काठमाडौंका सडकमा हिजोआज राजनीतिक शक्ति प्रदर्शनको होड छ। सत्तापक्षले दरबारमार्गमा आफ्नो शक्ति प्रदर्शन गरेको केही दिनमै सत्तारूढ दलबाटै फुटेर प्रतिपक्षी कित्तामा पुगेको समूहले रत्नपार्कमा आफ्नो शक्ति देखायो।
केही महिनाअघिसम्म सत्तामा सँगसँगै रहेका यी दुवै समूहको आपसी होड र दन्तबजानबाट आमनागरिकमा भने आशाभन्दा असन्तुष्टि नै बढ्ता सुनिन्छ।
यसैबीच शुक्रबार राजधानीका तिनै सडकले एउटा बेग्लै शक्ति प्रदर्शनको अनुभूति गर्यो, जहाँ वर्षौंदेखि राज्यशक्तिले किनारा पारेका महिलाहरूको बाहुल्य थियो। त्यसमा पनि युवा महिलाको बाक्लो उपस्थितिले यो नागरिक आन्दोलनलाई नयाँ पुस्ताको शक्ति प्रदर्शनको रूप दियो।
भद्रकाली पिपलबोटमुनि जम्मा भएका महिलाहरूको उक्त समूहले राज्यसत्ता सञ्चालनको केन्द्र सिंहदरबारतिर औंला तेर्स्याउँदै जोडदार ढंगले भने- खबरदार, यो पितृसत्तात्मक राज्यसत्ता अब हामीलाई मञ्जुर छैन। निरंकुश शासन व्यवस्था अब हामीलाई मञ्जुर छैन। महिला भएकै कारण विभेदको शिकार हुनुपर्ने अवस्था अब हामीलाई मञ्जुर छैन। कुनै हालतमा मञ्जुर छैन।
वसन्तपुरबाट सुरू मार्चपासमा कालो कपडा लगाएका महिलाहरू ठूलो संख्यामा सहभागी थिए। उनीहरूले महिला हिंसा र विभेदको प्रतीकका रूपमा महिलाको शव अघि लगाएर आफू मलामीका रूपमा पछि पछि हिँडेका थिए। वसन्तपुरबाट न्यूरोड, रत्नपार्क हुँदै भद्रकालीमा पुगेपछि महिला मार्चपास सभामा परिणत भयो। त्यहीँ उनीहरूले महिला हिंसा र विभेदविरूद्ध भाषण गरे, कविता वाचन गरे, नाटक देखाए।
कवि प्रनिका कोयूले साहित्यकार पारिजातको कविता ‘मानुषी’ सामूहिक रूपमा बाचन गराइन्:
तिमी जति गर्न सक्छौ, त्यति म पनि गर्न सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु, पसिना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरू, मेरा पनि अनुभूति
तर इतिहासले आज कहाँ ल्याएर पछार्यो कुन्नी मलाई?
तिमी त मभन्दा कोशौं अघि गइसकेछौ...
कविताको प्रति सबै सहभागीलाई वसन्तपुरमै बाँडिएकाले उपस्थित हुनेहरूले त्यसैलाई हेर्दै कोयूको बोली पछ्याएका थिए।
महिला हिंसाविरूद्ध निरन्तर आवाज उठाइरहने अधिकारकर्मी हिमा बिष्टले शुक्रबारको पत्रिकामा छापिएको तथ्यांक उद्धृत गर्दै भनिन्, ‘डेढ वर्षमा ५ हजार ७ सय ३५ जनाको बलात्कार र हत्या भएको रहेछ। त्यो त लेखिएको अंक मात्र हो। बाहिर नआएका कयौं घटना छन्। हरेक दिन ६ देखि ७ जनाको बलात्कार र हत्या हुन्छ। निर्मला पन्तको हत्यादेखि भागरथीको बलात्कार र हत्यासम्म हामीले न्याय पाएका छैनौं।’
अंक जति बढ्दै गए पनि, जति नै कराए पनि बालुवाटार र सिंहदरबारलाई कुनै फरक नपरेको र कुनै फरक नपर्ने उनले बताइन्। भनिन्, ‘फरक त तपाईं-हामीलाई मात्र पर्छ। किनभने निर्मला पनि हामी नै हौं, सम्झना पनि हामी नै हौं र भागरथी पनि हामी नै हौं। यहाँ पटक-पटक हाम्रो बलात्कार हुन्छ तर सुन्ने कोही हुँदैन।’
उनले अगाडि भनिन्, ‘चुनाव भोलि, पर्सि वा जहिले होला, सत्तामा जान हाम्रै भोट चाहिन्छ। तर, मेरो शब्द याद गर्नुस्, माई भजाइना विल भोट यू आउट।’
'बृहत् नागरिक आन्दोलन यही हो। यो नागरिक आन्दोलनले के भन्छ भने, हामीलाई निरंकुश शासन चाहिएको छैन। जब सत्तामा पुग्छ, उसले सबै कुरा बिर्सन्छ। उसले आफूले भोगेको कुरा बिर्सन्छ। अब गाउँ-गाउँबाट आउनुपर्यो, प्रदेश-प्रदेशबाट आउनुपर्यो, घर-घरबाट आउनुपर्यो। तपाईंहरू आउनुपर्यो। म त अधवैंशे भइसकेँ, दिनका दिन आउँला म त सडकमा। तर अब किशोरीहरू आउनुपर्यो। तपाईंहरू नै सडकमा आउने हो। आफ्नो हकका लागि लड्ने हो। अब हाम्रो आवाज सिंहदरबारले सुन्ने हो, बालुवाटार र पेरिस हो कि के-के डाँडाले सुन्ने हो,' उनले भनिन्।
चालीस वर्षमुनिका महिलालाई पहिलोपटक विदेश भ्रमणमा जान परिवारको मञ्जुरी र वडाको सिफारिस चाहिने प्रस्तावित नियमप्रति आक्रोश व्यक्त गर्दै उनले भनिन्, 'हिजो भर्खरै ४० वर्षमुनिका महिलालाई विदेश जान वडाको सिफारिस चाहिने कुरा आएको थियो। भोलि गएर बच्चा जन्माउन पनि त्यही वडाको सिफारिस चाहिने होला होइन?'
