कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भएको नागरिक आन्दोलनमा प्रदर्शन गर्न लगिएको नाटकको बुख्याचा प्रहरीले खोसेर लगेपछि आन्दोलन कार्यक्रम मूलसडकमै भएको थियो।
शैक्षिक प्रतिगमनविरूद्ध सोमबार कीर्तिपुरको नयाँबजारमा विद्यार्थी एवं अभियन्ता भेला भएका थिए। त्यहाँबाट विश्वविद्यालयतर्फ नारा लगाउँदै उनीहरू हिँडे– शैक्षिक प्रतिगमन, मुर्दावाद। शिक्षामा निजीकरण बन्द गर। विश्वविद्यालयमा दलीयकरण बन्द गर!
जसै उनीहरू विश्वविद्यालयतर्फ बढ्दै गए, प्रहरीले 'पुतला' जलाउन लागेको भन्दै नाटकका लागि ल्याएको बुख्याचा कब्जा गरे। त्यसपछि प्रहरी र आन्दोलनमा सहभागीको भनाभन भयो। प्रहरीले सामग्री फिर्ता नगरेपछि उनीहरू बीच सडकमै बसे र 'कला साहित्यको सम्मान गर, सामग्री फिर्ता गर' भन्दै नारा लगाउन थाले।
केही समयको नाराबाजीपछि प्रहरीले सामान फिर्ता गर्यो। अनि त्यही सडकमा बसेर नाटकसँगै मनतव्य, गीत एवं कविता सुनाए।
शिल्पी नाटकघरले शैक्षिक प्रतिगमनविरूद्ध नाटक गरेको थियो। नाटकको मुख्य आशय थियोः शिक्षालयहरूले विद्यार्थीको क्षमाता वृद्धि गर्नुभन्दा 'मार्कसिट' देखाएर अभिभावक फकाइरहेका छन्। र प्रतिगमनको दलदलमा फसेको त्यस्ता शिक्षालयले केवल बुख्याचा उत्पादन गर्छन्।
नाटक निर्देशक घिमिरे युवराजले आजको प्रहरी दमनबारे बोल्दै सेतोपाटीसँग भने, 'सत्तामा बसेका निरंकुश शासकहरू प्रायःजसो कला–साहित्यसँग डराउँछन्। मैले पटकपटक त्यो अनुभव गरेको छु। निर्मला पन्तका लागि न्याय भन्ने कार्यक्रममा माघ ४ गते पनि, कलाकार साथीहरूलाई प्रहरीले रोकेका थिए। आज पनि नाटकमा प्रयोग हुन लागेको बुख्याचा खोसेर लगे।'
बुख्याचा लगायत कला सामग्री प्रतीकात्मक हुन्छन्। त्यसले शासन सत्तालाई नै हल्लाउँछ भन्ने लागेरै उनीहरू डराएको हुनुपर्ने घिमिरे बताउँछन्।
'सत्तामा बसेका शासकहरूले पटकपटक शैक्षिक, बौद्धिक मानिसको आलोचना गरेको हामीले सुन्ने गरेका छौं। आज पनि निकृष्ट तरिकाले नाटकमा प्रयोग हुन लागेको सामान खोसे। त्यो अत्यन्तै निन्दनीय छ,' उनले भने, 'यो भनेको नागरिकले बोल्न पाउने, कलाकारले आफ्नो प्रस्तुति दिन पाउने अधिकारमाथि हस्तक्षेप हो। लोकतान्त्रिक समाजमा यो शोभनीय छैन। त्यसैले हामी सधैं बोलिरहने छौं।'
आजको कार्यक्रममा वक्ताहरू प्रायः विद्यार्थी थिए। बालुवाटारको प्रहरी दमनमा परेर पाँच दिनसम्म अस्पतालमा भर्ना भएका निर्ग नविनले भने, 'हामीलाई मृत्युले होइन प्रतिगमनले डराएको छ। जनतामाथिको प्रतिरोधले डराएको छ। हाम्रो भविष्यमाथिको प्रतिगमनको किल्ला तोडेर हामी सत्तामा रहेका मान्छेलाई खबरदारी गर्न पटकपटक सडकमा आउनुपरेको छ।'
उनले शिक्षामा भएको प्रतिगमनबारे पनि बोले, 'विश्वविद्यालयमा कहिले राजाले आफ्नो मन्डले भर्ती गराएर मन्डले केन्द्र बनाए। कहिले दलका कार्यकर्ता ल्याएर पदाधिकारी बनाइयो। मन्डलेले दरबारको सेवा गर्यो भने पार्टी कार्यकर्ताले पार्टीको। जनताको प्राज्ञिक मान्छे विश्वविद्यालय नछिरेकाले प्रतिगमन अन्त्य गर्नुपर्छ।'
