बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो निजी सचिवालय हेरफेर गरेका छन्।
उनले हालका तीन जना सचिवालय सदस्यलाई हटाएर उनीहरूको ठाउँमा नयाँ सदस्य ल्याएका हुन् ।
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरफेर गरिएको हो।
मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिवमा कृष्ण प्रसाद आचार्य, स्वकीय सचिवमा रवीन्द्र बहादुर शाही र जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक नियुक्त भएका छन्।
विगत तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई सचिवालयबाट बिदाइ गरिएको छ।
पूर्व प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले अरू नेता तथा कार्यकर्तालाई पनि अवसर दिने सल्लाह अनुसार मुख्यमन्त्रीले सचिवालय हेरफेर गरेको बताए।
‘अरूलाई पनि अवसर दिनुपर्छ भन्ने भएर फेरबदल गरिएको हो,’ सिंहले भने, ‘हामी बिदाइ भएकाहरूले आफ्नो तर्फबाट पार्टीले कमिटीमा दिएको जिम्मेवारी सम्हाल्ने हो।’
प्रदेश सरकारको कानूनी सल्लाहकारको रूपमा रहेका मुख्य न्यायाधीवक्ता विद्याभूषण मानन्धरले तीन दिन अघिमात्र पदबाट राजीनामा दिएका थिए।
उनले आफू व्यक्तिगत रूपमा व्यस्त भएकाले राजीनामा दिएको बताएका छन्।