कर्णाली प्रदेश सरकारले तीन वर्षको अवधिमा गरेको आफ्नो उपलब्धि सार्वजनिक गरेको छ।
सोमबार तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारले तीन वर्षको अवधिमा भए/गरेका उपलब्धिबारे संक्षिप्त विवरण उपलब्ध गराएको हो।
प्रदेश सरकारले उपलब्ध गराएको विवरण अनुसार यो तीन वर्षको अवधिमा सडक पूर्वाधारतर्फ ८८७.८७ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ।
१६७ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ८ किलोमिटर सडक कालेपत्रे गरिएको छ।
यसैगरी पाँचवटा सडक पुल र १२ वटा झोलुंगे पुल निर्माण पनि यो तीन वर्षको अवधिमा कर्णाली प्रदेश सरकारको उपलब्धिभित्र परेका छन्।
यस्तै जनता आवास कार्यक्रममार्फत् १ हजार ३३५ वटा आवास निर्माण गरिएको छ। ती आवास बाढीपीडित, आगलागी पीडित लगायतका विभिन्न प्राकृतिक विपत्तिबाट पीडित भएकाहरूका लागि हुन्।
तीन वर्षमा कर्णाली प्रदेशभरका ४२ हजार ४५४ जनसंख्या लाभान्वित हुनेगरी खानेपानीको आधारभूत सुविधा पुर्याइएको दाबी प्रदेश सरकारले गरेको छ।
यस्तै ४ हजार २०० हेक्टर जमिनमा बाह्रै महिना पुग्नेगगरी सिँचाइ सुविधा उपलब्ध गराइएको छ।
कर्णालीबासीको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न र स्तर कायम गर्नका लागि कर्णाली प्रदेश अस्पताललाई ३०० शय्या र जिल्ला अस्पतालहरूलाई ५० शय्यामा विकास गर्नेगरी पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गरिएको प्रदेश सरकारले जनाएको छ।
‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका ६ हजार ५०० छोरीहरूको बैंक खाता यो तीन वर्षको अवधिमा खोलिएको छ। यस कार्यक्रमअन्तर्गत २०७६ साउन १ गते यता जन्मिएको छोरीहरूको स्थानीय तहमा रहेका बैंकहरूमा खाता खोलिन्छ।
उक्त खातामा सरकारले मासिक ५०० रुपैयाँ रकम जम्मा गर्छ। २० वर्ष पुगेपछि उनीहरूले ब्याजसहित उक्त रकम निकाल्न पाउँछन्।
यस्तै, छोरीबुहारी, दलित जेहेनदार, द्वन्द्वपीडित तथा सहिद परिवारका लागि उच्च प्राविधिक शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम पनि कर्णाली प्रदेश सरकारको तीन वर्षे उपलब्धिमा समावेश गरिएको छ।
कृषितर्फ १० वटै जिल्लामा एक/एक स्थानीय तहमा सहकारी नमूना गाउँ स्थापना, ४४८.१५ किलोमिटर नयाँ कृषि सडक निर्माण, ५१.३७ किलोमिटर कृषि सडक मर्मतलगायत उपलब्धि भएको प्रदेश सरकारले उल्लेख गरेको छ।
यस्तै, कर्णालीका विभिन्न जिल्लाबाट वार्षिक १२ करोड रुपैयाँ बराबरको दूध निर्यात पनि गर्न थालिएको छ।
कृषि कर्जामा ब्याज अनुदान दिने व्यवस्था गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत हालसम्म ३२ जना कृषकले कुल ५ करोड ५० लाख रुपैयाँ कर्जा पाएका छन्।
२०७४ फागुन ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको नेतृत्वमा गठन भएको कर्णाली प्रदेश सरकारको कार्यकाल सोमबार ३ वर्ष पुगेको छ।