जसरी नागरिक आन्दोलन विश्वविद्यालयको आँगनमा पुगेको छ, त्यसरी नै किसानको खेत, मजदुरको घरमा पुग्ने उनले बताए। भने, 'बृहत् नागरिक आन्दोलनले सबै प्रतिगमनमा प्रहार गर्नेछ।'
अर्की विद्यार्थी एलिजा ढकालले अहिलेको शिक्षा प्रणालीले पढे-लेखेका बुख्याचा मात्र उत्पादन गर्ने बताइन्। जसरी देशको समृद्धिको मार्ग र भविष्य अन्धकार छ, विद्यार्थीको भविष्य पनि त्यति उज्यालो नभएको बताउँदै उनले भनिन्, 'हाम्रो देशको शिक्षा पद्धतिले के उत्पादन गर्छ? पढे-लेखेका बुख्याचाभन्दा केही उत्पादन गर्दैन। हातमा मास्टरको सर्टिफिकेट बोकेर उभिएका बेरोजगार मात्र उत्पादन गर्छ। जो सिरानीमा सर्टिफिकेट थन्क्याएर विदेशमा काम गर्न बाध्य छन्।'
उनले अगाडि भनिन्, 'म जस्ता डबल डिग्री बोकेका बेरोजगार मात्र उत्पादन गरेको विश्वविद्यालयले धेरैको भविष्यमा खेलवाड गरेको छ। हाम्रो विश्वविद्यालयको कक्षाकोठादेखि लाइब्रेरी, प्रयोगशाला हुँदै शौचालयसम्म पुग्दा, यो कुनै कारखाना जस्तो लाग्छ। सबै अस्तव्यस्त छ।'
औपचारिक शिक्षामा पछि मात्र कदम चालेको भए पनि हाम्रो समाज सीपमूलक गतिविधिमा पहिल्यै अगाडि थियो। लुगा सिलाउने, माटोका भाँडा बनाउने, जुत्ता सिलाउने लगायत काम विभाजन भएको थियो तर उनीहरूलाई जातका आधारमा वर्गीकरण गर्न थालियो।
यसलाई शिक्षासँग जोड्दै ढकालले भनिन्, 'हाम्रो समाज राम्ररी चलिरहेको थियो। तर उहाँहरूलाई अछुत बनाइयो। समाजका डिजाइनर, आविष्कारकलाई अछुत भनियो। त्यो दिनदेखि हाम्रो देशको शिक्षामा प्रतिगमन सुरू भयो। हामी घोकाएर बुख्याचा उत्पादन गर्ने शिक्षाविरूद्ध बोलिरहेका छौं।'
कार्यक्रममा दलित समुदायको पक्षमा नेतृत्व गर्दै जगत विकले भने, 'संविधानको धारा ४० मा उच्च शिक्षासम्म दलितलाई छात्रवृत्ति व्यवस्था गरिन्छ भनिएको छ। तर कार्यान्वयन भइरहेको छैन। मजस्ता धेरै दलितलाई विश्वविद्यालयको महँगो शुल्क तिरेर पढ्न गाह्रो छ।'
कार्यक्रममा सरोज यादव, हिरा सुनार, विजयकान्त कर्ण लगायत अन्य वक्ताले पनि बोलेका थिए। अन्जान बाबु र प्रदीप देवानले गीत गाए भने कवि विनोदविक्रम केसी र विद्यार्थीले कविता सुनाएका थिए।
२५ वर्ष त्रिभुवन विश्वविद्यालयमै पढाएका लेखक सञ्जीव उप्रेती अहिले अवकाशप्राप्त जीवन बिताइरहेका छन्। यसरी शैक्षिक प्रतिगमनविरूद्ध उभिनुपर्दा आफूलाई नराम्रो लागेको उनले बताए।
'विभिन्न राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा जस्तै शिक्षा पनि बृहत समाजकै अंग भएकाले प्रतिगमन नहुने कुरै भएन। शिक्षाका जुनसुकै ठाउँमा पार्टीका मान्छे आएका हुन्छन्। यो शिक्षक कुन पार्टीको, यो विद्यार्थी कुन पार्टीको भन्ने कुरा आइहाल्छ,' उप्रेतीले भने।
उनले विश्वविद्यालय विचारको थलो, पुराना विचारलाई चुनौती दिने ठाउँ र सामाजिक न्यायका कुरामा बारम्बार आफैंलाई सचेत गराउने ठाउँ भए पनि त्यसो नभइरहेको बताए।
बुख्याचाको विषयलाई लिएर भएको प्रहरी दमनबारे भने, 'हामी शान्तिपूर्ण ढंगले कार्यक्रम गर्न आएका थियौं। नाटककर्मी, कलाकार, कवि, लेखकजस्ता सिर्जनशील मान्छेसँग पनि डराएर उनीहरूले सामान कब्जा गरे। हामी कस्तो लोकतन्त्रमा बाचिरहेका छौं भन्ने सोचेरै दिक्क लागिरहेको छ।'