लेखक खगेन्द्र संग्रौलाले सही भनेका हुन्, टुँडिखेल मार्चमा आन्दोलनकारीभन्दा तिनलाई पहरा दिइरहेका प्रहरीको संख्या बढी थियो।
बृहत् नागरिक आन्दोलन क्रममा शुक्रबार रत्नपार्कबाट टुँडिखेल मार्च गरेर नागरिक घोषणापत्र जारी गर्ने कार्यक्रम थियो। रत्नपार्कमा भेला भएका नागरिक अभियन्ताको समूह जसै पुरानो बसपार्कतर्फ लाग्यो, सुरक्षाकर्मीहरू ठूलो संख्यामा सँगसँगै अघि बढे।
एउटा टोली आन्दोलनकारीलाई बाटो देखाउन आएझैं अगाडि-अगाडि हिँड्यो। अर्को टोली पछाडिबाट पछ्याउँदै आयो। देब्रेतिर पनि सुरक्षाकर्मीहरूको लश्कर थियो। यो लश्कर त्यति नै लामो थियो, जति आन्दोलनकारीको ताँती। जुलुसको पछाडि-पछाडि दुई ट्रक प्रहरी अलग्गै थिए।
भद्रकालीको आकाशेपुलबाट तल हेर्दा यो जुलुस यस्तो देखिन्थ्यो, मानौं कमिलाको फौजले वरिपरिबाट घेरेर आफ्नो आहारा गुँडतिर ओसार्दैछ।
सहिदगेट फन्का मारेर जुलुस टुँडिखेलको मूलढोकाबाट भित्र छिर्नुपर्ने थियो। सहभागीहरू 'टुँडिखेल जाऊँ, टुँडिखेल जाऊँ' भन्दै नारा लगाउँदै थिए। तर, जुलुस टुँडिखेल छिर्न पाएन। ढोकामा ताल्चा लागेको थियो। त्यही ताल्चा लागेको ढोका वरिपरि थप प्रहरीहरूको बाक्लो उपस्थिति थियो। टुँडिखेलभित्र पनि सेनाले पहरा दिइरहेका थिए। उनीहरूले टुँडिखेलमा नागरिकहरूको प्रवेश पूर्ण निषेध गरेका थिए।
शान्तिपूर्ण रूपमा अघि बढेका आन्दोलनकारीले टुँडिखेलमा पहरा दिइरहेका प्रहरी र सेनासँग गलफत्ती गरेन। बरू शान्तिपूर्ण रूपमै जुलुस अघि बढ्यो।
नेपाल वायुसेवा निगमको ठ्याक्कै अगाडि टुँडिखेलको अर्को ढोका छ। शुक्रबार त्यहाँ पनि ताल्चा मारिएको थियो। थुप्रै प्रहरी उभिएका थिए। भित्र उसैगरी सेनाको पहरा थियो।
जुलुसले यहाँ पनि सुरक्षाकर्मीहरूसँग जबर्जस्ती गरेन। त्यहाँबाट अगाडि बढ्यो र महांकाल मन्दिरको प्रांगणमा सभामा परिणत भयो।
सभा अवधिभरि सुरक्षाकर्मीले आन्दोलनकारीहरूलाई घेराबन्दीमा राखेका थिए। केही प्रहरी मन्दिरको छतबाट तलको गतिविधि नियाल्दै पहरा दिइरहेका थिए।
सभाको बीच-बीचमा आन्दोलनकारीहरूले 'हामी अरू जान्दैनौं, टुँडिखेल नगई मान्दैनौं', 'नागरिक के भन्छ? टुँडिखेल जाऊँ भन्छ', 'हाम्रो गौरव, हाम्रो पौरख, हाम्रो टुँडिखेल' भन्दै नारा लगाउँदै थिए।
सभा सञ्चालन गरिरहेकी मानवअधिकारकर्मी मोहना अन्सारीले सम्झाउँदै भनेकी थिइन्- 'साथीहरू हामी टुँडिखेल अवश्य जान्छौं। त्यो दिन अवश्य आउनेछ, जब नागरिकहरूलाई आफ्नै टुँडिखेलमा छिर्नबाट रोकिने छैन।'
२००७ फागुन ७ गते तत्कालीन राजा त्रिभुवनले टुँडिखेलबाट प्रजातन्त्र घोषणा गरेका थिए। सत्तरी वर्षपछि प्रजातन्त्र दिवसकै दिन नागरिकहरू टुँडिखेल छिर्नबाट वञ्चित भए।
टुँडिखेल मार्चअघि खुलामञ्चको कार्यक्रममा पनि सहभागीहरूलाई सुरूमा छिर्न दिइएको थिएन।
