रातको अन्धकारमा, १९९७ माघ १५ गते, बस्तीभन्दा टाढा सुनसान शोभाभगवती ल्याइपुर्याएपछि गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई उनीहरूको अन्तिम इच्छा सोधिन्छ।
गंगालाल भन्छन्, 'म स्नान गरेर मन्त्र पाठ गर्न चाहन्छु।'
दशरथ भन्छन्, 'मेरो अन्तिम इच्छा एउटै छ, राणा शासनको अन्त्य।'
दशरथको जवाफ सुनेर सेनाका कर्नेल रिसले मुर्मुरिन्छन्। उनलाई कलिला गंगालालप्रति भने दया जाग्छ। भन्छन्, ‘माफी मागिस् भने जीवन बक्सिस पाउँछस्।’
गंगालाल जवाफ दिन्छन्, ‘मैले माफी माग्नुपर्ने के गल्ती गरेको छु? माफी त तिमीहरूले माग्नुपर्छ, सारा नेपाली जनतासँग। तिमीहरूको अन्यायले जनताले धेरै दुःख पाइसके।’
सेनाका कर्नेल रिसले आगो हुन्छन्। उनी तत्काल दुवैलाई गोली हानेर मार्न आदेश दिन्छन्।
असी वर्षअघि राणाशाहीविरूद्ध आवाज उठाएर सहादत प्राप्त गरेका गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई सम्झँदै मंगलबार शोभाभगवतीमा शिल्पी थिएटरले नाटक प्रस्तुत गर्यो। प्रतिगमनविरुद्ध जारी बृहत् नागरिक आन्दोलन क्रममा प्रस्तुत उक्त नाटकको निर्देशन पवित्रा खड्काले गरेकी थिइन्।
नाटकमा गंगालाल र दशरथको चरित्र निर्वाह गरेका पात्रलाई उनीहरूको हुलियाले नै चिन्न सकिन्थ्यो। उमेरको भिन्नता त थियो नै, साथमा उनीहरूको भेषभूषा पनि फरक थियो।
गंगालाल नेवार पहिरनमा थिए भने दशरथले पहाडी लुगा लगाएका थिए। पहिरन भिन्नै भए पनि नाटकमा उनीहरूको भाषा एउटै थियो, नेपाली।
तर, के काठमाडौंका गंगालालले बोल्ने भाषा र बैतडीका दशरथले बोल्ने भाषामा उस्तै समानता थियो होला? उनीहरू एकअर्कासँग कुराकानी गर्दा कुन भाषा प्रयोग गर्थे होलान्? नेपाली, नेवारी वा अरू कुनै?
सहिदहरूको परिचयमा रहेको यो विविधता मंगलबारको बृहत् नागरिक आन्दोलनमा पनि देखियो, जहाँ नेपालीसँगै थारू, डोटेली, नेपाल, लिम्बू लगायत विभिन्न भाषाभाषीले आफ्नो प्रस्तुति दिएका थिए।
डोटेली भाषाका अभियन्ता अरूणदेव जोशीले आफ्नै भाषामा कविता सुनाए। कविताका केही हरफ यस्ता थिए:
‘ए मेरा बाबा ए मेरी इजा गोकुल्या कहाँ हो
चमलिया गाढ, उकुको महल, हिमाल अपी, खलंगा कहाँ हो
नेपाल जन्म्या, नेपालै बढ्या, मुई रैछु कहाँ को
ए मेरा बाबा, ए मेरी इजा दार्चुला कहाँ हो।’
के दशरथले बोल्ने भाषा यस्तै थियो होला?
