सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलासँग असन्तुष्ट जिल्ला सरकारी वकिलको कार्यालयले त्यसविरूद्ध पुनरावेदन गर्ने तयारी गरेको छ।
आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष ठहर गर्दै अदालतले सफाइ दिएको थियो।
अपहरण गरी, शरीर बन्धक बनाएर जबरजस्ती गरेको नदेखिएको, अनुयायी महिलाले मोहित भएर शरीर समर्पित गरेको, सहमतिमै सम्बन्ध कायम गरेका कारण बलात्कार भन्न नमिल्ने जस्ता आधार कारण दिएर गरिएको फैसलाले पीडितलाई झनै पीडित बनाएको र पीडकलाई उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
यो फैसलामाथि सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्ने जनाएको हो।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधीवक्ता नारायण रिमालले यो फैसला उपर पुनरावेदन गर्ने सम्भावना बढी भएको बताएका छन्।
यद्यपी फैसलाको पूर्णपाठ कार्यालयमा आइनसकेको उनले बताए।
‘फैसला आएको कुरा मैले सञ्चारमाध्यममार्फत थाहा पाएको हुँ, म अहिले काठमाडौंमा छु,' उनले सेतोपाटीसँग फोनमा भने, ‘अब बुधबार कार्यालय पुगेर फैसला र मिसिल जुधाएर हेर्ने हो। त्यसपछि के गर्ने निर्णय हुन्छ। हामीले पुनरावेदन गर्ने निश्चित जस्तै छ।’
फैसलाको पूर्ण पाठ उपलब्ध भएपछि मात्रै त्यो निर्णयमा पुग्ने उनले बताए।
आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका बेला उनलाई गएको मंसिर २२ मा जिल्ला अदालतले सफाइ दिएको थियो।
एकतर्फी बहस गरेर उनलाई सफाइ दिइएको भन्दै सरकारी वकिलको कार्यालयले असन्तुष्टि जनाएको थियो।
माघ २९ मा न्यायाधीश अर्जुनप्रसाद कोइरालाले तयार पारेको फैसलाको पूर्णपाठमा सरकारी वकिलको कार्यालय झनै असन्तुष्ट रहेको कार्यालय स्रोतको भनाइ छ।
फैसला चित्त नबुझे पुनरावेदन गर्ने न्यायिक समाधानको बाटो आफूले समाउने कार्यालय स्रोतको भनाइ छ।
न्यायाधीश कोइरालाले माघ २९ मा प्रमाणीकरण गरेको फैसलाको पूर्णपाठमा सहमतिमा यौन सम्पर्क भएको उल्लेख छ।
‘लामो समयदेखि विभिन्न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई अशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनयअनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो,’ फैसलामा भनिएको छ।
डर, त्रास र अनुचित प्रभावमा पारेर आफूलाई सिद्धबाबाले बलात्कार गरेको भन्दै पिडित महिलाले जाहेरी दिएकी थिइन्।न्यायाधीश कोइरालाले भने अपहरण गरेर शरीर बन्दक पारी बेहोस पारेर बलात्कार गरेको नभनेको भन्दै सिद्धबाबालाई सफाइ दिइएको छ।
'जबरजस्ती करणी गरेको र प्रतिवादीको हैसियत र समाजमा रहेको प्रभावका कारण तत्काल घटना बाहिर ल्याउन नसकेको भन्ने आशयको जाहेरवालीको भनाइ रहेको देखिन्छ,' न्यायाधीश कोइरालाको फैसलामा भनिएको छ,'अपहरण गरी वा शरीर बन्धकमा लिई वा होस ठेगानमा नरहेको अवस्थामा पारी जबरजस्ती करणी गरेको भन्ने निजको भनाइ रहेको छैन।'
न्यायाधीश कोइरालाले सिद्धबाबाको धार्मिक कार्यमा विश्वास गरेर यो फैसला गरेको देखिन्छ।
'सिद्धबाबा भनिने प्रतिवादीले ठूलो आश्रम चलाई बसेको, निजका हजारौं अनुयायी रहेको भन्ने तथ्य मिसिलबाट उजागर भएको छ। साथै जाहेरवाली स्वयम् पनि प्रतिवादीले अघि सारेको धार्मिक मान्यताको भक्त वा अनुयायी भएको र निजहरूबीच एक धार्मिक गुरू र शिष्यको सम्बन्ध रहेको भन्ने देखिएको छ। जाहेरवाली र प्रतिवादीबीच आदानप्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्नेर देखिएकोले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन,’ न्यायाधीश कोइरालाले गरेको फैसलामा भनिएको छ।
सहमतिबाट भएको करणीलाई जबरजस्ती करणी मान्न नसकिने अदालतको ठहर छ।
सरकारी वकिलको कार्यालयले असन्तुष्ट बनेर पुनरावेदन गर्ने तयारीमा लाग्दै गर्दा महिला अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूले पनि फैसलाप्रति आश्चर्य प्रकट गरेका छन्।
अधिकारकर्मी मन्जिता उपाध्यायले सेतोपाटीसँग भनिन्,‘तर, यो फैसला मलाई अनौठो लागेको छ। साप पनि मर्ने, लठ्ठी पनि नभाँच्ने’ तवरबाट फैसला आएजस्तो देखिन्छ।’
पीडित महिलाले आफू बलात्कृत भएको भनिरहेको र गिरीले आफू स्त्रीबाट टाढै रहेको दाबी गरिरहेका बेला अदालतले ‘सहमतिमा सम्बन्ध भएको’ ठहर गर्नुलाई उपाध्यायले केही न केही घटना भएको देखिने बताइन्।
‘यसले पनि सिधै सफाइ दिन मिल्छ जस्तो देखिन्न,' उनले थपिन्।
राजनीतिक शक्ति केन्द्रसँग बलियो पहुँचमा रहेका कृष्णबहादुर गिरी सुनसरीको चतरामा धार्मिक धाम चलाएर बसेका व्यक्ति हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई धाममा ल्याइपुर्याएका थिए। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू समेत त्यहाँ गएर उनका प्रवचन सुनेर बस्थे।
धार्मिक यज्ञ गर्न मुख्यमन्त्री शेरधन राईले राज्यकोषको ५० लाख रुपैयाँ पनि दिएका थिए। त्यही पहुँचकै बलमा प्रहरी नियन्त्रणको लामो समय उनले बिरामी परेको भन्दै अस्पतालको बेडमा बिताएका थिए।