आफ्नै पार्टीका बहुमत सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि दलभित्र अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई संसदमा पनि एक्लिँदै गएका छन्।
काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री राईलाई समर्थन गरिदिन काँग्रेस सभापति शेरबहादुर देउवालाई अनुनय गरिरहेका छन्।
तर, प्रदेशमा भने मुख्यमन्त्री आफै काँग्रेसलाई चिढ्याउन लागेका छन्।
प्रदेशसभाको तीन वर्षे कार्यकालमा विरलै मात्रै सरकारको आलोचनामा उत्रेको जनता समाजवादी पार्टी पनि यतिबेला मुख्यमन्त्री राईविरुद्ध आक्रामक बनेको छ। संसदका मुख्य दुईटा विपक्षी दललाई चिढ्याउने मुख्यमन्त्रीको व्यवहारले उनलाई एक्ल्याउँदै लगेको हो।
काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की मुख्यमन्त्री र सरकार संसदमा एक्लिएको मात्रै नभई नांगिएको आरोप लगाउँछन्। ‘उहाँ प्रदेशको मुख्यमन्त्री हो कि संघीय सरकारको कर्मचारी?,’ प्रमुख सचेतक केदार कार्कीले सेतोपाटीसँग भने, ‘यता सदन चल्न लागेपछि उहाँ काठमाडौं जानुहुन्छ। खेताला लगाएर सदन रोक्न लगाउनुहुन्छ। यस्तो मुख्यमन्त्री एक्लिनु अस्वाभाविक होइन।’
प्रमुख सचेतक कार्की मुख्यमन्त्री राईका सदाबहार आलोचक हुन्। अविश्वास प्रस्ताव दर्ता भएपछि उनले केन्द्रको निर्णय कुर्ने बताइरहेका थिए।
त्यही क्रममा उनले प्रेस विज्ञप्ति जारी गर्दै विपक्षी दल सधैं अविश्वास प्रस्तावको पक्षमा उभिने बताए। मुख्यमन्त्री शेरधन राईले त्यो विज्ञप्ति ‘काँग्रेस प्रमुख सचेतकले नभई अरुले नै निकालेको’ भनिदिए।
जनतासँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्रीले भनेका थिए, ‘त्यो विज्ञप्ति अर्कै प्रयोजनका लागि निकालेको हो। प्रमुख सचेतकको होइन।’
मुख्यमन्त्रीले यसो भनेपछि प्रमुख सचेतक कार्की झनै आक्रामक भए। उनले सार्वजनिक रुपमै मुख्यमन्त्रीलाई चुनौती दिए, ‘विज्ञप्ति लेख्ने कला सिक्न मुख्यमन्त्री मकहाँ ट्युसन पढ्न आए हुन्छ।’
डा. शेखर कोइरालाका विश्वास पात्र कार्कीलाई चिढ्याइरहेका मुख्यमन्त्रीले आइतबार संसदीय दलका नेता राजीब कोइरालालाई पनि बिच्क्याए।
२१ जना सदस्यसहित प्रदेशसभामा मुख्य विपक्षीको भूमिकामा रहेको काँग्रेस संसदीय दलका नेता कोइराला हम्मेसी कडा बोल्दैनन्। समन्वयकारी छविका उनी सरकारविरुद्ध कडा कुरा गर्नुपरे प्रमुख सचेतक कार्कीतिर औंल्याउँछन्।
प्रदेशसभा एकपक्षीय रुपमा स्थगन गरेपछि नेता कोइराला मुख्यमन्त्री र सरकारसँग आक्रामक बनेर पेश भए। मुख्यमन्त्रीका तर्फबाट आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले नेकपाको अर्को समूह र काँग्रेससँग छलफल गरिरहेको थियो। त्यही छलफलले सदन अघि बढाउने र अविश्वास प्रस्ताव टेबल गर्ने सहमति भएको थियो। नेता कोइराला त्यही जानकारी पाएर सदन प्रवेश गरेका थिए। तर, एक्कासी सत्तापक्षले अवरोध गर्यो, सभामुख प्रदीपकुमार भण्डारीले बैठक १४ दिन लामो स्थगनको घोषणा गरे। नेता कोइराला सरकार र सभामुखले धोका दिएको निष्कर्षमा पुगे। र, भने, ‘यो सभामुख र सरकारको सेटिङमा भएको आपत्तिजनक कदम हो।’
लगत्तै नेकपाको प्रचण्ड नेपाल समूह, काँग्रेस र जसपाले सभामुखलाई भेटेर आपत्ति जनाएका थिए। त्यहाँ पनि नेता कोइरालाले सभामुखलाई सेटिङमा लागेको भन्दै थर्काएका थिए। त्यसपछि उनले आफ्नो दलका सांसदहरूसँग भनेका थिए, ‘केन्द्रमा पार्टी सभापतिलाई प्रधानमन्त्रीले फकाउने, यहाँ चाहिँ मुख्यमन्त्रीले पेल्ने गर्न थाले। यो एक हातले सुम्सुम्याएर अर्को हातले थप्पड हाने जस्तो भयो। अब मुख्यमन्त्री र सरकारी दादागिरी सहनु्हुन्न।’
मुख्य विपक्षी काँग्रेसको समर्थन जुटाएर आफू नेतृत्वको सरकार पूरा अवधि टिकाउने दाबी गर्दै आएका मुख्यमन्त्री राईका लागि काँग्रेसभित्र विकसित आक्रोश प्रत्युत्पादक हुनसक्छ।
आफ्नै दलभित्रको बहुमत गुमाएको र मुख्य विपक्षी चिढिँदै गएका बेला संसद्मा तीन सदस्यसहित उपस्थित जनता समाजवादी दलका नेता जयराम यादव पनि सरकारले सबैलाई धोका दिएको ठहरमा पुगेका छन्।
‘सहमति विपरीत सरकार र सभामुखले संसद ठप्प पार्नु आपत्तिजनक छ,’ यादवले भने, ‘यो एकदमै गलत कामको थालनी भएको छ। यसले सरकारलाई राम्रो गर्ने छैन।’ अरुबेला नरम भाषामा सरकारको विरोध गर्ने उनले यसअघि नै अविश्वासको प्रस्तावका पक्षमा उभिने बताइसकेका छन्।