उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नारायणकाजी श्रेष्ठ आएपछि पूर्वमाओवादीको दुर्दशा सुरू भएको बताएका छन्।
धनगढीमा ओली पक्षीय पत्रकारहरूको भेलामा उनले नारायणकाजी पार्टीमा आएदेखि माओवादीका दुर्दशा सुरू भएको बताएका हुन्।
'नारायणकाजी आएपछि मोहन वैद्य छुटे, विप्लव छुटे। फुटमा नारायणकाजीको महत्वपूर्ण भूमिका छ,’ उनले भने।
उनले अहिले नेकपामा अन्तर संघर्षका कारण प्रचण्ड-माधवमा पद प्रतिको ईर्ष्यामात्र भएको दाबी गरे।
प्रचण्डले धनगढीमा आएर लेखराज भट्ट ओलीतिर गएपछि केही दिन निद्रा नलागेको बताएका थिए। त्यसको जवाफमा उनले आफ्नो पीरले भन्दा कुर्सीको यादले निद्रा नलागेको हुनसक्ने बताए। त्यस्तै निन्द्रा नपुगेर अस्वस्थ भएपछि प्रचण्डले बोल्ने पनि ठेगान नलागेको उनले बताए।
'आफैंले हिजो केपी ओली महान् हो, १४ वर्षे जेल बसेको, हामी बाहिरबाट लडेको उहाँ भित्रबाट लडेको भन्ने प्रचण्डले उनैलाई अहिले निरंकुश भन्ने?,' उनले भने।
प्रचण्डले १९ बुँदे आरोपपत्र नल्याएको भए प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरण गर्न तयार भएको भट्टले बताए। त्यस्तै प्रधानमन्त्री ओली बैठकबाट भागेको भन्दा पनि भगाइएको उनले बताए।
पार्टीका समस्या स्थायी समितिमा बसेर टुंगो लगाउन तयार भए पनि पहिल्यै विशेष अधिवेशनका लागि हस्ताक्षर पठाइएको, महाअभियोग लगाउने अविश्वासको प्रस्ताव दर्ता गर्ने षड्यन्त्रमा प्रचण्ड-नेपाल पक्ष लागेको बताए।
'पार्टीभित्रै सरकारविरूद्ध षड्यन्त्र भएपछि देश अस्थिरतातिर जान्छ। त्यतिखेर जिम्मेवार नेतृत्वले जे गर्नुपर्ने थियो प्रधानमन्त्रीले त्यही विकल्प अपनाएर संसद विघटन गर्नुभयो,’ उनले भने।
मन्त्री भट्टले अझै पनि प्रचण्डलाई अध्यक्ष भनेर सम्बोधन गर्ने बताए।
प्रचण्ड-नेपाल पक्षले पार्टीबाट निष्कासन गरेपछि आफ्नो पक्षबाट कसैलाई ननिकालेको भन्दै अध्यक्ष मान्ने बताए।
गत बिहीबार प्रचण्ड-नेपाल पक्षले आमहड्ताल गर्दा आफ्ना कार्यकर्ताले एमसिसी नचाहिने नाराबाजी गरेका थिए। प्रचण्डले त्यसबेला रोक्नु भन्दा पनि जनतालाई प्रस्ट पार्नुपर्ने बताए।
'अमेरिकी राजदूतसँग के कुरा गर्नु भएको छ त्यो प्रष्ट भन्न सक्नुपर्छ। एमसिसी चाहिँदैन भन्नासाथ किन आत्तिनुभयो। एमसिसी चाहिँदैन भनेर किन नारा लाउन सक्नुभएन ?,'उनले प्रश्न गरे।
त्यस्तै, संसद विघटनको अघिल्लो दिन पुस ४ गते पनि प्रधानमन्त्रीले मिलेर जान प्रस्ताव गरेको उनले बताए।
'पुस ५ गते ११ बजेसम्म केही नगर्नुस है भनेर फोन गर्ने, उता अविश्वासको प्रस्ताव दर्ता गर्न पठाए। विशेष अधिवेशनका लागि दुई जनालाई शितल निवास पठाएपछि प्रधानमन्त्रीले ताल बुझेर संसद विघटन गरेका हुन्,’ उनले भने।
अब संसद विघटनको कानुनी विषयको व्याख्या सर्वोच्चले गर्ने उनले बताए।
प्रचण्डलेसँगै लडेको मान्छेले कुरै नबुझेर आफूलाई छोडेको भन्ने विषयमा पनि जवाफ दिएका छन्। कुरा नबुझाएपछि बुझ्ने कुरा नभएको बताए।