नेपाली कांग्रेसले बुधबार दिउँसो २ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक अपरान्ह ४:३० बजेसम्म सुरू भएको छैन।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफल गरिरहेका छन्।
पौडेलले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आफू निकटका केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएका थिए।
सभापति देउवा पक्षका केन्द्रीय सदस्य पनि पार्टी कार्यालयमै छलफल गरिरहेका छन्।
स्रोतका अनुसार सभापति देउवा र वरिष्ठ नेता पौडेलका आन्तरिक बैठक मुख्यगरी तीन विषयमा केन्द्रीत छ।
पहिलो, १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र सभापति देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नेबारे हो।
दोस्रो, प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकोले पुनर्स्थापना वा चुनाव भन्नेमा नेताहरूका बोली फरक-फरक आएकोले समान धारणा बनाएर जाने भन्ने छ।
तेस्रो, नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली र प्रचण्ड-नेपाल पक्षले भन्दा ठूलो सभा काठमाडौंलगायत सातै प्रदेशमा गर्नुपर्ने एजेन्डामा सभापति र वरिष्ठ नेता पौडेलले गरेका आन्तरिक छलफलमा कुरा उठेको छ।
वरिष्ठ नेता पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् भने सभापति देउवा पक्षले भदौमा महाधिवेशन गर्ने तयारी गरेको छ। बर्खाअघि नै महाधिवेशन गर्नुपर्ने अडान पौडेल पक्षको छ।
सभापति र वरिष्ठ नेताबीच सहमतिपछि आजै केन्द्रीय समिति बैठक बस्ने एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए। कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो।
यो मितिमा महाधिवेशन नहुने भएपछि अब महाधिवेशनको नयाँ मिति तोक्नुपर्ने अवस्थामा कांग्रेस छ। सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ। कांग्रेसले संविधानको व्यवस्थाअनुसार अब छ महिना म्याद थप गर्न पाउँछ।