विष्टले केही दिनयता काठमाडौंमा जारी राजनीतिक शक्ति प्रदर्शनप्रति व्यंग्य पनि कसिन्, 'एक दिन नारायणहिटीको अगाडि शक्ति प्रदर्शन गरिन्छ। अर्को दिन अर्को कुनै शालिकको अगाडि शक्ति प्रदर्शन गरिन्छ। बूढाबूढी भएपछि रिटायर्ड लाइफ बस्ने हो, तर होइन। पितृसत्तात्मक सोचका नेताहरू खोक्दै खोक्दै आफ्नो शक्ति देखाउने भन्छन्। के देखाउने हो? देखाउँछौं त अब हामी, तपाईंहरूले देखाउने हो अब।'
कार्यक्रममा युवा कवि सपना सञ्जिवनीले पितृसत्ताप्रति आक्रोश पोख्दै मैथिली भाषामा कविता सुनाएकी थिइन्। उनले आफ्नो कविता सुरू गर्नुअघि त्यसको भावानुवाद गरेकी थिइन्।
‘हिन्दु बाह्मणवाद, पितृसत्ताले महिलाहरूलाई सदिऔंदेखि सीताजस्तै सहनशील, सरस्वतीजस्तै ज्ञानी र गान्धारीजस्तै आँखामा पट्टि बाँधेर अन्धो हुन सिकाएको छ, तर यो कविताले म त्यस्तो बन्दिनँ भन्छ,’ उनले भनिन्, ‘अब म पुरुषवादी कलमले लेखेको महिलाको इतिहास नकार्छु भन्छ। तिमी गोली हान वा जेसुकै गर, मेरो रगतले अब इन्कलाब अर्थात् क्रान्ति लेख्छु भन्छ।’
लेखक एवं अभियन्ता अर्चना थापाले यही कविता उद्धृत गर्दै भनिन्, ‘राम मन्दिर बन्ला, तर सीता पहिलेजस्ती हुँदिनन्। सत्तामा बस्ने मान्छेले महिलालाई ढोकाभित्र राख्ने र सीता बनाउने षड्यन्त्र नगरून्, किनकि सीता अब पहिलाजस्ती हुने छैनन्।’
महिलाका कुरा राज्यलाई ‘ट्याउँट्याउँ’ मात्र लागे पनि 'ट्याउँट्याउँ गर्ने क्रम नरोकिने' उनले बताइन्। गृहमन्त्रीले सभ्य समाजमा पनि बलात्कार हुन्छ भन्नेजस्ता अभिव्यक्ति दिँदा समाजमा बलात्कार अझै बढ्ने उनको भनाइ थियो।
‘सत्तामा बसेका प्रजातन्त्रका पहरेदारले बोल्ने भाषा नै महिलाप्रति विभेदपूर्ण हुन्छ भने त्यसले बलात्कारलाई झनै प्रवर्द्धन गर्छ,’ उनले भनिन्।
महिला राष्ट्रपति पाएपछि महिलालाई हेर्ने दृष्टि फरक होला भन्ने सोचे पनि त्यसो नभएकोमा उनले दुखेसो पोखिन्। सरकारबाट मात्र नभई समाजले पनि महिलालाई हेर्ने, बोल्ने र देखाउने दृष्टिकोणमा फरक ल्याउनुपर्ने उनले बताइन्।
‘हिंसालाई प्रवर्द्धन गर्ने दृश्य र शब्दहरू परिवर्तन नभएसम्म बलात्कार बन्द हुँदैन। जति राज्य व्यवस्था उत्तरदायी हुन्छ, हामी पनि उत्तिकै जिम्मेवार बन्छौं। जबसम्म महिलालाई हामीले कमजोर देखाइरहन्छौं, तबसम्म हिंसाको क्रम रोकिने छैन,’ थापाले भनिन्।
अर्की वक्ता रजनी मिलाले ‘जसलाई भुइँबाट सत्तामा पुर्याइयो, उनीहरूले नै संविधानलाई कू गरेर जनतालाई भेडा बनाउन खोजेको' बताइन्।
कार्यक्रममा शिल्पी नाटकघरले नाटक प्रदर्शन गरेको थियो। विभिन्न उमेर समूहका लुगाहरू भुइँभरि राखिएका थिए, जसले बलात्कृत समूहलाई संकेत गर्थे। उनीहरू यो नाटकबाट भन्न चाहन्थे, ‘यो सडकको आवाज सुन।’
कार्यक्रममा हालै प्रकाशित कल्पना चिलुवालको कविता संग्रह 'चुल्ठो' को कविता ‘सरकार’ पनि बाचन भयो। सहभागी महिलाहरूले नौमती बाजा पनि बजाएका थिए।
तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी