यकर्मीहरूको सन्देश थियो।
त्यस रात शुक्रराजलाई फाँसी दिने बेला पचली भैरवतिरबाट केही व्यक्ति राँको बालेर आएका थिए रे। त्यो देखेर सुरक्षाकर्मीहरू तर्सिएर भागेछन्। ती व्यक्ति विद्रोह गर्न आएका थिएनन्, पचलीमा भोज खाएर घर गइरहेका थिए। यो थाहा पाएपछि सुरक्षाकर्मीहरू फर्के। उनीहरूले त्यहाँ शुक्रराजलाई जस्तो छाडेर गएका थिए, त्यस्तै पाए।
त्यति बेला शुक्रराजले चाहेका भए भाग्न सक्थे। भागेका भए उनको ज्यान बच्न सक्थ्यो। यसले उनलाई गरिने सम्मानमा रत्तिभर कमी आउने थिएन। तर, उनले ज्यानको माया गरेनन्।
निरंकुश र तानाशाही शासकहरूबाट देश र नागरिकलाई मुक्ति दिलाउन उनी आफ्नो प्राण बलिदान गर्न तयार भए।
शुक्रराजको सम्झनाले केही बेर मञ्चमा सन्नाटा छायो।
नाटकमा शुक्रराजकी आमा बनेकी पवित्राले भनिन्, 'मेरो छोराले देश र जनताका लागि बलिदान दियो। छोराको बलिदान त्यसै खेर नजाओस्।'
असी वर्षमा बागमतीमा धेरै पानी बगिसक्यो। तर, समय-सन्दर्भ घुम्दै फिर्दै त्यही ठाउँ आइपुगेको छ, जब प्रतिगमनविरूद्ध घिमिरे युवराजजस्ता धेरैले शुक्रराज बन्नुपरेको छ र भन्नुपरेको छ, 'तानाशाही मुर्दावाद, लोकतन्त्र जिन्दावाद।'
'संविधान र लोकतन्त्र रक्षा निम्ति हामी सबैमा उस्तै निष्ठाको खाँचो छ, जुन सहिदहरूले देखाएका थिए,' रंगकर्मी घिमिरेको भनाइ छ।
सम्पदा अभियन्ता शैलेश शाक्यले शुक्रराजलाई झुन्ड्याइएकोबारे राजनीतिज्ञ प्रयागराज सुवालबाट सुनेको घटनाक्रम स्मरण गरे।
'त्यो समय यहाँ कुनै घरहरू थिएनन्। चारैतिर सन्नाटा थियो,' उनले भने, 'टेकुमा लाश झुन्डिएको छ भनेर भोलिपल्ट बिहान सहरभरि गाइँगुइँ हल्ला चल्यो। तर, कसैले हेर्न आउने हिम्मत गरेनन्। पछि एक जना बूढो मान्छे आएर लाशलाई हेर्यो र तीन चक्कर लगायो। अनि भन्यो, 'क्या बात, बेटा हो तो तुम्हारे जैसा।'
'ती व्यक्ति अरू कोही नभएर सहिद शुक्रराज शास्त्रीका बुवा थिए। शुक्रराजको घरमा त्यो बेला हिन्दी पनि बोलिन्थ्यो रे,' शैलेशले भने।
उनले शुक्रराजलाई सम्झिँदै नेपाल भाषामा गीत पनि सुनाए।
कार्यक्रममा लेखक नारायण ढकालले भने, 'शुक्रराज शास्त्री लेखक र नागरिक अधिकारका लागि लडेका मान्छे थिए। टोलटोलमा प्रवचन दिँदा सत्य र असत्य, धर्म र अधर्मका कुरा गर्थे, राज्य कस्तो हुनुपर्छ भन्नेमा जोड दिन्थे।'
अहिले देश त्यस्तै संकटकालीन समयबाट गुज्रनुपरेकाले पछिल्लो समय आफू रचनात्मक ऊर्जामा लाग्न नसकेको उनले बताए। भने, 'आन्दोलनमा मेरो ऐक्यबद्धता छ।'
कार्यक्रममा जुजुकाजी रञ्जित र पवित्रा कासाः ले नेपाल भाषामा गीत र रश्मिला प्रजापतिले नेपाल भाषामा मन्तव्य दिएका थिए।
कार्यक्रम सञ्चालिका एवं युवा नेता प्रकृति भट्टराईले आफ्नो बाल्यकाल, किशोरावस्था र युवावस्था देशको राजनीतिक उथलपुथलले अस्तव्यस्त भएको बताइन्।
'मेरो पहिलो स्मृति नै बम विस्फोट र परिवारहरू विस्थापित भएका घटनाबाट सुरू हुन्छ। मेरो बालापन त्यति बेलाको द्वन्द्वकालले लगिदियो। किशोरी हुँदा दोस्रो जनआन्दोलन भयो। सपना देख्नुपर्ने उमेरमा मैले नियमित रूपले स्कुल जान पाइनँ,' उनले भनिन्।
'देशले नयाँ संविधान पाएपछि अब त शान्ति र स्थिरता आयो होला भन्ठानेकी थिएँ। राष्ट्रपतिले रातो कभरको संविधान टाउकोमा ढोग्नुभएको मलाई अझै याद छ। तर, त्यो संविधानलाई आज एउटा फोहोरी जुत्ताले टेक्यो। त्यो देखेर मलाई रिस उठेको छ। मेरो युवावस्था फेरि त्यही संविधान र लोकतन्त्र बचाउन खेर गइरहेको छ।'
प्रतिगमनविरुद्ध आन्दोलनमा सहभागीहरूले 'डाइ इन प्रोटेस्ट' भन्दै एक मिनेट सडकमै लम्पसार सुतेर सहिदहरूको सम्झना गरेका थिए।
बृहत नागरिक आन्दोलन क्रममा माघ महिनाभरि सहिदहरूलाई सम्झने कार्यक्रम छ। यही १८ गते धर्मभक्त माथेमाको सम्झनामा उनलाई फाँसी दिइएको सिफलमा कार्यक्रम गरिनेछ भने २० गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानिएको शोभा भगवतीमा प्रदर्शन गरिनेछ।