नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेको आमहड्तालमा सडकमा अवरोध पुर्याउने एक सय २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले देशभरबाट एक सय २३ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताए।
'सडकमा अवरोध पुर्याउने तथा तोडफोड गर्नेहरूलाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ,' एसएसपी कुँवरले भने।
नियन्त्रणमा लिइएका मध्ये काठमाडौं उपत्यकाबाट मात्रै ७९ जना छन्।
उनीहरुमध्ये तोडफोड तथा आगजनी गर्नेहरूलाई बाहेक अरूलाई साँझसम्म छाडिने उनले बताए।
त्यस्तै तोडफोड तथा आगजनी गरेकाहरुको पहिचान गरी मुद्धा चलाउने तयारी गरिरहेको एसएसपी कुँवरले बताए।
काठमाडौंमा चार वटा सवारीसाधनमा ढुङ्गा प्रहार भएको छ। त्यस्तै एउटा ट्याक्सीमा आगजनी भएको छ। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
एसएसपी कुँवरका अनुसार देशभर कुल १० वटा सवारीसाधनमा तोडफोड गरिएको छ।
'प्रदर्शनकारीहरू चोकचोकमा आएर धर्ना दिने गरेका छन्। अहिले बिहान जस्तो अवरोध पुर्याउने अवस्था छैन,' उनले भने, 'गैर-कानुनी कृयाकलापमा संलग्नहरूलाई पक्राउ गरी मुद्धा चलाउँछौं।'
काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाहरुमा बिहानको भन्दा अहिले अवस्था सामान्य हुँदै गएको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएपनि अवरोध कम भएको बताए।
'ठिक छ अहिले, तोडफोड भएको छैन,' उनले भने।
काठमाडौंको चाबाहिल, कोटेश्वर, महाराजगन्ज, गोंगबुमा प्रदर्शन भइरहेको उनले बताए।
भक्तपुरमा कतैपनि अवरोध पुर्याउने तथा तोडफोड गर्ने कृयाकलाप नभएको प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले बताइन्। भक्तपुरबाट बिहान टायर बाल्न खोज्ने एक जनालाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी ललितपुरमा पनि अहिलेको अवस्था सहज नै भएको ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन्।
'शान्त नै छ, बिहान ४ बजेदेखि नै परिचालन गरिएको छ। ललितपुरका दुई ठाउँ- सातदोबाटो र पुल्चोकमा प्रदर्शन गर्नेहरु बसेका छन्,' उनले भनिन्।
उनीहरू बसेको ठाउँमा भने प्रहरीले झडप नहोस् भनेर डाइभर्जन गरेको छ।
गाडी तोडफोड तथा रोकिएको भन्ने खबर नभएको उनले बताइन्।
'पहिले भन्दा कम छ तर अवरोध पुर्याएको भन्ने छैन,' उनले भनिन्।