गण्डकी प्रदेश सरकार स्थापना भएको मंगलबार ३ वर्ष पूरा भएको छ।
प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउन मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ। प्रदेश सरकार स्थापना भएको तेस्रो वर्षसम्म प्रदेश सरकारले हासिल गरेको उपलब्धि भन्दै ५६ पृष्ठ लामो पुस्तिका प्रकाशन गरेको छ।
उक्त पुस्तिकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विदेश भ्रमणदेखि कूटनीतिक नियोगका प्रतिनिधीसँगको भेटघाटसमेत उपलब्धिमा समेटिएका छन्। गुरुङ मुख्यमन्त्री भएपछि अमेरिका, बेलायत, हङकङ र चीनको भ्रमण गरेका थिए। उपलब्धिका बुँदामा चीनको हाइनान प्रान्तसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख छ।
चीनकै युनान प्रान्तका गभर्नरसहितको प्रतिनिधिमण्डलको पोखरा भ्रमण, चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्षको नेतृत्वको प्रतिनिधि मण्डल पोखरा घुम्न आएको पनि प्रदेश सरकारले उपलब्धि मानेको छ।
उक्त प्रतिनिधिमण्डलसँग मुख्यमन्त्रीले भेटघाट गरेको, गण्डकी प्रदेशको पूर्वाधार विकासमा लगानी तथा पर्यटन प्रवर्द्धनलगायत द्वीपक्षीय हितका सम्बन्धमा छलफल गरेको उपलब्धिमा उल्लेख छ।
बङ्गलादेशका राष्ट्रपतिलगायत उच्च पदस्थ अधिकारीले पोखरा भ्रमण गरी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको भन्दै प्रदेश सरकारले उक्त भ्रमण पनि सरकारको उपलब्धि भएको जनाएको छ।
यस्तै, मुख्यमन्त्री गुरुङको नेतृत्वमा उच्च स्तरीय टोली अमेरिकाको भ्रमणमा गएको पनि प्रदेश सरकारले उपलब्धिमा समावेश गरेको छ। उक्त भ्रमणमा अमेरिकाको संघ, राज्य र नगर प्रहरीको संगठन संरचना, कार्यप्रणाली र कार्यक्षेत्र तथा उनीहरूबीच सहकार्य, सहयोग र समन्वयका सम्बन्धमा अध्ययन गरेको जनाएको छ।
प्रदेश सरकारको उपलब्धिमा भारत, चीन, जापान, अमेरिका, कोरिया, युरोपियन युनियन, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, इजरायललगायत देशका राजदूत तथा कूटनीतिज्ञसँग भेट गरेको उल्लेख छ। उनीहरूले गण्डकी प्रदेशको भ्रमण गरी द्वीपक्षीय हितका विषयमा मुख्यमन्त्रीसँग छलफल गरेको भन्दै प्रदेश सरकारले उपलब्धिमा उल्लेख गरिएको छ।
यस्तै, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व बैंक, एसियाली विकास बैंक, युरोपेली युनियनलगायत बहुपक्षीय विकास साझेदार संस्थाका प्रतिनिधि, जाइका, कोइका, डिएफआइडी, एसडिसी, युएसएआइडी लगायतका साझोदार प्रतिनिधिले प्रदेशको भ्रमण गरी मुख्यमन्त्रीसँग छलफल गरेको भन्दै यसलाई प्रदेशले उपलब्धि ठानेको छ।
गण्डकी प्रदेशको आयोजनामा भएको मुख्यमन्त्रीको भेला, मुख्यन्यायाधिवक्ताको भेला पनि प्रदेश सरकारको उपलब्धि भएको पुस्तिकामा उल्लेख छ।
गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न ‘ग्लोरिअस गण्डकी’लाई पर्यटकीय ब्राण्ड तयार गरी टेलिभिजन, एफएम, अनलाइन र छापा मिडियामार्फत प्रचार गरेको जनाएको छ। प्रदेशका सञ्चाचारकर्मीको क्षमता विकासका लागि विभिन्न कार्यक्रम गरेको समेत प्रदेशले आफ्नो उपलब्धिमा उल्लेख गरेको छ।
प्रदेश सरकार स्थापना भएपछि प्रदेश सभाबाट ४६ वटा कानुन र १० वटा नियमावली बनाएको पनि प्रदेश सरकारको उपलब्धिमा उल्लेख छ।
अनुमानका भरमा आर्थिक उपलब्धि
प्रदेश सरकारले कुल ग्राहस्थ उत्पादनमा वृद्धि गरेको अनुमानलाई पनि आफ्नो उपलब्धि भनेको छ। आर्थिक वर्ष २०७५/०७६ मा ३ खर्ब ८ अर्ब ९१ करोड कुल ग्राहस्थ उत्पादन रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा बढेर ३ खर्ब २६ अर्ब ८७ करोड पुगेको उपलब्धिमा अनुमान गरेको छ।
यस्तै, कोरोना भाइरसको महामारी आउनुअघि ६.६५ प्रतिशत प्रदेशको आर्थिक वृद्धिदर रहेकोमा कोरोना महामारी पश्चात २.२९ प्रतिशत वृद्धिमा खुम्चिएको जनाएको छ। प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक नहुनु प्रदेश सरकारको आर्थिक नीतिको सफलता देखिएको उपलब्धिमा जनाएको छ। निजी क्षेत्रले प्रदेशमा लगानी बढाएको पनि प्रदेशले आफ्नो उपलब्धि ठानेको छ। गण्डकीमा रेमिट्यान्स बढेर १ खर्ब ३७ अर्ब प्राप्त गरेको अनुमान गरिएको भन्दै त्यसलाई पनि प्रदेशले आर्थिक उपलब्धि भनेको छ।
प्रदेश सरकारले तीन वर्षमा प्रदेशभित्र कालोपत्रे र ढलान गरी १ सय ३७ किलोमिटर सडक बनाएको दाबी गरेको छ।
हेर्नुहोस् गण्डकी सरकारका ३ बर्षे उपलब्धीका पूर्णपाठ