‘दशरथ चन्द सुदूरपश्चिमको बैतडी जिल्लाको भएकाले उनी डोटेली भाषा बोल्थे,’ अरूणदेवले भने, ‘डोटेली बोल्न उनलाई सहज लाग्थ्यो, नेपाली बोल्न गाह्रो हुन्थ्यो। त्यसैले, उनी काठमाडौंमा कुराकानी गर्दा हिन्दी भाषा प्रयोग गर्थे रे।’
उनले अगाडि भने, ‘डोटेली भाषालाई अझै पनि नेपाली भाषाको आदिरूप र भाषिका मात्र मानिन्छ। खसबाटै बनेको भाषा पनि मानिन्छ, तर यो भिन्न छ।'
संविधान बन्दै गर्दा सुदूरपश्चिम निकै चर्चामा आए पनि उनीहरूको सरोकार केन्द्रसम्म पुग्न नसक्दा त्यहाँको भाषा, संस्कृति, मौलिक ज्ञान र इतिहासै गुम्ने अवस्था आएको उनले बताए।
उनले दसैंको उदाहरण दिँदै भने, ‘हाम्रो मुख्य चाड गौरा हो, तर हामीकहाँ सम्पूर्ण नेपालीको ठूलो चाड दसैं हो भनेर पढाइन्छ। पहिले मेरो गाउँमा दसैं मनाइन्नथ्यो, अहिले मनाइन थालेको छ।’
‘संघीयता आइसकेपछि प्रदेश सरकारले आफ्नो क्षेत्रका लागि केही गर्ला भन्ने आशा थियो, तर केही गरेन। सुदूरपश्चिमकै मान्छेले पनि धेरै कुरा गुमाएकाले संघीयता काम छैन भन्न थालेका छन्। पछिल्लो प्रतिगमन त्यस्तै सोचलाई बढावा दिने र संघीयताविरोधी प्रतिगमन पनि हो,’ उनले भने।
उनीझैं उर्मिला गम्बा थारूले थारू भाषामा कविता सुनाइन्। त्यस्तै, सुजन आङदाङ्बेले लिम्बू भाषाको गीत सुनाए भने जनवादी गायक प्रदीप देवानले पनि गीत गाए।
जनकवि दुर्गालाल श्रेष्ठ कार्यक्रममा उपस्थित नभए पनि उनको स्वरमा कविता सुनाइएको थियो। नेपाल भाषाको उनको एउटा कविताले दशरथ चन्द र राममाया च्यामिनीबीच भएको संवाद र अर्को कविताले सहिदहरूको सपनाको चर्चा गरेको छ।
कार्यक्रम सञ्चालक राजेन्द्र महर्जनले दुर्गालालका कविता अर्थ्याउँदै भने, ‘न धनी न गरिब, न माथिल्लो जात न तल्लो जात, सबै नेपाली समान हुने त्यो नयाँ दिन अवश्य आउँछ।’
सिंहदरबारभित्र बडारकुँडार गर्ने राममायाले गोप्य सूचना आदानप्रदान गरेर सात सालको क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको र त्यही आसय कवितामा व्यक्त भएको उनले बताए।
कार्यक्रममा कैलाश राईले इतिहास लेख्ने क्रममा पुरूषहरूलाई मात्र महत्व दिएको बताइन्।
‘इतिहास एकतर्फी लेखिएको छ। विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान गरेका महिलाहरूको नाम छुटेको छ,’ राईले भनिन्, ‘अझै पनि म महिला र जनजाति हुँ भन्ने अनुभूति राज्यले गराइरहेको छ।’
सन्तोष परियारले दलितका रूपमा राज्यबाट भोग्नुपरेको विभेदबारे चर्चा गर्दै भने, ‘विदेश जाँदा मलाई त्यो ठाउँ मेरो देशभन्दा प्यारो लाग्यो, किनभने त्यहाँ मेरो पहिचान सोँधिदैनथ्यो। अबको नागरिक आन्दोलनको उद्देश्य त्यो गलत इतिहास बदल्ने पनि हुनुपर्छ।’
नेवा: दबूका अध्यक्ष नरेन्द्र ताम्राकारले लोकतन्त्रमा पनि विभिन्न विकासका नाममा काठमाडौं उपत्यकाका रैथाने नेवारहरू लखेटिँदै आएको बताए।
'पशुपति गुरूयोजनाका नाममा होस् या काठमाडौंको सडक विस्तार वा फास्ट ट्रयाक, जहाँ पनि नेवारलाई लखेट्ने काम भइरहेको छ,' उनले भने, 'मेरो जातले गरेको मात्र ठिक, अरूले गरेको बेठिक भन्ने कुरा नागरिक आन्दोलनमा हुनु हुँदैन।'
‘हामी यहाँ थोरै छौं, तर सानो चिंगारीले पनि सिंगो जंगल भष्म गराउन सक्छ। सानो नागरिक आन्दोलनले प्रतिगमनलाई भष्म गराउन सक्छ। प्रतिगमनविरूद्ध सम्पूर्ण जनता गोलबद्ध हुँदैछ र यो प्रतिगमन सच्चिन्छ,’ उनले भने।
युवा अभियन्ता हिमान्सुले सहिदहरूकोे साँचो सपना पूरा नभएसम्म र जनता अधिकारसम्पन्न नभएसम्म नागरिक आन्दोलन जारी रहने बताए।
लेखक नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलमा बृहत् नागरिक आन्दोलनको घोषणापत्र जारी गरिने जानकारी दिए।
‘पहिले पनि प्रतिगमनविरूद्ध टुँडिखेलमा नागरिक आन्दोलन घोषणा भएको थियो। म यसै मञ्चमार्फत् आह्वान गर्छु, फागुन ७ गते काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ,’ वाग्लेले भने, ‘त्यही सभामा बृहत् नागरिक आन्दोलनको घोषणापत्र हामी सार्वजनिक गर्छौं र नयाँ जनआन्दोलनको उभार ल्याउँछौं।’
तस्बिर तथा भिडिओ: नारायण महर्जन र निशा भण्डारी/सेतोपाटी