टुँडिखेललाई अतिक्रमणमुक्त गर्न माग राख्दै डेढ वर्षअघि सुरू ‘अकुपाई टुँडिखेल’ ले बिहान १० बजे खुलामञ्चमा फोटो प्रदर्शनी र सभा आयोजना गरेको थियो। त्यही बेला सैनिक मञ्चमा फागुन ७ को समारोह भइरहँदा अकुपाई टुँडिखेलका अभियन्तालाई गेटबाटै फिर्ता गरियो। सैनिक मञ्चको कार्यक्रममा राष्ट्रपतिकाे समेत उपस्थिति थियो।
खुलामञ्च छिर्न नपाएपछि 'अकुपाई टुँडिखेल' अभियन्ताहरूले बिहानको कार्यक्रम १२ बजेसम्म स्थगित गरे। सैनिक मञ्चको कार्यक्रम सकिएपछि बल्ल उनीहरूलाई खुलामञ्च छिर्न दिइयो।
काठमाडौं महानगरपालिकाले केही दिनअघि मात्र डोजर चलाएर सफा पारेको खुलामञ्चमा फोटो प्रदर्शनी र सभापछि अभियन्ताहरू रत्नपार्कबाट सुरू हुने टुँडिखेल मार्चमा मिसिन गएका थिए।
महांकाल मन्दिरको प्रांगणमा आयोजित सभामा वक्ता खगेन्द्र संग्रौलाले बाक्लो प्रहरी पहरालाई सकारात्मक रूपमा प्रस्तुत गर्दै भने, ‘नागरिक आन्दोलनमा नागरिकको टाउको गनेर शक्ति मापन हुँदैन। यहाँ तैनाथ प्रहरी भाइबहिनीका टाउका गनेर शक्ति नापिन्छ।’
उनले अगाडि भने, ‘आज यो सभामा जति नागरिकहरूको सहभागिता छ, त्योभन्दा बढी प्रहरी भाइबहिनीको सहभागिता छ। यसको अर्थ, तानाशाह जब डराउँछ, नागरिकका अगाडि आफूसँग भएका सबै शक्ति पठाउँछ। प्रहरी पठाउँछ, सेना पठाउँछ, ट्यांक पठाउँछ, तोप पठाउँछ। त्यसैले नागरिक आन्दोलन तपाईंहरू सबैको प्रयत्नबाट बलियो भइरहेको छ। यो हाम्रो जित हो।’
नागरिकहरूलाई टुँडिखेल पस्न नदिएकोमा उनले भने, ‘सेनाले नागरिक खेल्ने–डुल्ने टुँडिखेल कब्जा गरेको छ। आज हामीले भन्यौं, टुँडिखेल नागरिकको हो। टुँडिखेल नेपालीको हो। तर, हामीलाई टुँडिखेलमा पस्न दिइएन। यही बेला टुँडिखेलभरि कुकुरहरू स्वच्छन्द घुमिरहेका छन्। हामी नागरिकलाई यो राज्यले कुकुर जति पनि इज्जत दिएन।’
यसै सन्दर्भमा चितवनबाट आएकी लेखक सरिता तिवारीले भनिन्, ‘सोचेको थिएँ काठमाडौंको सडकमा आज टेक्ने ठाउँ हुने छैन, तर यहाँ नागरिकभन्दा सुरक्षाकर्मी बढी देखेँ। सुरक्षाकर्मीको टाउकोमा हेल्मेट र हातमा लाठी-बन्दुक छ। हामीसँग मुठी र आवाज मात्र। त्यही मुठी र आवाजले हामी सबै किसिमका प्रतिगमनलाई परास्त गर्नेछौं।’
अभियन्ता रिता साहले केही दिनअघि महिला मार्चमा भाषण गर्ने र कविता भन्ने स्रष्टा तथा अभियन्ताहरूलाई गालीगलौच र ज्यानकै धम्की आइरहेको भन्दै त्यसको भर्त्सना गरिन्।
‘महिलालाई एसिड हान्दा, बलात्कार हुँदा, भ्रुणहत्या र दाइजोका कारण जलाइँदा तपाईंहरू किन बोल्नुहुन्न? जब महिला अधिकारको कुरा हुन्छ, महिला हिंसा र मधेसी महिलाबारे आवाज उठ्छ, तब यहाँका शासनसत्ताको पहरेदारले प्रहार गर्छन्,’ उनले भने।
महिलाहरू वर्षौंदेखि पितृसत्ताको संरचनाबाट पीडित रहेको बताउँदै उनले भनिन्, ‘हामी यो पितृसत्ता भत्काउने छौं। हामी अब चुप लाग्ने छैनौं।’
सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरले आजबाट 'अकुपाई टुँडिखेल' को दोस्रो अभियान सुरू भएको घोषणा गर्दै भने, 'टुँडिखेल वरिपरि काठमाडौंका आदिवासी नेवारहरूको आस्थासँग जोडिएका विभिन्न अजिमा छन्। यस्तो पवित्र भूमिमा सेनाले परेड खेल्दा हाम्रा अजिमाहरूलाई सास्ती भइरहेको छ।'
उनले अगाडि भने, 'भक्तपुरले सेनाको कब्जामा रहेको रानीपोखरी लगायत सम्पदा जनताको स्वामित्वमा फिर्ता ल्याउँदा काठमाडौंले त्यसबाट सिक्नुपर्छ। यसको निम्ति सरकार र महानगरले पहल गर्नुपर्छ।’
खोकना बचाउ अभियन्ता नेपाल डंगोलले विकासका नाममा सम्पदा र पुराना बस्तीहरू मासिएको चर्चा गरे।
‘थेँचो, सुनाकोठीजस्ता हाम्रा पौराणिक बस्तीहरूमा ५० मिटर बाटोको अवधारणा आयो। राणाहरूले जसरी यहाँका आदिवासी नेवारहरूको जग्गा हडपेर भव्य दरबार बनाए, त्यसैगरी अहिले पनि विकासका नाममा अनेक मापदण्ड तोेकेर हाम्रो जग्गा हडप्ने काम भइरहेको छ,' उनले भने।
कार्यक्रममा वक्ताहरूले नेपालीसँगै नेपाल, मैथली, कुडुक लगायत भाषामा भाषण तथा कविता सुनाएका थिए। आफ्नो समुदायमाथि हुँदै आएका विभेददेखि आफूले पाउनुपर्ने अधिकारको मुद्दा उनीहरूले उठाएका थिए।
नेपाल चेपाङ संघका जितेन्द्र चेपाङले आफ्नो समुदाय राज्यबाट जहिल्यै अपहेलित भएको बताए।
‘हामीले सोचेका थियौं, जनआन्दोलनबाट ल्याएको संविधानले गरिबको झुपडीमा न्यानो घाम लाग्छ। तर, घाम लाग्नुको सट्टा माडीमा चेपाङको झुपडी सेनाले आगो लगाएर सखाप पारेको छ। उनीहरू आफ्नो छाक टार्न जंगले कन्दमुल खोज्न बाध्य छन्। त्यो कन्दमुल खोज्न जाँदा पनि कुटीकुटी हत्या गरिएको छ,’ उनले भने।
उनले अगाडि भने, ‘हामीले ठूलो कुरा मागेका होइनौं। हामीजस्ता पछाडि पारिएका नागरिकलाई स्वतन्त्र रूपमा बाँच्ने अधिकार देऊ र शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार देऊ मात्र भनेका हौं।’
आदिवासी अभियन्ता मोहन गोले तामाङले पनि आफूहरूलाई मत्वाली बनाएर सदियौंदेखि राज्यले दमन गरिरहेको बताए।
‘आजकै दिन टुँडिखेलको खरीको रूखबाट त्रिभुवनले भनेका थिए, अब हामी रैती रहेनौं। आज ७० वर्ष भइसक्दा पनि शासकले नेपाली जनतालाई रैतीको स्तरबाट माथि उठ्न दिएन। म त्यही पुर्खाको सन्तान हुँ, जसलाई खाजाको नाममा भिमफेदीदेखि गाडी बोकाइयो। जसलाई सरकारले उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक स्तर कहिले पनि माथि उठ्न दिएन,’ उनले भने।
सभाकै बीच दलित समुदायकै जेबी विश्वकर्माले नागरिक आन्दोलनको घोषणापत्र सुनाएका थिए।
कार्यक्रममा लेखक तथा अभियन्ता नारायण वाग्लेले काठमाडौं सम्पदा र टुँडिखेलको विराटताबारे चर्चा गर्दै भने, ‘खरीबोटलाई साक्षी राखेर नेपालमा पहिलोपल्ट प्रजातन्त्र घोषणा भएको आज ठिक ७० वर्ष भयो। खरीबोट मासियो, प्रजातन्त्र भासियो। न संस्कृतिसहितको प्रकृति रह्यो, न जनमतसहितको प्रजातन्त्र। न प्रकृति न प्रजातन्त्र।’
‘प्रजातन्त्रका नाममा सलामी चढ्न थाल्यो र हामी जनतालाई फेरि गराउन थाले गुलामी,' उनले भने, '७० वर्षपछि हामी यहाँ उभिएर आज भन्छौं– अब नो सलामी, नो गुलामी।’
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी
यी पनि हेर्नुहोस्: